close

भारतमा एलजीपी ग्यास अभावको त्रासले इन्डक्सन किन्नेको घुइँचो, के गर्दैछन् नेपाली उपभोक्ता ?

मध्यपूर्व तनाव

टेकपाना टेकपाना

फागुन ३०, २०८२ १७:४२

भारतमा एलजीपी ग्यास अभावको त्रासले इन्डक्सन किन्नेको घुइँचो, के गर्दैछन् नेपाली उपभोक्ता ?

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण खाना पकाउने ग्यास (एलपीजी) को अभाव हुन सक्ने डरले भारतीय उपभोक्ताहरू विद्युतीय इन्डक्सन चुल्हो किन्न हतारिएका छन् । उपभोक्ताको अत्यधिक मागका कारण अहिले भारतका अनलाइन र भौतिक पसलहरूमा इन्डक्सन चुल्होको स्टक सकिन थालेको विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विश्वको दोस्रो ठुलो एलपीजी आयातकर्ता भारतले घरायसी प्रयोजनका लागि ग्यास आपूर्ति बढाउन आपतकालीन अधिकारको प्रयोग गरेको छ । यद्यपि क्यान्टिन, होस्टेल, रेस्टुरेन्ट जस्ता व्यावसायिक प्रयोगकर्ताका लागि भने ग्यासको उपलब्धतामा कमी आएको छ ।

ग्यास रिफिल गर्न ढिलाइ हुने र मूल्य बढ्ने चिन्ताले उपभोक्ताले विकल्पका रूपमा विद्युतीय चुल्हो किनिरहेका छन् । रोयटर्सले बिहीबार गरेको सर्वेक्षण अनुसार अमेजन, वालमार्ट समर्थित फ्लिपकार्ट, ब्लिन्किट र जेप्टो जस्ता अनलाइन प्लेटफर्ममा धेरैजसो इन्डक्सन चुल्होका मोडेलहरू उपलब्ध थिएनन् । केही अफलाइन स्टोरले नयाँ स्टक आउन अझै केही दिन लाग्ने बताएका थिए ।

अमेजन इन्डियाका प्रवक्ताका अनुसार इन्डक्सन चुल्होको बिक्री ३० गुणाभन्दा बढीले बढेको छ भने राइस कुकर र इलेक्ट्रिक प्रेसर कुकरको बिक्री चार गुणाले वृद्धि भएको छ ।

किचन उपकरण निर्माता कम्पनी ‘टीटीके प्रेस्टिज’ ले मागको तुलनामा आपूर्ति निकै कम रहेको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वेंकटेश विजयराघवनले रोयटर्सलाई भने, “बजारमा माग तीन गुणाले बढेको छ ।”

युद्ध सुरु हुनुअघि करिब ७० प्रतिशत क्षमतामा चलिरहेको यस कम्पनीले अहिले आफ्नो उत्पादन क्षमता १०० प्रतिशत पुर्‍याएको छ भने कर्मचारीको संख्या करिब १५ प्रतिशतले बढाएको छ । बढ्दो लागतलाई सन्तुलनमा राख्न कम्पनीले आगामी जुन त्रैमासिकमा इन्डक्सन चुल्होको मूल्य बढाउने योजना समेत बनाएको छ । सन् २०२४-२५ मा कम्पनीको २५ अर्ब ३० करोड भारु (करिब ४० अर्ब ४८ करोड रुपैयाँ) को कुल राजस्वमा इन्डक्सन चुल्होको हिस्सा करिब १० प्रतिशत थियो ।

अनलाइन शपिङ प्लेटफर्ममा बटरफ्लाई, ह्याभल्स इन्डिया र बजाज इलेक्ट्रिकल्सका मोडलहरू पनि हाल उपलब्ध नभएको देखाइएको छ । गुगल ट्रेन्ड्सका अनुसार १२ मार्चमा इन्डक्सन चुल्होको इन्टरनेट सर्च अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । यता, वाउ मोमो र क्यालिफोर्निया बुरिटो जस्ता रेस्टुरेन्ट चेनले पनि सम्भावित ग्यास संकट टार्न इन्डक्सन चुल्होको प्रयोगलाई वैकल्पिक योजनाका रूपमा हेरिरहेको बताएका छन् ।

नेपालमा पनि एलपी ग्यासको माग उच्च हुँदै गएको छ । नेपाल आयल निगमले एलपी ग्यासको माग धान्न शुक्रबारदेखि आधा अर्थात ७.१ केजी एलपी ग्यास भरी बितरण थालेको छ । गुगल ट्रेन्डका अनुसार नेपाली उपभोक्ताले इन्डक्सन चुलोको बारेमा व्यापक सर्च गर्न थालेका छन् । ८ मार्चदेखि १५ मार्चबिचको अवधिमा इन्डक्सन टर्म सर्च उच्चतम १०० विन्दुमा पुगेको छ । यद्यपि ईकमर्श प्लेटफर्म दराज, सीजी डिजिटलमा भने इन्डक्सन चुलो स्टकमै रहेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०८२ १८:४०