‘समस्यामा परेँ, तुरुन्त पैसा पठाइदिनु’ भन्दै साथी वा आफन्तको मेसेज आयो ? ह्याकर हुनसक्छ, सावधान !
चैत ५, २०८२ १५:१७
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले पछिल्लो समय ह्वाट्सएप ह्याक गरेर नक्कली मेसेज पठाई रकम ठगी गर्ने घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । ह्याकरहरूले प्रयोगकर्ताको अकाउन्ट नियन्त्रणमा लिएपछि आफन्त र साथीहरूलाई ‘म समस्या/अप्ठ्यारोमा परेँ, तुरुन्त पैसा पठाइदिनुहोस्’ भन्ने मेसेज पठाउने प्रवृत्ति बढेको उल्लेख गरिएको छ ।
यस्ता मेसेजमा प्रायः क्यूआर कोड वा अन्य माध्यमबाट तुरुन्त पैसा पठाउन दबाब दिइने गरेको ब्युरोले जनाएको छ । धेरैजसो पीडितहरूले आफ्नै चिनेजानेका व्यक्तिबाट मेसेज आएको ठानेर विश्वास गर्दा आर्थिक क्षति बेहोर्नुपरेको छ ।
यस्ता मेसेज प्राप्त भएमा हतारमा विश्वास नगर्न र पैसा पठाउनुअघि सम्बन्धित व्यक्तिलाई सिधै फोन गरेर पुष्टि गर्न साइबर ब्युरोले आग्रह गरेको छ । साथै शङ्कास्पद लिङ्क, फाइल वा कोड क्लिक नगर्न पनि सुझाव दिइएको छ ।
ब्युरोका अनुसार आफ्ना अनलाइन अकाउन्टहरू सुरक्षित राख्न ‘टु-स्टेप भेरिफिकेसन’ अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने, ओटीपी वा भेरिफिकेसन कोड कसैलाई पनि दिन नहुने र मोबाइल एपहरू नियमित रूपमा अपडेट गरिराख्नुपर्ने जस्ता आधारभूत सुरक्षा उपाय अपनाउनु अत्यन्त आवश्यक छ ।
त्यसैगरी सार्वजनिक कम्प्युटर वा अरूको डिभाइसबाट ह्वाट्सएप वेब वा एप प्रयोग गर्दा काम सकेपछि अनिवार्य रूपमा लगआउट गर्न नबिर्सिन पनि ब्युरोले सचेत गराएको छ ।
साइबर अपराधका घटनाहरू बढ्दै जाँदा प्रहरीको साइबर ब्युरोले नागरिकलाई डिजिटल सुरक्षा सम्बन्धमा सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ ।
केही समयपहिले सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतको ह्वाट्सएप अकाउन्ट ह्याक भएको थियो । यस्तै राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाको अकाउन्ट पनि जुम मिटिङमा सहभागी गराउने बहानामा ओटीपी कोड चोरी गरी ह्याकरले नियन्त्रणमा लिएको पाइएको थियो ।
काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डङ्गोलको नाम र फोटो प्रयोग गरी नक्कली ह्वाट्सएप अकाउन्ट खोलेर ठगी धन्दा नै चलाइएको थियो ।
स्क्यामरहरूले बैंक कर्मचारीको परिचय दिएर ह्वाट्सएप स्क्रिन मिररिङ फ्रड मार्फत सेकेन्डभरमा बैँक खाता रित्याउने घटना पनि देखिएको छ । पीडितलाई ‘खातामा समस्या छ, समाधान गर्न स्क्रिन सेयर गर्नुहोस्’ भन्दै झुक्याउने र डिभाइस नियन्त्रण लिने विधि प्रयोग भइरहेको प्रहरीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत ५, २०८२ १६:१२
