close

‘विदेश जाने लट्री पर्‍यो’ भन्दै झन्डै तीन करोड ठगी गर्ने ६ भारतीय र १ नेपाली पक्राउ

टेकपाना टेकपाना

चैत ६, २०८२ २३:४१

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । विभिन्न सपिङ मलहरूमा ‘लट्री अफर’ (चिठ्ठा) को बहानामा सर्वसाधारणको फोन नम्बर सङ्कलन गर्ने र पछि ‘विदेश भ्रमणको चिठ्ठा पर्‍यो’ भन्दै झन्डै तीन करोड रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । यस प्रकरणमा संलग्न ६ भारतीय नागरिक र एक नेपाली गरी सात जना पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यो गिरोहले ‘शिरटेल होलिडेज प्रालि’ नामक ट्राभल एजेन्सीको आवरणमा ठगी धन्दा चलाउँदै आएको थियो । ठगीका लागि उनीहरूले काठमाडौँ उपत्यकाका भाटभटेनी सुपरमार्केट, लबिम मल, सिभिल मल लगायतका भीडभाड हुने स्थानमा स्टल राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यहाँ उनीहरूले सर्वसाधारणलाई ‘लट्री अफर’ मा सहभागी गराउने बहानामा फारम भर्न लगाएर नाम र फोन नम्बर सङ्कलन गर्थे ।

यसरी नम्बर सङ्कलन गरेपछि उनीहरूले सम्बन्धित व्यक्तिलाई फोन गरेर ‘तपाईंलाई युरोप, एसिया वा अफ्रिकाका देशहरूमा सस्तो दरमा जान मिल्ने ट्राभल लट्री पर्‍यो’ भन्दै झुक्याएर आफ्नो कार्यालयमा बोलाउँथे । कार्यालयमा आएका व्यक्तिहरूलाई ‘यो होलिडे प्याकेज आजका लागि मात्र मान्य हुन्छ’ भन्दै मनोवैज्ञानिक दबाब दिने र तत्कालै कम्पनीको खातामा पैसा जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पैसा लिइसकेपछि सम्झौता अनुसार भ्रमणमा नपठाउने र रकम फिर्ता माग्दा विभिन्न बहानाबाजी गरेर उनीहरूले ठगी गर्ने गरेका थिए ।

प्रहरीका अनुसार यो गिरोहले हालसम्म ३ सय २८ जना सर्वसाधारणलाई प्रलोभनमा पारेर कुल २ करोड ७२ लाख ६५ हजार ५ सय ७४ रुपैयाँ ठगी गरेको पाइएको छ ।

नेपालीको नाममा कम्पनी, सञ्चालक भारतीय

पक्राउ पर्नेमध्ये २६ वर्षीय विवेक रेग्मीले कम्पनी आफ्नो नाममा दर्ता गराएको पाइएको छ। सप्तरीको कञ्चनरूप घर भई हाल भक्तपुर बस्ने रेग्मीले १७ कात्तिक २०७८ मा कम्पनी दर्ता गरेका थिए ।

ठगीका मुख्य योजनाकार भनिएका अन्य ६ जना भने भारतको तेलङ्गाना राज्य, हैदरावादका बासिन्दा हुन् । पक्राउ पर्ने भारतीय नागरिकहरूमा ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, ३४ वर्षीय महम्मद इमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र ४२ वर्षीय समदा गिरी रहेका छन् । उनीहरू ललितपुरको बालकुमारीमा बस्दै आएका थिए ।

उनीहरूले कम्पनीमा ३० जना नेपाली कर्मचारीलाई समेत काममा लगाएका थिए । ती कर्मचारीलाई समेत कम्पनीको मुख्य कार्यालय भारतको हैदरावादमा रहेको भन्दै झुक्याइएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले मङ्गलवार थापागाउँस्थित लाखेचौर मार्गमा रहेको उनीहरूको कार्यालयबाट सातै जनालाई पक्राउ गरेको हो । कार्यालयबाट सात लाख रुपैयाँ नगद, ठगीमा प्रयोग गरिएका ‘शिरटेल होलिडेज’का ५ हजार ७५ थान अर्धकट्टी कुपन, ३८० थान ‘स्टार लाइट लक्जरी होलिडेज’का कुपन, ८ थान भारतीय राहदानी, ७ थान भारतीय सिमकार्ड, ८ थान मोबाइल, ल्यापटप र कम्प्युटर लगायतका सामग्री बरामद गरिएको छ ।

पक्राउ परेका सातै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८२ २३:५२