काठमाडौँमा एकै दिन १७५ राइड शेयरिङ चालकमाथि कारबाही, अफलाइन यात्रु बोक्ने सबैभन्दा धेरै
चैत ९, २०८२ १५:५९
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एकै दिन १७५ जना राइड शेयरिङ चालकलाई कारबाहीको दायरामा ल्याएको छ । उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष जाँचका क्रममा प्रचलित ट्राफिक नियम र मापदण्ड उल्लङ्घन गर्ने ती चालकहरू कारबाहीमा परेका हुन् ।
ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा मुख्यगरी सम्बन्धित एपको अनुमतिविना अर्थात् अफलाइन रूपमा यात्रु बोक्ने, सडकमा जथाभाबी ‘पिक एण्ड ड्रप’ गर्ने र सवारी साधनको अवस्था मापदण्ड अनुसार दुरुस्त नराख्ने चालकहरू रहेका छन् । आधिकारिक माध्यमभन्दा बाहिर रहेर गरिने यस्ता गतिविधिले सडक सुरक्षामा जोखिम बढाउनुका साथै समग्र यातायात व्यवस्थापनमा समेत चुनौती थपेकाले विशेष निगरानीसहित कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
कार्यालयले सुरक्षित र व्यवस्थित यातायात प्रणाली कायम गर्न प्रचलित नियम र कानुनको परिधिभित्र रहेर मात्र सवारी सञ्चालन गर्न चालकहरूलाई सचेत गराएको छ । ट्राफिक नियमको पूर्ण पालना गरी सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग गर्न अपिल गर्दै प्रहरीले नियमविपरीत चल्ने सवारी साधनमाथि आगामी दिनमा अझ कडाइका साथ निगरानी गरिने चेतावनी दिएको छ ।
पछिल्लो अध्यावधिक: चैत ९, २०८२ १५:५९
