९,००० एमएएचको शक्तिशाली ब्याट्री र १६५ हर्ज डिस्प्लेसहित वनप्लस नर्ड-६ अप्रिलमा सार्वजनिक हुने
चैत १०, २०८२ १६:०
काठमाडौँ । वनप्लसले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन वनप्लस नर्ड ६ सार्वजनिक हुने मिति र यसका मुख्य फिचर आधिकारिक रूपमा खुलासा गरेको छ । हप्तौँसम्मका विभिन्न लिकहरू र सामाजिक सञ्जाल एक्समा दिइएको टिजरपछि वनप्लस इन्डियाले यो फोन आगामी ७ अप्रिलमा सार्वजनिक हुने जानकारी दिएको हो ।
यो फोनको सबैभन्दा आकर्षक पक्ष ९,०००mAh क्षमताको शक्तिशाली ब्याट्री हो । यति ठुलो ब्याट्री क्षमता भएको यो वनप्लसको पहिलो ग्लोबल (विश्वव्यापी) फोन हुनेछ ।
पर्फर्मेन्स कुरा गर्नुपर्दा यो फोन स्न्यापड्रागन ८ एस जेन ४ (Snapdragon 8s Gen 4) चिपसेटद्वारा सञ्चालित हुनेछ । वनप्लसले दाबी गरे अनुसार यो प्रोसेसर धेरै उच्च-तीव्रताका गेमहरू १६५ एफपीएसमा चलाउन सक्षम छ । यसलाई साथ दिन फोनमा १६५ हर्जको डिस्प्ले राखिएको छ । जुन गत वर्षको अन्त्यमा सार्वजनिक भएका फ्ल्यागशिप मोडेलहरू वनप्लस १५ र १५ आरसँग मेल खान्छ । यद्यपि डिस्प्लेको वास्तविक आकारका बारेमा भने कम्पनीले अझै केही बताएको छैन ।
वनप्लस नर्ड ६ मा वनप्लस १५ र १५ आरको पदचाप पछ्याउँदै कम्पनीको विशेष ट्राई-चिप आर्किटेक्चर प्रयोग गरिएको छ । यो सिस्टममा स्न्यापड्रागन ८ सिरिजको मुख्य चिपसेट बाहेक थप दुई ओटा विशेष चिपहरू समावेश छन् ।
एउटा चिप, जसले गेमिङका बेला उत्कृष्ट अनुभवका लागि टच रेस्पोन्सलाई फास्ट बनाउँछ । अर्को जी२ (G2) चिप, जसले सिग्नल कमजोर भएको ठाउँमा पनि वाई-फाई कनेक्सनलाई बलियो र स्थिर राख्न मद्दत गर्दछ ।
वनप्लसले नर्ड ६ को डिजाइन पनि सार्वजनिक गरेको छ । यसमा फ्ल्यागशिप वनप्लस १५ बाट प्रेरित वर्गाकार क्यामेरा बम्प देख्न सकिन्छ । जसमा तीन ओटा कटआउटहरू रहेका छन् । तीमध्ये दुई ओटा वास्तविक क्यामेरा सेन्सरहरू हुन् भने तेस्रो कटआउट गत वर्षको वनप्लस १३-टी जस्तै क्यामेरा बम्पमै एकीकृत गरिएको आईआर स्क्यानर हुन सक्ने सम्भावना छ ।
यो फोन मिन्ट ग्रीन, ब्ल्याक र सिल्भर गरी तीन ओटा रङमा उपलब्ध हुनेछ । सिल्भर रङमा पछाडिको भागको किनारहरूमा ग्लिची प्याटर्नका रेखाहरू समावेश गरिएका छन् ।
यो आधिकारिक घोषणा वनप्लस इन्डियाबाट आएकाले विश्वव्यापी उपलब्धताको विषयमा थप विवरण आउन अझै बाँकी छन् । यो फोनको मूल्य युरोपमा ४४९ युरो (करिब ७८ हजार रुपैयाँ) र बेलायतमा ३९९ पाउन्ड (करिब ८१ हजार रुपैयाँ) हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै भारतमा यो फोनको मूल्य ३० हजार भारु (४८ हजार नेपाली रुपैयाँ) देखि ३५ हजार भारु (५६ हजार नेपाली रुपैयाँ) हुनसक्ने आँकलन छ ।
पछिल्लो अध्यावधिक: चैत १०, २०८२ १६:५४
