close

दृष्टिविहीनले सुनेर नै इसेवा चलाउन सक्ने फिचर, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

चैत ११, २०८२ १८:३९

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । के तपाईँलाई थाहा छ ? दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ताका लागि इसेवामा टकब्याक सुविधा छ । करिब दुई महिनाअघि इसेवाले सार्वजनिक गरेको यो सुविधा ‘एक्सेसिबिलिटी’ फिचरको प्रयोग गरेर मोबाइल चलाउने प्रयोगकर्ताका लागि उपलब्ध गराइएको हो । 

यो सुविधासँगै एक्सेसिबिलिटी फिचरको प्रयोग गरेर मोबाइलमा फेसबुक, मेसेन्जर लगायतका सामाजिक सञ्जाल चलाए जस्तै इसेवा पनि चलाउन सक्ने भएका छन् ।  

यो फिचर हालसम्म प्रविधिको असुविधाका कारण डिजिटल भुक्तानी प्रणालीको प्रयोग गर्न नपाएकाहरूका लागि रहेको कम्पनीले जनाएको छ । यसले दृष्टिविहीनहरूलाई अन्य कुनै व्यक्तिहरूको सहयोग बिना स्वतन्त्र तरिकाले इसेवा प्रयोग गर्न सक्ने सुविधा दिएको कम्पनीको दाबी छ ।

यो सुविधा खास गरी मोबाइलमा ‘स्क्रिन रिडर’ वा ‘टकब्याक’ प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो । यो फिचरमार्फत इसेवा एपभित्रका प्रत्येक मेनु, बटन र विकल्पहरूलाई आवाजमा रूपान्तरण गरिन्छ । यसले गर्दा दृष्टिविहीन प्रयोगकर्ताले स्क्रिनमा के छ र आफूले कहाँ क्लिक गरिरहेको छु भन्ने कुरा सुनेर थाहा पाउन सक्छन् । यो फिचरमा नेपाली र अङ्ग्रेजी दुवै भाषाको सपोर्ट रहेको छ । 

यो सुविधाले पैसा लोड गर्न, भुक्तानी गर्न, आफ्नो इसेवा खातामा भएको रकम कति छन् भनेर जानकारी लिन, टपअप गर्न, बैङ्क ट्रान्सफर, विभिन्न सेवाको भुक्तानी, टिकेट खरीद लगायतका सम्पूर्ण सेवा लिन सहज बनाएको छ । सामान्य प्रयोगकर्ताहरूले लिन सक्ने सम्पूर्ण सुविधा दृष्टिविहीन प्रयोगकर्ताले पनि लिनसक्ने गरि इसेवामा टकब्याक सुविधा ल्याइएको बताइएको छ ।

इसेवा सञ्चालनमा आएको १७ औँ वार्षिकोत्सवको अवसरमा यो सुविधा ल्याइएको हो ।

कसरी प्रयोग गर्ने ?

एक्सेसिबिलिटी फिचर पहिल्यै इनेबल गरिएका डिभाइसमा भने इसेवा डाउनलोड गरेर सोझै चलाउन सकिन्छ । यदि हालसम्म यो फिचर अन गर्नुभएको छैन भने यसरी गर्न सकिन्छ ।

  • मोबाइलको सेटिङमा गएर ‘Shortscut & Accessibility’ मा क्लिक गर्नुहोस् । 


 

  • अब ‘Accessibility’ मा क्लिक गर्नुहोस् । 

  •   त्यसपछि ‘TalkBack’ देखिएको अस्सनमा क्लिक गरेर त्यसलाई ‘अन’ गर्नुहोस् । 



 

 

एक्सेसिबिलिटी फिचर अन भइसकेपछि इसेवा एप खोल्दा एपले आफैँ स्क्रिनमा भएका सामग्रीहरू पढेर सुनाउन थाल्छ । प्रयोगकर्ताले स्क्रिनमा टच गर्दा कुन बटनमा छोइयो भन्ने आवाज आउँछ र डबल ट्याप गरेर उक्त सेवा छनोट गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत ११, २०८२ १८:३९