close

सामसङ ब्राउजर विन्डोजमा, पेर्प्लेक्सिटी एआई र क्रस-डिभाइस फिचरको साथ गुगल क्रोमलाई चुनौती

टेकपाना टेकपाना

चैत १२, २०८२ १७:३

सामसङ ब्राउजर विन्डोजमा, पेर्प्लेक्सिटी एआई र क्रस-डिभाइस फिचरको साथ गुगल क्रोमलाई चुनौती

काठमाडौँ । सामसङको लोकप्रिय मोबाइल ब्राउजर आधिकारिक रूपमा विन्डोज पीसीका लागि उपलब्ध भएको छ । विगत केही महिनादेखि बेटा परीक्षणमा रहेको सामसङ ब्राउजर अब स्थिर संस्करणमा सार्वजनिक भएको हो ।

यसले मोबाइल र पीसी बीचको ब्राउजिङ अनुभवलाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य राखेको छ । सामसङले आफ्नो ब्राउजरको नाम हालै 'सामसङ इन्टरनेट'बाट परिवर्तन गरी 'सामसङ ब्राउजर' बनाएको थियो । यसअघि केही सीमित बजारमा मात्र उपलब्ध यो ब्राउजर अब विश्वभरका प्रयोगकर्ताहरूले प्रयोग गर्न सक्नेछन् ।

यो ब्राउजरको सबैभन्दा बलियो पक्ष यसको 'क्रस-डिभाइस कन्टिन्युटी' फिचर हो । सामसङ ब्राउजरले प्रयोगकर्तालाई आफ्नो ग्यालेक्सी फोन वा ट्याब्लेटमा हेरिरहेको वेबपेजलाई पीसीमा ठ्याक्कै त्यही ठाउँबाट सुरु गर्ने अनुमति दिन्छ । यो केवल बुकमार्क वा हिस्ट्री सिंक गर्ने कुरा मात्र नभई रियल-टाइमको ब्राउजिङलाई निरन्तरता दिने प्रविधि हो ।

यद्यपि यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले दुवै डिभाइसमा एउटै सामसङ अकाउन्ट प्रयोग गर्नुपर्ने हुन्छ । यो फिचर हाल ग्यालेक्सी बुक ३, ४, ५ र ६ सिरिजका ल्यापटपहरूमा उपलब्ध छ र यसका लागि पीसीमा 'सामसङ कन्टिन्युटी सर्भिस' वा 'ग्यालेक्सी कनेक्ट' एप इन्स्टल हुनुपर्छ । भविष्यमा यसको उपलब्धता अन्य विन्डोज डिभाइसहरूमा पनि विस्तार गरिने सामसङले जनाएको छ ।

यो ब्राउजरको अर्को ठुलो आकर्षण भनेको यसमा एकीकृत गरिएको 'एजेन्टिक एआई' क्षमता हो । सामङले पेर्प्लेक्सिटीसँगको साझेदारीमा एक नयाँ एआई असिस्टेन्टलाई ब्राउजरभित्रै समावेश गरेको छ । यो एआईले प्राकृतिक भाषा बुझ्न सक्छ र प्रयोगकर्ताले हेरिरहेको वेबपेजको सन्दर्भ (Context) अनुसार काम गर्न सक्छ ।

जस्तै यदि प्रयोगकर्ताले कुनै भ्रमण सम्बन्धी पेज हेरिरहेका छन् भने एआईले सोही सामग्रीका आधारमा भ्रमण तालिका बनाइ दिन सक्छ । लामो भिडिओहरूमा प्रयोगकर्ताले खोजेको विशेष जानकारी कुन समयमा छ भनेर एआईले पत्ता लगाउन सक्छ र सिधै त्यहीँबाट भिडिओ सुरु गरिदिन्छ ।

यस्तै ब्राउजिङ हिस्ट्रीमा कुनै कुरा खोज्न अब मिति वा किवर्ड सम्झिरहनु पर्दैन; प्रयोगकर्ताले प्राकृतिक भाषामा (जस्तै: मैले गएको हप्ता हेरेको स्मार्टवाच देखाऊ) प्रश्न सोधेर हिस्ट्री फेला पार्न सक्छन् ।

साथै एआईले धेरै ट्याबहरूमा रहेका जानकारीलाई एकैसाथ सारांश गर्न र तुलना गर्न पनि मद्दत गर्दछ । सुरक्षाका दृष्टिकोणले पनि यो ब्राउजरलाई बलियो बनाइएको छ । यसमा 'सामसङ पास' एकीकृत गरिएको छ । जसले प्रयोगकर्ताको लगइन विवरण र व्यक्तिगत जानकारीलाई सुरक्षित रूपमा स्टोर गर्ने र विभिन्न वेबसाइटहरूमा अटो-फिल (Autofill) गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । जसले गर्दा अनलाइन कारोबार र लगइन प्रक्रिया निकै छिटो र सुरक्षित हुने दाबी गरिएको छ ।

यो ब्राउजर विश्वव्यापी रूपमा उपलब्ध भए पनि यसका एआई सुविधाहरू भने हालका लागि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकामा मात्र सीमित छन् । सामसङले यी फिचरहरूलाई छिट्टै अन्य क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धता भने व्यक्त गरेको छ ।

प्रविधि विश्लेषकहरूले यसलाई गुगल क्रोमको एक बलियो विकल्पको रूपमा हेरेका छन् । केही परीक्षणहरूमा सामसङ ब्राउजर क्रोमको तुलनामा कम 'रिसोर्स' (RAM) खपत गर्ने र छिटो चल्ने पाइएको छ । यदि तपाईँ ग्यालेक्सी इकोसिस्टम प्रयोगकर्ता हुनुहुन्छ भने यो ब्राउजरले तपाइँको काम गर्ने शैलीमा उल्लेख्य सुधार ल्याउन सक्छ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १७:३