close

सामसङले ल्यायो 'हेरापी' एप, मोसन सिकनेस अर्थात् यात्राका क्रममा हुने वाकवाकी वा असहजता हटाउने

टेकपाना टेकपाना

चैत १९, २०८२ ११:१७

सामसङले ल्यायो 'हेरापी' एप, मोसन सिकनेस अर्थात् यात्राका क्रममा हुने वाकवाकी वा असहजता हटाउने

काठमाडौँ । सामसङले 'हेरापी' (Hearapy) नामक नयाँ र निःशुल्क एप सार्वजनिक गरेको छ । कम्पनीले केवल ध्वनिको प्रयोग गरेर 'मोसन सिकनेस' (यात्राका क्रममा हुने वाकवाकी वा असहजता) का लक्षणहरूलाई कम गर्ने दाबीका साथ यो एप ल्याएको हो ।

यो एप हाल एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगल प्ले स्टोरमा उपलब्ध छ । यो एपको कार्यप्रणाली निकै सरल र स्पष्ट छ । एप सञ्चालन गरेपछि यसले जोडिएको हेडफोनमार्फत ६० सेकेन्डसम्म १०० हर्ज (Hz) को न्यून 'साइन वेभ टोन' (Sine wave tone) बजाउँछ । यो आवाजले मानिसको भित्री कानमा रहेको 'भेस्टिबुलर सिस्टम' (Vestibular system) लाई उत्तेजित गराउँछ । कानको यो भाग शरीरको सन्तुलन मिलाउन र दिशा निर्धारणका लागि जिम्मेवार हुन्छ ।

एपमा यो टोनको समयावधिलाई प्रयोगकर्ताले ४० देखि १२० सेकेन्डसम्म आफ्नो इच्छा अनुसार मिलाउन सक्ने सुविधा छ । तर कम्पनीका अनुसार एक मिनेटसम्म यो आवाज सुन्दा वाकवाकी जस्ता मोसन सिकनेसका लक्षणहरूबाट दुई घण्टासम्म राहत प्राप्त गर्न सकिन्छ । आवश्यकता अनुसार यस प्रक्रियालाई पुनः दोहोर्‍याउन पनि सकिन्छ ।

सामसङका अनुसार यो एप जापानको नागोया विश्वविद्यालयले गत वर्ष सार्वजनिक गरेको एक अनुसन्धानबाट प्रेरित छ । उक्त अनुसन्धानले निश्चित ध्वनिका तरङ्गहरूले गुडिरहेको सवारी साधनमा बसेर केही पढ्दा हुने असहजता र असन्तुलनलाई कम गर्न मद्दत गर्ने कुरा पत्ता लगाएको थियो ।

यो एप मोसन सिकनेसको ग्यारेन्टी गरिएको उपचार भने होइन । यसको प्रभावकारिता प्रयोगकर्ताले प्रयोग गर्ने हेडफोनको गुणस्तरमा निर्भर हुने सामसङले जनाएको छ । कम्पनीले उत्तम नतिजाका लागि आफ्नै 'ग्यालेक्सी बड्स ४ प्रो' प्रयोग गर्न प्रयोगकर्तालाई सुझाव दिएको छ । यद्यपि यो एप धेरैजसो हेडफोन वा इयरबडहरूसँग काम गर्दछ । तर प्रभावकारी हुनका लागि हेडफोनले ८० देखि ८५ डेसिबल (dB) सम्मको ध्वनि स्तर उत्पादन गर्न सक्ने हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ ११:१७