close

ललितपुर महानगरमा ‘वातावरण प्रहरी’का लागि दुई विद्युतीय भ्यान सञ्चालन

टेकपाना टेकपाना

चैत १९, २०८२ १६:९

ललितपुर महानगरमा ‘वातावरण प्रहरी’का लागि दुई विद्युतीय भ्यान सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिकाले नगर क्षेत्रको वातावरणीय संरक्षण र प्रदूषण नियन्त्रणलाई प्रभावकारी बनाउन दुईवटा विद्युतीय ‘वातावरण भ्यान’ सञ्चालनमा ल्याएको छ । महानगरले बिहीबार एक कार्यक्रम आयोजना गरी काभा ब्रान्डका यी विद्युतीय भ्यानहरू सञ्चालनको सुरुवात गरेको हो ।

महानगरको वातावरण तथा विपद् व्यवस्थापन विभागका निर्देशक देवप्रसाद गुरागाईंका अनुसार १६-१६ सिट क्षमताका यी ईभी (विद्युतीय सवारी) प्रतिथान ३८ लाख ८० हजार रुपैयाँमा खरिद गरिएको हो । गत आर्थिक वर्षदेखि नै ‘वातावरण प्रहरी’ परिचालन गर्ने महानगरको नीति अनुरूप यी सवारीसाधन खरिद गरिएको उनले जानकारी दिए ।

महानगरले नगर प्रहरीमध्येबाट १५ जनालाई ‘वातावरण प्रहरी’को विशेष जिम्मेवारी सुम्पिएको छ । यी प्रहरीहरूले महानगरभित्र खुला रूपमा आगो वा प्लास्टिक बाल्ने कार्य रोक्ने, वायु प्रदूषणको अवस्था जाँच गर्ने, महानगरले रोपेका बिरुवाको सुरक्षा गर्ने र ध्वनि प्रदूषणको नियमित अनुगमन गर्ने कार्य गर्नेछन् ।

नागरिकहरूले वातावरणसँग सम्बन्धित कुनै पनि गुनासो वा उजुरी गर्नका लागि महानगरको टोल फ्री नम्बर ११३१ मा सम्पर्क गर्न सक्नेछन् । उजुरी प्राप्त हुनासाथ तत्काल सम्बन्धित स्थानमा पुग्नका लागि यी सवारीसाधन खरिद गरिएको निर्देशक गुरागाईंले बताए । उजुरी नआएको समयमा पनि वातावरण प्रहरीले यी भ्यानमार्फत नगरको नियमित अनुगमन गर्नेछन्।

ललितपुर महानगरले वातावरणीय सुधारका लागि इन्धनमुक्त विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिँदै आएको छ । यसै योजना अन्तर्गत फोहोर सङ्कलनका लागि थप ११ वटा विद्युतीय गाडी खरिद गर्ने तयारी भइरहेको समेत निर्देशक गुरागाईंले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ १६:९