फाइल तस्बिर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर महानगरपालिकाले यो सेवा सुरु गर्न लागेको हो ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार रात्रिकालीन बसको सुरक्षाका लागि हरेक बसमा सीसीटिभी क्यामेरा जडान गरिएको छ भने एक जना नगर प्रहरी समेत खटाइनेछ । प्रारम्भिक चरणमा यो सेवा काठमाडौँका दुई मुख्य रुटमा सञ्चालन हुनेछ ।
पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीस्थित गंगालाल हृदय केन्द्रसम्म पुग्नेछ ।
दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ । यी बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म हरेक २० मिनेटको अन्तरालमा छुट्नेछन् ।
यो सेवा ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको समेत सहकार्यमा सञ्चालनमा ल्याइएको हो । अन्य पालिकाहरू तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी क्रमश: उपत्यकाभरि रात्रिकालीन बस सेवा विस्तार गर्ने लक्ष्य राखिएको कार्यवाहक प्रमुख डंगोलले बताइन् ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ १४:५२
