काठमाडौँ । अनलाइन ट्राभल र होटल रिजर्भेसन प्लेटफर्म ‘बुकिङ डटकम’का ग्राहकको व्यक्तिगत विवरण ह्याकरले चोरी गरेको पुष्टि भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै ग्राहकको नाम, ईमेल ठेगाना, फोन नम्बर र बुकिङसँग सम्बन्धित महत्त्वपूर्ण विवरणमा अनधिकृत रूपमा ह्याकरको पहुँचमा पुगेको जानकारी दिएको हो ।
कम्पनीले गत हप्ता नै प्रभावित ग्राहकलाई यसबारे सूचित गरिसकेको छ । सामाजिक सञ्जाल रेडिटका प्रयोगकर्ताले कम्पनीबाट प्राप्त सूचना सार्वजनिक गर्दै आफ्ना विवरण असुरक्षित भएको बताएका छन् । ग्राहकलाई पठाइएको सूचनामा भनिएको छ, “तपाईंको बुकिङसँग सम्बन्धित निश्चित जानकारीमा अनाधिकृत तेस्रो पक्षले पहुँच पुर्याएको हुन सक्ने जानकारी दिन चाहन्छौँ ।”

चोरी भएका विवरणमा ग्राहकले होटल वा बस्ने ठाउँलाई उपलब्ध गराउने व्यक्तिगत जानकारी समेत समावेश भएको बताइएको छ । डेटा चोरी भएपछि ग्राहकमाथि साइबर आक्रमणको जोखिम बढेको छ ।
‘टेकक्रन्च’का अनुसार एक प्रयोगकर्ताले दुई हप्ताअघि नै ह्वाट्सएप मार्फत आफ्नो बुकिङ विवरणसहितको शङ्कास्पद म्यासेज प्राप्त गरेको बताएका छन् । यसले चोरी भएका विवरण प्रयोग गरेर ह्याकरले ग्राहकलाई लक्षित गरी ‘फिसङ’ आक्रमण सुरु गरिसकेको सङ्केत गरेको छ ।
बुकिङ डटकमका प्रवक्ता कोर्टनी क्याम्पले केही शङ्कास्पद गतिविधि फेला परेको र त्यसलाई नियन्त्रण गर्न तुरुन्त कदम चालिएको जानकारी दिएकी छन् । उनले भनिन्, “हामीले शङ्कास्पद बुकिङको पिन नम्बर अपडेट गरेका छौँ र प्रभावित गेस्टलाई यसबारे जानकारी गराएका छौँ ।”
यद्यपि, कम्पनीले कति सङ्ख्यामा ग्राहक प्रभावित भए भन्नेबारे जानकारी दिन अस्वीकार गरेको छ । कम्पनीले ‘द गार्डियन’ अखबारसँग कुरा गर्दै ग्राहकहरूको ‘वित्तीय विवरण’ मा भने पहुँच नपुगेको दाबी गरेको छ ।
यसअघि सन् २०२४ मा पनि केही होटलका कम्प्युटरमा ‘स्टाकरवेयर’ मार्फत आक्रमण भएको रिपोर्ट सार्वजनिक भएको थियो । सन् २०१० यता ६.८ अर्बभन्दा बढी ग्राहकले बुकिङ डटकममार्फत होटल तथा आवास बुकिङ गरिसकेका छन् । नेपालका पर्यटकीय स्थानमा पनि बुकिङ डटकमको प्रयोग बढ्दो छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ १६:३३
