close

वन डढेलो नियन्त्रणका लागि ड्रोन र स्याटलाइटबाट ‘रियल टाइम’ निगरानी गर्ने सरकारको योजना

टेकपाना टेकपाना

बैशाख २, २०८३ १४:१५

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । सरकारले वन डढेलो नियन्त्रणका लागि ड्रोन र स्याटलाइट प्रविधिमार्फत ‘रियल टाइम’ निगरानी गर्ने योजना अघि सारेको छ । मुलुकको समग्र विकास र शासकीय सुधारका लागि ६ प्रमुख राजनीतिक दलको घोषणापत्रलाई आधार मानी तयार पारिएको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा यस्तो योजना अघि सारिएको हो ।

सार्वजनिक मस्यौदामा सामुदायिक तथा राष्ट्रिय वनको सुरक्षाका लागि ‘वन डढेलो उच्च सतर्कता केन्द्र’ स्थापना गरिने विषय उल्लेख छ । “सामुदायिक तथा राष्ट्रिय वनको सुरक्षाका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गरी ड्रोन र स्याटलाइट प्राविधिमार्फत रियल टाइममा निगरानी गरिनेछ,” मस्यौदामा भनिएको छ ।

त्यस्तै वन क्षेत्रको दिगो व्यवस्थापनका लागि परम्परागत प्रणालीको सट्टा आधुनिक प्रविधि र डिजिटल प्रणाली अवलम्बन गरिने उल्लेख छ ।

सरकारले वातावरणीय चुनौती सामना गर्न मध्यपहाडी र चुरे क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउने भएको छ । “मध्यपहाडी र चुरे क्षेत्रमा सम्भव स्थानमा पानी सङ्कलन पोखरी निर्माण गरी वर्षा र खोलाको पानी व्यवस्थापन गरी बाढी र खडेरीको श्रृंखला तोड्न वैज्ञानिक प्रणाली अपनाइनेछ,” मस्यौदामा भनिएको छ, “चुरेका ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित दोहन नियन्त्रण गर्न वैज्ञानिक उत्खनन तथा निर्यात कार्यविधि तयार गरी एकीकृत चुरे संरक्षण प्राधिकरणलाई तीन ओटै तहको साझा जिम्मेवारी सहित थप अधिकार सम्पन्न बनाइनेछ ।”

शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ३ मा समेटिएको यो महत्त्वाकाङ्क्षी योजनालाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक नीति र कार्यक्रममा समावेश गरी कार्यान्वयनमा लगिने सरकारले जनाएको छ । १० वैशाखसम्म सरकारलाई यस विषयमा राय/सुझाव दिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ १४:४३