close

नागरिक एप र वेबसाइटमा लाइसेन्स छापिएको देखिँदा पनि सेवाग्राही रित्तै फर्किनुपर्ने बाध्यता

टेकपाना टेकपाना

बैशाख १६, २०८३ १५:५४

नागरिक एप र वेबसाइटमा लाइसेन्स छापिएको देखिँदा पनि सेवाग्राही रित्तै फर्किनुपर्ने बाध्यता

काठमाडौँ । यातायात व्यवस्था विभागको वेबसाइट र नागरिक एपमा आफ्नो ‘सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छापिएको’ सूचना देखेपछि यातायात कार्यालय पुग्ने सेवाग्राहीहरू रित्तै हात फर्किन बाध्य भएका छन् । अनलाइन प्रणालीमा कार्ड छापिनेबित्तिकै सूचना अद्यावधिक (अपडेट) हुने भए पनि छापिएका कार्ड भौतिक रूपमा सम्बन्धित कार्यालयमा पुग्न र वितरण योग्य हुन समय लाग्ने भएकाले सेवाग्राहीले सास्ती व्यहोर्नु परेको हो ।

यस विषयमा यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले प्रणालीमा अद्यावधिक भएको सूचना सत्य भए पनि वितरणको प्राविधिक प्रक्रिया बुझ्न आवश्यक रहेको बताएका छन् । टेकपानासँग कुरा गर्दै निर्देशक खतिवडाले भने, “केन्द्रबाट कार्ड प्रिन्ट हुनेबित्तिकै हामीले प्रणालीमा ‘प्रिन्टेड’ स्टाटस अपडेट गर्छौं, जसको जानकारी नागरिक एपमा पनि पुग्छ । तर, छापिएका कार्ड हुलाकमार्फत सम्बन्धित जिल्लाका कार्यालयमा पुग्न र त्यहाँका कर्मचारीले वितरणका लागि विवरणी मिलाउन (सर्टिङ गर्न) केही दिन समय लाग्छ । त्यही बिचको समयमा सेवाग्राही कार्यालय पुग्दा कार्ड नपाएका हुन् ।”

उनका अनुसार विभागको मुख्य जिम्मेवारी कार्ड छाप्ने र पठाउने हो, तर वितरण कहिलेबाट सुरु गर्ने भन्ने कुरा सम्बन्धित यातायात कार्यालयमै निर्भर रहन्छ । त्यसैले प्रणालीमा प्रिन्ट भएको देखिए पनि सम्बन्धित कार्यालयले आफ्नो वेबसाइट वा फेसबुक पेजमार्फत आधिकारिक सूचना निकालेपछि मात्र कार्ड लिन जान उनी सुझाउँछन् ।

यता, नागरिक एपका प्रतिनिधिहरू पनि आफूहरूले विभागकै प्रणालीको एपीआई (API) बाट प्राप्त तथ्याङ्क देखाउने गरेको बताउँछन् । प्रधानमन्त्री कार्यालय र यातायात व्यवस्था विभागको समन्वयपछि एपमा लाइसेन्सको अवस्था (स्टाटस) देखिने व्यवस्था मिलाइएको हो । नागरिक एपका एक प्रतिनिधिले भने, “हामीले विभागबाट प्राप्त ‘प्रिन्टेड’ स्टाटस देखाउने हौँ । कार्ड छापिएकै हो, तर त्यो कार्यालयमा ढुवानी भएर पुग्न समय लाग्छ ।”

विभागको वेबसाइटमा लाइसेन्स छापिएको देखिने तर नागरिक एपमा नदेखिने समस्याबारे पनि एपका प्रतिनिधि जानकार छन् । उनका अनुसार मोबाइलमा 'क्यास' (Cache) फाइल बसेका कारण कहिलेकाहीँ यस्तो समस्या आउन सक्छ । यस्तो अवस्थामा एपमा लाइसेन्स ‘अनलिङ्क’ गरेर पुनः ‘लिङ्क’ गर्दा अद्यावधिक सूचना देखिने उनको भनाइ छ ।

केन्द्रबाट कार्ड छापिएर आए पनि त्यसलाई वितरण योग्य बनाउन धेरै समय लाग्ने यातायात व्यवस्था कार्यालयहरू बताउँछन् । यातायात व्यवस्था कार्यालय, राधेराधेका सूचना अधिकारी जीवनकुमार बस्नेतले एप वा वेबसाइटमा छापिएको देखिनेबित्तिकै कार्ड प्राप्त नहुने स्पष्ट पारे । उनले भने, “हार्डकपी कार्यालयमा आइपुगेपछि हामीले विवरणीअनुसार सर्टिङ गर्नुपर्छ । उक्त कार्य सकिएपछि वितरण योग्य कार्डको सूची कार्यालयको वेबसाइटमा राख्छौँ । उक्त सूचीमा नाम भए मात्र सेवाग्राहीले कार्ड पाउनुहुन्छ ।”

यस्तै समस्या कोशी प्रदेशको यातायात व्यवस्था कार्यालय इटहरीमा पनि देखिएको छ । विभागबाट पछिल्लो पटक (१४ अप्रिल २०२५ सम्मका) छापिएर आएका करिब ९४ हजार ६ थान स्मार्ट कार्डहरू हुलाकमार्फत ९ वैशाखमा मात्र प्राप्त भएका छन् । यति ठूलो सङ्ख्यामा आएका कार्डहरूलाई सर्टिङ गर्न, कार्यालयको श्रेस्तामा आधिकारिक अभिलेख राख्न र वितरणको तयारी गर्न कम्तीमा १५ देखि २० दिन लाग्ने कार्यालयले जनाएको छ । कार्ड वितरणका लागि तयार भएपछि कार्यालयको आधिकारिक माध्यमबाट सूचना प्रकाशित गरिने इटहरी कार्यालयले जनाएको छ ।

 

विभागले कार्ड छाप्ने र एपमा सूचना दिने काम गरे पनि वितरणको अन्तिम विन्दुमा रहेको यातायात कार्यालयको आन्तरिक व्यवस्थापन र हुलाकको ढुवानीमा लाग्ने समयले गर्दा अन्योल सिर्जना भएको देखिन्छ । यसरी नागरिक एप वा विभागको वेबसाइटमा कार्ड छापिएको छ भन्ने जानकारी देखेकै भरमा सम्बन्धित कार्यालयले सार्वजनिक गरेको सूचनामा नाम रहेको यकिन नगरी जाने केही सेवाग्राही रित्तै फर्किन बाध्य भएका हुन् ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ १६:५८