सरकारी स्तरमा पहिलो पटक ३६ घण्टे ह्याकाथन गर्दै नेपाल प्रहरी, विजेतालाई १ लाख पुरस्कार
जेठ २, २०८३ १२:४५
काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्तरमा पहिलो पटक प्रविधिमा आधारित ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलस्थित प्रहरी तालिम केन्द्रमा आगामी ३०-३१ जेठमा ३६ घण्टे ‘ह्याक फर सेफ्टी’ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सरकारी निकायबाट नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमले प्रविधिको प्रयोगमार्फत सार्वजनिक सुरक्षा सुदृढ बनाउने र प्रहरीप्रति सामुदायिक विश्वास अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
प्रहरी निरीक्षक उज्ज्वल खड्काले शान्ति-सुरक्षा र अमनचयन कायम राख्ने जिम्मेवारी प्रहरीको मात्र नभई यसमा नागरिक पनि उत्तिकै महत्त्वपूर्ण सरोकारवाला रहेको बताए । “प्रविधिका माध्यमबाट प्रहरी र जनतालाई थप नजिक ल्याउन हामीले यो पहल गरेका हौँ,” उनले भने ।
यस प्रतियोगितामा देशभरका डेभलपर, प्रोग्रामर र प्रविधिमा रुचि राख्ने जोकोहीले निःशुल्क सहभागिता जनाउन सक्नेछन् । सहभागीहरू तीनदेखि चार जनाको समूहमा रही प्रतिस्पर्धा गर्नुपर्नेछ । व्यक्तिगत रूपमा दर्ता हुन चाहनेहरूलाई पनि समूह निर्माणका लागि आयोजकले सहजीकरण गरिदिने बताइएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई एक लाख रुपैयाँ नगद पुरस्कार र सरकारी प्रमाणपत्र प्रदान गरिनेछ । साथै, उत्कृष्ट ठहरिएको परियोजनालाई लुम्बिनी प्रदेश प्रहरीसँग थप सहकार्य गर्ने अवसर समेत प्राप्त हुने प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
यो कार्यक्रम पूर्ण रूपमा भौतिक उपस्थितिमा सञ्चालन हुनेछ । सहभागीहरूका लागि कार्यस्थल, खाना र खाजाको व्यवस्था आयोजकले नै गर्नेछ भने सहभागीले आफ्नो ल्यापटप र आवश्यक प्राविधिक उपकरण आफैँले व्यवस्था गर्नुपर्नेछ ।
करिब २० देखि २५ ओटा टोली छनोट गर्ने तयारी प्रहरीको छ । कार्यक्रममा साइबर ब्युरो र प्रहरी प्रधान कार्यालयका विज्ञहरूले मेन्टरको भूमिका निर्वाह गर्नेछन् ।
दर्ताका लागि आगामी ३-४ दिनभित्र आधिकारिक लिङ्क सार्वजनिक गरिने र सोहीमार्फत कार्यक्रमको विस्तृत तालिका एवं निर्णायक मण्डलको विवरण उपलब्ध गराइनेछ ।
यस सम्बन्धमा थप जानकारीका लागि लुम्बिनी प्रदेश प्रहरीले छुट्टै वेबसाइट समेत सञ्चालनमा ल्याएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८३ १२:४५
