close

सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर होटलहरूमा यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

टेकपाना टेकपाना

जेठ २६, २०८३ २१:४१

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने गिरोहका १६ जना पक्राउ परेका छन् । यो गिरोहले फेसबुक, ह्वाट्सएप लगायतका डिजिटल माध्यमको प्रयोग गरी युवतीहरूको फोटो तथा भिडिओ पठाएर ग्राहकहरूसँग मोलमोलाइ गर्ने गरेको पाइएको छ ।

ग्राहकसँग सेटिङ मिलेपछि ट्याक्सी तथा निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतलीका विभिन्न होटलहरूमा पुर्‍याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्ने मुख्य व्यक्तिहरूमा मकवानपुरको मनहरी गाउँपालिका-२ घर भई हाल काठमाडौं बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन रहेका छन् । यस्तै, सर्लाही लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान र काठमाडौं महानगरपालिका-९ शम्भुमार्ग बस्ने राजकुमार गौतमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले अन्य १२ जना महिलाहरूलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङ रहेका छन् ।

प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखी थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ २१:५५