Now Reading
यसकारण माइक्राेसफ्टको जागिर छाडेँ

यसकारण माइक्राेसफ्टको जागिर छाडेँ

कार्तिक २, २०७६

मेरो परिवारको पृष्ठभुमी नै लामो समयदेखि यातायात क्षेत्रसँग जोडिएको छ । हाम्रो परिवार पछिल्लो २० वर्षयता सार्वजनिक यातायातको क्षेत्रमा छ । व्यक्तिगत रुपमा पनि म सार्वजनिक सवारीसाधन नै प्रयोग गर्छु ।
वास्तवमा ‘सेयर्ड ट्रान्सपोर्टेशन’ वातावरणीय हिसावले पनि राम्रो हो ।

अहिले पनि हाम्रो परिवारको दुईओटा माइक्रो छ । यसरी भन्ने हो भने मलाई तीनै तिरको पीडा थाहा छ भनौँ । एउटा यातायात कम्पनीको । अनि बाँकी सवारी धनीको र सार्वजनिक सवारीसाधन प्रयोगकर्ताको तर्फको ।
मलाई जहिले पनि माइक्रो चढ्दा वा सार्वजनिक सवारीसाधन चढ्दा यो क्षेत्रमा सुधार आवश्यक छ भन्ने लाग्थ्यो । गाडीभाडा तिर्न डिजिटल भुक्तानी गर्नुपर्छ भन्ने सोच्थेँ । कति गाडीका सहचालकहरुको किचकिच सहिराख्नु भन्ने कुराहरु दिमागमा आइरहन्थ्यो ।


मेरो पेशागत पृष्ठभुमि कम्प्युटर इन्जिनियरिङ हो । जहिले पनि प्राविधिक क्षेत्रको कामका लागि विदेशी कम्पनीमै के झुण्डिरहनु भन्ने लाग्न थाल्यो । बरु नेपालकै विभिन्न क्षेत्रको सुधारका लागि आफ्नो प्राविधिक क्षमता प्रयोग किन नगर्ने भन्ने प्रश्नले दिमागमा हल्लाई रहन्थ्यो । यसैबीच मैले माइक्रोसफ्ट इन्नोभेसन सेन्टरकोे सात वर्षे लामो जागिर छोडेर आफ्नै निजी कम्पनी सुरु गर्ने निधो गरेँ । अहिले कम्पनी सुरु गरेको नौ महिना पुरा भयो ।


कम्पनी खोलेर हामीले सार्वजनिक यातायातको क्षेत्रमा सुरुमा अनुसन्धान गर्न थाल्यौँ । नेपाल विश्वमै ‘ग्रीन सिटी’ (हरित सहर) को अग्रणी रहेछ भन्ने कुरा पनि हामीले त्यसैक्रममा थाहा पायौँ । विश्वमै सबैभन्दा बढी तादादमा सुरुमा नेपालले विद्युतीय सवारीसाधन थालेको रहेछ । १९९७ मा ट्रली बस सुरु गरेको नेपालले दोश्रो खुड्किलोको रुपमा २० वर्ष अघि सात सय ओटा सफा टेम्पो सञ्चालनमा ल्यायोे । त्यसताका विश्वको कुनै पनि शहरमा यति धेरै संख्यामा विद्युतीय सवारीसाधन प्रयोग भएकै थिएनन् ।


बिडम्बना, बुझ्दै जाँदा यो क्षेत्र खस्किँदो अवस्थामा रहेछ । सफा टेम्पोहरु महिलाकै स्वामित्वमा छन् र उनीहरु आफैले नै चलाउँदै आएका छन् । वित्तीय पहुँच सहज नभएकै कारण यति राम्रो अवधारणा खस्कँदो अवस्थामा पुगेको छ । उहाँहरुले २० वर्ष पुरानो ‘लिड एसिड ब्याट्री’ (पानी हाल्नुपर्ने ब्याट्री) कै प्रविधि प्रयोग गरिरहनु भएको छ । साढे तीन लाख रुपैयाँदेखि चार लाख रुपैयाँ मूल्य पर्ने त्यो ब्याट्री ६ महिनामै बिग्रिने भएकाले उहाँहरु समस्याग्रस्त अवस्थाबाट गुज्रिरहनु भएको छ ।


एउटा बोझ जस्तो भएपछि सफा टेम्पोधनीहरुले त्यसलाई अहिले ‘ढ्याङ्ग्रो’ भन्ने गर्नुभएको रहेछ । थन्क्याएर राखे पनि बिग्रिने । चलाउँदा पनि लगानीको तुलनामा आम्दानी नहुने भएकाले घाटामा जाने ।


नयाँ प्रविधिको ब्याट्री अलि महंगो छ । ऋणको विगत नभएका सवारीधनी महिलाहरुलाई बैंकले पनि नपत्याउने । न त उनीहरुसँग धीतोका लागि कुनै सम्पत्ति नै छ । यस्तो समस्या देखिसकेपछि हामीले ‘ग्रीन इनर्जी मोबिलिटी’को क्षेत्रमा किन काम नगर्ने भन्ने सोच्यौँ । त्यसैअनुसार उहाँहरुलाई सहज रुपमा वित्तीय सुविधा उपलब्ध गराउने योजनामा अगाडि बढ्यौँ ।


सुरुमै हामीले दश लाखको ऋण दिन त नसकौँला । सानो ऋणबाटै उनीहरुको ‘क्रेडिट सिस्ट्री’ बनाउँदै ‘क्रेडिट रेटिङ’ मार्फत वित्तीय प्रबृत्तिको डाटा आउँछ । यात्राको र व्यवहार सम्बन्धि डाटा आउँछ ।
यसो गर्न सकियो भने २० वर्षदेखि यो क्षेत्रलाई धानिरहेका उहाँहरुलाई विस्थापित हुन नदिने अवस्था बन्न सक्छ । उहाँहरुले अहिले तीन पाङ्ग्रे चलाईरहनुभएको छ भोलि गएर मिनिबस चलाउन सिकाउन सकिन्छ । विद्यूतीय ट्याक्सी भित्र्याउन सक्छन् ।


हामीले डिजिटल माध्यमबाटै ऋण प्रवाह गर्ने माध्यम मिलाउछाैँ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो लगानी कता गइरहेको छ भन्ने थाहा पाउँछन् । वित्तीय प्रभावको डाटा पनि तयार हुन्छ । सबैलाई मिलाएर बिग डाटा तयार पार्न सकिन्छ ।


हाम्रो यही सोँचलाई पहिचान गरेर संयुक्त राष्ट्र संघको वातावरणीय कार्यक्रमले ‘योङ च्याम्पियन अफ दि अर्थ’ को सम्मान दिएको छ ।। यसबाट एकदमै उत्साहित पनि छु ।


अब हामी पाइलट परियोजनाको रुपमा काम सुरु गर्ने तयारीमा छौँ । सफा टेम्पो कम्पनीसँग एउटा एमओयूमा पनि हस्ताक्षर भइसकेको छ । उहाँहरुको नेटवर्कमा दुई सय टेम्पोहरु छन् । हामीलाई सबै सफा टेम्पो समेट्न पनि धेरै गार्‍हो छैन ।


रातीको समयमा महिलाहरुलाई घर बाहिरका कार्यक्रममा निस्किनै अप्ठ्यारो अवस्था छ । ट्याक्सी महंगो छ, त्यसमाथि सुरक्षाको हिसावले पनि अलि गार्‍हो नै छ । हुन त पछिल्लो समय टुटल–पठाओले केही सहजता त दिलाएको छ । तर पनि रातिको समयमा अपरिचितसँग जान अलि अप्ठ्यारै लाग्छ । त्यसैले पनि महिला ड्राइभर भएका सवारीसाधनले रातिको समयमा महिला यात्रुहरुलाई सजिलो हुने अपेक्षा लिएका छौँ ।

See Also

यसबाहेक, कोलोनिमा बस्ने जेष्ठ नागरिकहरुलाई नियमित जस्तो अस्पताल पुग्नका लागि कुनै सहज किसिमको यातायातको विकल्प दिन सकिन्छ कि भन्नेतर्फ पनि सोचिरहेका छौँ । मध्यमस्तरका कम्पनीहरुमा काम गर्ने कर्मचारीहरुलाई पनि रातिको समयमा सवारीसाधन आवश्यक छ कि भन्ने आधारमा भिन्न भिन्न लक्षित समूहरुसँग अहिले अन्तरवार्ता गर्ने कामहरु भइरहेको छ । यसबाट महिला ड्राइभरहरुलाई वैकल्पिक आम्दानीको श्रोत पनि दिन सकिन्छ भन्ने लागेको छ ।


अहिलेको अवस्थामा विद्युतीय सवारीसाधनको जल्दोबल्दो उदाहरण भनेकै सफा टेम्पो नै हो । तर, त्यो क्षेत्र अहिलेसम्म पनि माथि उठ्न सकेन । २० वर्ष अघि सात सयको संख्याबाट सुरु भएका सफा टेम्पो अहिले पाँच सयको हाराहारीमा मात्र चलिहरेका छन् । बाँकी दुई सय त थन्किएर बसिरहेका छन् । सुरुमा सबै टेम्पोधनीहरु महिला थिए । अहिले आएर महिलाको संख्या दुई देखि तीन सय मात्र छ । बाँकी पुरुषको स्वामित्वमा गइसके ।


२० वर्ष पछि पनि यही सफा टेम्पो नै चलाउनुपर्छ भनेर वकालत गरिरहेका चाहिँ छनौँ । २० वर्षे अवधिलाई बढाएर अहिले ३० वर्षसम्म सफा टेम्पो चलाउन सकिने नियम बनेको छ । यो बाँकी रहेको १० वर्षको अवधिमा ठूला सवारीसाधनमा जान सकौँ भन्ने पनि हो । अहिले जसले विद्युतीय सवारीसाधनको क्षेत्र धानिरहेका छन्, उनीहरुलाई विस्थापित गरेर मात्रै नयाँ सुरुवात गर्नुपर्छ भन्ने छैन । उनीहरुकै प्रविधि र शैलीलाई स्तरिकृत गर्न सकिन्छ । तीन पाङ्ग्रे टेम्पो धनीहरुलाई चारपाङ्ग्रेमा जानसक्ने गरी क्षमता अभिबृद्धि गर्दै लैजान सकिन्छ । भोली गएर उनीहरुले विद्युतीय मिनिबस नै लिन सक्छन् । अन्ततः ठूला सवारीसाधन (मास ट्रान्सपोर्टेशन) मै जाने हाम्रो मूल धेय हो । यसरी अबको पाँच वर्षमा एक लाखलाई दीगो रुपमा राम्रो प्रभाव पार्न सकिन्छ भन्ने हाम्रो योजना छ ।


कतिपयले यसलाई बुकिङको माध्यम बनाउन सुझाई रहेका छन् । त्यसो गर्न सके सवारीधनीहरुको आम्दानीको डाटा सँगसँगै यात्रुहरुको यात्राको डाटा समेत तयार हुन्छ ।
सुरु नगर्दै यति धेरै सकारात्मक प्रतिक्रिया र सम्मान पाइरहेका छौँ । नेपाल भन्दा झट्ट हामी जहिले पनि हरियाली र हिमाल सोच्छौँ । तर धरातलको वास्तविकता भने अलिक भिन्नै छ । काठमाडौंको हावाको गुणस्तर सुरक्षितस्तरभन्दा तीन गुणा खराब छ । वायू प्रदूषणमा यातायातको निकै ठूलो भूमिका छ । यसलाई विद्युतीय बनाउने वित्तिकै वायूप्रदूषणलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।


हुन त हाम्रो प्रधानमन्त्री ज्यूले २०२० भीत्र २० प्रतिशत सार्वजनिक यातायातका साधनलाई विद्युतीय यातायात बनाउने भिजन अगाडि सार्नुभएको छ । त्यसैलाई निजी क्षेत्रले पनि साथ दिएर अगाडि बढ्नुपर्छ । अरु विकसित देशको तुलनामा नेपालको कार्बन उत्सर्जन दर निकै नै कम छ ।

तर, पछिल्लो समय हाम्रो प्रतिव्यक्ति कार्बन उत्सर्जनदर तीब्र रुपमा बढ्दै गएको तर्फ नजरअन्दाज गर्न भने मिल्दैन । यसलाई पनि नियन्त्रण गर्दै कार्बन न्यूट्रल मुलुक बन्नेतर्फ लाग्नुपर्छ । यसो हुन सकेको अवस्थामा हामी जलवायू परिवर्तनसँग जुध्न सक्छौँ ।

Facebook Comments
Scroll To Top