काठमाडौं । नेपालमा केही महिनादेखि 'नेपाली गर्ल' नामक मालवेयरको आतंक बढेको छ । सामाजिक सञ्जाल तथा मेसेजिङ एपमार्फत फैलिएको यो मालवेयरले बैंक खाता रित्याउने गरेको विभिन्न व्यक्तिको दाबी छ ।
यो मालवेयर मोबाइल एप्लिकेसनको रूपमा देखिने भए पनि एप देखिने ठाउँमा उपलब्ध हुँदैन । अर्थात् यो मालवेयर डाउनलोड भइसकेपछि हाइड हुन्छ । जसले गर्दा हामीलाई यस फाइलले के के काम गरेको छ भन्ने केही जानकारी हुँदैन । आज हामी तपाईँको डिभाइसमा यो मालवेयर डाउनलोड भए नभएको कसरी थाहा पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।
साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालले 'नेपाली गर्ल' बारे गरेको विश्लेषणका आधारमा हामी उक्त मालवेयर भए नभएको पत्ता लगाएर कसरी अनइन्स्टल गर्न सकिन्छ भन्ने विषयबारे जानकारी दिँदैछौँ ।
- सबैभन्दा पहिले डिभाइसको सेटिङ एप खोल्नुहोस् ।
- त्यसपछि सर्चबारमा 'पर्मिसन' (Permission) सर्च गर्नुहोस् ।
- त्यहाँ देखिएको पर्मिसन/ अल पर्मिसन/ अदर परमिसन (Permission/All permission/Other Permission) को अप्सनमा क्लिक गर्नुहोस् ।
- अनि, त्यहाँ एक्सेसिबिलिटी (Accessibility) को अप्सनमा जानुहोस् ।
- त्यहाँ गएर कुन कुन एपले एक्सेसिबिलिटीको पर्मिसन लिएका छन् हेर्न सकिन्छ ।
टेकपानासँगको अन्तर्वार्तामा क्रिप्टोजेन नेपालका संस्थापक तथा सीटीओ निर्मल दाहाल र अफेन्सिभ लिड हेड निरज खरेलले यस मालवेयरका लागि 'एक्सेसिबिलिटी' पर्मिसन सबैभन्दा मुख्य कुरा भएको बताएका छन् ।
उनीहरूका अनुसार एक्सेसिबिलिटीको पर्मिसन (मोबाइलको पहुँच पाउनको लागि दिइने अनुमति) पाउनसाथ एप आफैले फोनलाई नियन्त्रण गर्न सक्छ । त्यसैले एक्सेसिबिलिटी पर्मिसनमा हेर्दा उक्त मालवेयर डाउनलोड भए नभएको हेर्न सकिन्छ ।
कतिपय डिभाइसमा एक्सेसिबिटलिटीको अप्सन सोझै नदेखिन सक्छ । यो अप्सन स्पेसल पर्मिसन वा सेन्सेटिभ पर्मिसन जस्ता सेक्सनमा भेटिन सक्छन् ।
त्यसबाहेक पनि एपले अन्य थुप्रै पर्मिसन लिएको हुन्छ । प्रयोगकर्ताको बैंक अकाउन्टमा पहुँच पाउन उक्त एपले मेसेजको पर्मिसन लिएको हुन्छ । त्यसैले यस्ता पर्मिसन हेरेर पनि एप इन्स्टल भए नभएको हेर्न सकिन्छ ।