close

जमलमा हराएको इयरबड ट्रयाक गर्दैजाँदा कलङ्कीमा राइडरको साथबाट यसरी भेटियो

टेकपाना टेकपाना

बैशाख १९, २०८१ ११:४०

जमलमा हराएको इयरबड ट्रयाक गर्दैजाँदा कलङ्कीमा राइडरको साथबाट यसरी भेटियो

काठमाडौं । ब्याग, चाबी, स्मार्टफोन अथवा अन्य कुनै सामान ट्रयाक गरेर फेला परेकाे घटना हामीले बेलाबखत सुनिरहेका हुन्छौं । स्मार्टफोनका कतिपय फिचरले गर्दा हराएका मानिस फेला परेका घटना सतहमा आइरहेका हुन्छन् । कतिपय आपत्कालीन अवस्थामा त झन् मान्छेको ज्यानै जोगिएका घटना पनि समाचारको रूपमा पढिरहेका हुन्छौं । 

केही समयअघि एक अमेरिकी महिलाले आफ्नो हराएको इयरपड्स ट्रयाक गर्दै जाँदा विमानस्थलमा काम गर्ने कर्मचारीको घरमा फेला पारेकी थिइन् । त्यस्तै एउटा घटना नेपालमा पनि भएको छ । 

धुलिखेल घर भइ हाल जोरपाटी बस्दै आएका दिपेश श्रेष्ठले गएको मङ्गलबार १८ बैशाखमा ‘फाइन्ड माई इयरबड्स’ फिचर प्रयोग गरेर आफ्नो हराएको इयरबड्स फेला पारेका छन् । 

गत महिना नेपालमा सामसङको बहुप्रतिक्षित फोन ग्यालेक्सी एस २४ सार्वजनिक हुँदा श्रेष्ठले अल्ट्रा मोडेल खरिद गरेका थिए । त्यससँगै उनले १६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी बड्स टु पनि किने । त्यसपछिका दिनमा उनी त्यो इयरबड प्रयोग गर्दै आइरहेका थिए ।  

“दिउँसोको १ बजेतिरको कुरा हो, जमलतिर जाने काम पर्‍यो,” घटनाको बेलिविस्तार लगाउँदै श्रेष्ठ भन्छन्, “पछिल्लो समय बाइकमा यात्रा गर्दा इयरबड्स अनिवार्य जस्तै बनेको थियो । केही गरी छुट्यो भने दिन बेक्कार जस्तै लाग्छ । सायद निरन्तर प्रयोग गरिरहने भएकाले पनि त्यस्तो लागेको हुन सक्छ । जमल जाने क्रममा इयरबड्स कानमा राखेर हेल्मेट लगाएँ, अनि आफूलाई मन पर्ने गीत बजाएर बाइक चढें ।”

उनी जमल पुगेपछि त्यहाँ चोक नजिक बाइक पार्क गरे । त्यहीं नजिकै एउटा पसलमा लुगाको सेल चलिरहेको थियो । उनी हेलमेट निकालेर त्यो पसलमा गए । “पसलमा ३०/४० जना जति आएका थिए । झन्डै १५ मिनेट जति बसेपछि म पुनः बाइक भएकै ठाउँमा फर्किएँ,” उनी भन्छन् । 

बाइक चढ्नुअघि हेल्मेट लगाउन खोजिरहेका उनलाई दायाँपट्टिको कान हलुका लाग्यो । “कान छामें, इयरबड्स गायब छ । बाइक पार्क गरेकै ठाउँमा भेटिन्छ कि भनेर केही समय वरिपरि खोजें, तर भेटिएन । फेरि पहिलेकै पसलमा गएर सोध्ने योजना बनाएँ,” उनी थप्छन् । 

उनको एक मनलाई लाग्यो त्यहाँ त्यतिका मान्छे थिए, के भेटिएला ? अर्को मनले भन्यो भेटिई पो हाल्छ कि भनेर सोध्न प्रेरित गर्‍यो । उनी पसलमा गए । ‘यता कतै यस्तो अर्को इयरबड देख्नु भयो कि ?’ भन्दै बायाँ इयरबड देखाएर सोधे । त्यहाँ कसैले नभेटिएको जवाफ दिए । श्रेष्ठको मनमा भेटिन्छ भन्ने आश मर्दै गयो ।   

उनी अब के गर्ने होला भनेर सोच्न थाले । फोनमा अरू केही अप्सन भेटिन्छ कि भन्ने आशा थियो, उनको मनमा । उनी इयरबड्स भेटिने अप्सन खोज्न फोनको सेटिङ स्क्रोल गर्न थाले । “मेरो फोनमा होमपेज स्लाइड गर्दा खुल्ने अर्को पेजमा इयरबड्सको विजेट छ । त्यहाँ इयरबड कनेक्ट भए नभएको थाहा हुन्छ । उक्त विजेटमा क्लिक गर्दा इयरबडको सेटिङ खुल्छ,” उनी भन्छन् । 

इयरबड्सको सेटिङमा गएपछि उनले त्यहाँ ‘फाइन्ड माई इयरबड्स’ भन्ने अप्सन देखे । र, त्यसैमा ट्याप गरे । “पहिले त्यो अप्सन खासै ख्याल गरेको थिइनँ,” उनी सुनाउँछन्, “आवश्यक परेपछि एक्सप्लोर गर्दै जाँदा त्यो अप्सन भेटेको थिएँ । त्यसमा ट्याप गर्दा कुन इयरबड कुन ठाउँमा छ भनेर म्यापमा देखिने रहेछ ।”

त्यत्तिकैमा उनको हराएको दायाँपट्टिको इयरबड कालिमाटी तिर देखायो भने अर्को बायाँपट्टिको इयरबड उनीसँगै देखायो । जति पटक म्याप रिफ्रेश गर्थे, त्यो इयरबडको लोकेसन कलङ्की तिर सरिरहेको देखिन्थ्यो । 

त्यसबाट कुनै बाइक राइडरले सो इयरबड फेला पारेर लगेको भन्ने अनुमान लगाउन उनलाई गाह्रो भएन, “मलाई त्यो इयरबड अब भेटिएला भन्ने आश लागेकै थिएन । भान्जालाई मेसेज गरेर इयरबड हराएको कुरा सुनाइसकेको थिएँ । अनि इयरबड पाउने स्टोरमा समेत मेसेज गरेर आफूले नयाँ इयरबड लिन खोजेको र केही समयमै आउँछु भनेर जानकारी गराएँ ।” 

तर, उनका भान्जाले मेसेज रिप्लाई गरेर लोकेसनमा देखाएको छ भने जानु न त भनेर सुझाव दिए । उनलाई त अब के जानु भन्ने लागिसकेको थियो । उनका भान्जाले बढी नै जोड गरेपछि ‘बाइक छ, जाउँ न त’ भन्ने सोचेर उनी इयरबडको लोकेसन देखिएकै ठाउँतिर लागे । 

अन्तिममा इयरबडको लोकेसन कलङ्की नजिक देखियो । उनी त्यहाँ पुग्दा इयरबड उनको डिभाइसमा कनेक्ट पनि भयो । कनेक्ट हुनासाथ अब इयरबड भेटिने भयो भनेर उनको मन फुरुङ्ङ भयो । श्रेष्ठ भन्छन्, “अब त भेटियो भन्ने लागेर मन उत्साहित पनि भयो । तर, समस्या के थियो भने कोसँग छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था थिएन । किनभने त्यो राइड शेयरिङका राइडर रोकिने ठाउँ रहेछ । झन्डै १०/१२ जना जति रोकिएका थिए ।”

१ बजे हराएको इयरबड खोज्दा खोज्दा त्यतिबेलासम्म पौने तीन बजिसकेको थियो । उनी केहीबेर त्यहाँ पर्खेर इयरबडको लोकेसन कता कता देखाउँछ भन्ने हरिरहेका थिए । अन्तिममा त्यहाँ तीन जना राइडर मात्र बाँकी भए । श्रेष्ठलाई अब त्यो इयरबडबारे सोध्दा केही परक पर्दैन भन्ने लाग्यो । त्यतिबेलासम्म पनि इयरबडको लोकेसन त्यही लोकेसनमै देखाइरहेको थियो । 

उनी सुनाउँछन्, “त्यहाँ उभिएका राइडरहरूसँग मैले ‘मेरो इयरबड कसैले भेटाउनु भएको छ ?’ भनेर सोधें । एक जना राइडरले गोजीबाट इयरबड निकालेर यो हो भनेर सोध्नुभयो । मैले ‘हो’ भन्ने जवाफ दिएँ । ‘तिम्रै हो भन्ने के प्रमाण छ ?’ भनेर उहाँले सोध्नुभयो । मैले बट्टा र बायाँपट्टिको इयरबड देखाएँ । अनि उहाँले इयरबड मलाई दिएर कसरी फेला पार्नु भयो भनेर सोध्नुभयो । मैले सबै कुरा उहाँलाई पनि सुनाएँ ।” 

पछि उनले आफ्ना भान्जालाई पनि इयरबड भेटिएको खबर सुनाए । इयरबड भेटिएकोमा श्रेष्ठभन्दा बढी उनका भान्जा दङ्ग थिए । उनका भान्जा भन्छन्, “जीपीएस पनि राखे जस्तो लाग्दैन । कनेक्टिभिटी पनि त्यति टाढासम्मको कसरी कायम भयो होला भन्ने लाग्यो । तर, सानो डिभाइसमा पनि कति स्तरीय प्रविधि राखिएको रहेछ ।”

अहिले स्तरीय मानिएको स्मार्टफोन हरायो भने पनि भेटाउन गाह्रो छ । फेला पार्ने मान्छेले स्वीच अफ गरेर सिम निकाली राख्यो भने त फोन भेटिने आशै हुँदैन । झन इयरबड त के भेटिएला भन्ने श्रेष्ठलाई लागेको थियो । त्यतिका मान्छे ओहोर दोहोर गर्ने बाटो, त्यतिका मोटर चल्ने बाटो कसैले कुच्लिंदा टुटी सक्यो कि भन्ने अर्को शङ्का पनि उनको मनमा थियो । 

तर, स्मार्टफोनमै रहेको एउटा ‘फाइन्ड माई इयरबड्स’ भन्ने फिचर प्रयोग गर्दा आशा मारिसकेको आफ्नो इयरबड फेला पार्न सकेको खुसी श्रेष्ठले साँटे । प्रविधिले दिने सहजता बारे सोच्दा उनी बेलाबखत आफैं दङ्ग भइरहेका हुन्छन् ।

“कहिलेकाहीं प्रविधिका रोचक उपयोगिता बारे थाहा पाउँदा पनि रमाइलो लाग्ने रहेछ । मलाई मेरो हराएको इयरबड्स भेटिएला भन्ने एक रत्ति विश्वास थिएन । तर, इयरबड्सको एउटा सानो फिचरले गर्दा भेट्न सफल भएँ,” उनी भन्छन्, “इयरबड्स भेटिनुको खुसी आफ्नै ठाउँमा छ, तर त्यो भन्दा बढी खुसी प्रविधिको सदुपयोग गर्न जानेकोमा मिलेको छ ।” 

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८१ १३:३९