close

बिहीबार ६ घण्टा इन्टरनेट अवरुद्ध हुँदा कसरी चलिरहेको थियो आईपीटिभी ?

टेकपाना टेकपाना

बैशाख २१, २०८१ १२:१०

बिहीबार ६ घण्टा इन्टरनेट अवरुद्ध हुँदा कसरी चलिरहेको थियो आईपीटिभी ?

काठमाडौं । बिहीबार अपराह्न चार बजेदेखि छ घण्टाभन्दा बढी नेपालको अधिकांश इन्टरनेट सेवा प्रभावित हुँदा आईपीटिभी भने निर्बाध रूपमा चलिरहेको थियो । इन्टरनेट नचल्ने तर त्यही अप्टिकल फाइबरको तारबाट आउने आईपीटिभी भने चल्ने देखेर कतिपय प्रयोगकर्ता अचम्मित समेत बने । 

यस्तोमा कतै इन्टरनेट सेवा प्रदायक कम्पनीहरू आफैंले नै इन्टरनेट नचल्ने बनाएका त होइनन् ? यस किसिमको आशङ्का समेत सामाजिक सञ्जालमा देखिएको थियो । आखिरमा यस्तो अवस्था कसरी आउन सक्छ ? 

इन्टरनेट प्राविधिक तथा जानकारहरूसँग हामीले यस विषयमा बुझ्ने प्रयास गरेका छौं । उनीहरूका अनुसार इन्टरनेट सेवा अधिकांश रूपमा अन्तर्राष्ट्रिय ब्यान्डविथमा निर्भर रहेको हुन्छ । यद्यपि त्यसको केही हिस्साको रूपमा नेपालभित्र रहेका क्याश शर्भर तथा सीडीएन (कन्टेन्ट डेलिभरी नेटवर्क) ले समेत काम गरिरहेका हुन्छन् । 

तर आईपीटिभी भने लोकल कन्टेन्टको रूपमा नेपालभित्रैबाट इन्टरनेट नेटवर्कमा जोडिएको हुन्छ । जसले गर्दा यसका लागि इन्टरनेटको अन्तर्राष्ट्रिय ब्यान्डविथ त्यति आवश्यक नपर्ने ती प्राविधिकहरूले बताए । “नेपाली टिभी च्यानलहरूको कन्टेन्ट नेपालभित्रै तयार हुन्छ,” उनले भने, “विदेशी च्यानल पनि स्याटलाइटबाट नेपालमा डाउनलिङ्क गरी देशभित्रको इन्टरनेट नेटवर्कमार्फत प्रवाह हुनेगरी जोडिएको हुन्छ ।”

यस हिसाबले अन्तर्राष्ट्रिय ब्यान्डविथ नआएर इन्टरनेट पूर्णतः बन्द भए पनि आईपीटिभी भने चलिरहन सम्भव रहेको देखिन्छ ।

 

लिङ्क काटिए पनि इन्टरनेट पूर्णतः ब्ल्याक आउट नभएर सुस्त किन भयो ?

इन्टरनेट सेवा प्रदायकहरूले भारतमा रहेका विभिन्न अपस्ट्रिम सेवा प्रदायकहरूबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्ने गरेका छन् । तर बिहीबार भने एयरटेलले अन्तर्राष्ट्रिय लिङ्क काटिदिएकाले नेपालमा इन्टरनेट सेवा प्रभावित भएको हो ।  

एयरटेलसँगै अन्य अपस्ट्रिम सेवा प्रदायकसँग पनि इन्टरनेट सेवा प्रदायक जोडिएका हुन्छन् । जसमा टाटा, लाइट स्ट्रोम टेलिकम, पीसीडब्लू लगायत रहेका छन् ।  यद्यपि नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथ मध्ये ९० प्रतिशत एयरटेलमै निर्भर रहेको छ ।

एयरटेलले चरणबद्ध रूपमा अन्तर्राष्ट्रिय लिङ्क विच्छेद गर्ने कार्य गरे पनि थोरै मात्रामा भए पनि अन्य अपस्ट्रिम सेवा प्रदायकबाट ब्यान्डविथ आइरहेकै थियो । अर्को तर्फ गुगल, फेसबुक, अकामाई जस्ता क्याश सर्भरहरू नेपालभित्रै राखिएका छन् । यी दुवै कारणले गर्दा इन्टरनेट सेवा पूर्णतः ठप्प नभई सुस्त हुन पुगेको बताइएको छ । यद्यपि एयरटेलमा मात्रै निर्भर कुनै सेवा प्रदायकको इन्टरनेट भने पूर्णतः नचल्ने अवस्था समेत आएको हुन सक्छ । 

 

कतै इन्टरनेट सेवा प्रदायक आफैंले सेवा प्रभावित तुल्याएका त होइनन् ?

यस्तो आशङ्का केही प्रयोगकर्तामा मात्र नभएर नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सरकारलाई समेत थियो । त्यसैले बिहीबार इन्टरनेट सेवा अवरुद्ध भएको समयमा नियामकको एक टोलिले प्रमुख केही इन्टरनेट सेवा प्रदायकमा स्थलगत निरीक्षण तथा अनुगमन समेत गरेको पाइएको छ । 

इन्टरनेट सेवा अवरुद्ध हुँदा सम्बन्धित सेवा प्रदायक आफैंलाई समेत समस्यामा पारेको थियो । एकै पटक विभिन्न सेवा प्रदायकको इन्टरनेट सेवा प्रभावित भएको थियो । जसमा वर्ल्डलिङ्क, भायानेट, सिजी, वेबसर्फर, सुबिसु लगायतको सेवा थियो ।  

नियामकले ती मध्ये केही सेवा प्रदायकमा अनुगमन टोली पठाएको थियो । अनुगमनका क्रममा उक्त टोलीले सेवा प्रदायकको डिभाइसमा लगइन गरेर कुन कुन अपस्ट्रिमसँग कनेक्सन छ भन्ने विषय जाँच गरेको थियो । “कुन कुन डाउन छ, कुन समयमा डाउन भएको हो, कनेक्टेड डिभाइसमा लगइन गरेर त्यसको लग फाइल, बीजीपी (बोर्डर गेटवे प्रोटोकल) अप छ कि डाउन छ चेक गर्ने, आदि जाँच गरेर फर्किएको थियो,” एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकले भने । त्यसपछि एयरटेलसँगको कनेक्टिभिटी डाउन भएको देखियो । 

इन्टरनेट सेवा प्रदायक आफैंले सेवा डाउन गरेको भए एड्मिन डाउन भएको देखिन्छ । तर अपस्ट्रिमले डाउन गरेका कारण बिजीपी नै डाउन भएको देखिएको प्राधिकरणको निरीक्षण टोलीका एक सदस्यले भने । 

“हामीले एयरटेलसँगको प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी लाइभ छ कि छैन भन्ने कुरा निश्चित गर्न पिङ र ट्रेस रिपोर्ट भेरिफाई गरेर पनि हेरेका  थियौं,” उनले भने, “त्यसबाट बिहीबारको इन्टरनेट प्रभावित हुनुमा अपस्ट्रिम प्रदायकले नै कनेक्सन लिङ्क टुटाएको देखियो ।” 

एयरटेलले लामो समयदेखि नियमित रूपमा भुक्तानीका लागि इन्टरनेट सेवा प्रदायकलाई ताकेता गर्दै आएको थियो । तर सरकारले विवादित बक्यौताको कारण देखाउँदै उनीहरूले अपस्ट्रिम प्रदायकलाई पठाउनु पर्ने रकमका लागि विदेशी मुद्रा सटहीको सिफारिस दिन इन्कार गर्दै आएको छ । जस कारण विगत एक वर्षदेखि अपस्ट्रिम प्रदायकले नेपालका इन्टरनेट सेवा प्रदायकबाट करिब तीन अर्ब रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । 

बिहीबार दिउँसो १ बजेको समयमा पनि एयरटेलले ईमेलमार्फत कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी सेवा प्रदायकहरूलाई दिएको बुझिएको छ । 

“एयरटेलको सेन्ट्रल क्रेडिट कन्ट्रोल युनिटबाट हामीलाई त्यस्तो ईमेल आएको थियो, सायद सोही समयमा अन्य सेवा प्रदायकलाई समेत आएको हुनुपर्छ,” एक सेवा प्रदायकका सञ्चालकले भने, “उहाँहरूको सिनियर लेभलकै निर्णयबाट अन्तर्राष्ट्रिय लिङ्क काटिएको बुझियो ।” 

इन्टरनेट सेवा नै अवरुद्ध भएपछि सेवा प्रदायकहरूको साझा संस्था आइस्पानले निरन्तर रूपमा सेवा पुनस्थापनाका लागि एयरटेलसँग कुराकानी गरिरहेको बुझिएको छ । त्यसै क्रममा सरकारको तर्फबाट पनि भारत सरकार तथा त्यहाँका अपस्ट्रिम सेवा प्रदायकसँग कुनै संवाद भएको हुनसक्ने ठानिएको छ ।

त्यसो त सहकार्य नगर्दा वा लचिलो नबन्दा बाँकी रहेको तीन अर्ब रुपैयाँ भुक्तानी उठ्न नसक्ने जोखिम समेत एयरटेलले देखेर सेवा पुनःस्थापना गरिदिएको हुन सक्ने अनुमान गरिएको छ । भुक्तानी सम्बन्धी जारी विवाद दुई साताभित्र समाधान हुने र मुद्रा सिफारिस गरिदिने आश्वासन एयरटेललाई दिइएको बताइएको छ । यसरी राति साढे १० बजेतिर मात्रै इन्टरनेट सेवाः नियमित रूपमा सञ्चालनमा आएको थियो । 

 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ १२:११