close

काठमाडौंमा यूपीआईमार्फत सञ्चालित फोनपे भारतका भुक्तानी सेवाको प्रदर्शनी

टेकपाना टेकपाना

बैशाख २१, २०८१ १६:५२

काठमाडौंमा यूपीआईमार्फत सञ्चालित फोनपे भारतका भुक्तानी सेवाको प्रदर्शनी

काठमाडौं । भारतीय डिजिटल भुक्तानी एवं वित्तीय सेवा कम्पनी फोनपे (PhonePe)ले हालै काठमाडौंमा यूपीआई प्लेटफर्मबाट सञ्चालित आफ्ना भुक्तानी सेवाहरूको प्रदर्शनी गरेको छ । नेपालका वित्तीय क्षेत्रका प्रमुख सरोकारवाला तथा व्यापारिक क्षेत्रका प्रतिनिधि सहभागी रहेकाे उक्त कार्यक्रममा अन्तरदेशीय क्यूआर भुक्तानीका सम्बन्धमा प्रविधि प्रदर्शनी एवं छलफल भएको छ ।

नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्कले यस कार्यक्रमलाई सहयोग गरेको थियो । फोनपे नेटवर्कले नेपाल-भारत अन्तरदेशीय यूपीआई अन्तरआवद्दताका लागि एनआईपीएलसँग साझेदारी गरेको छ ।

सोही कार्यक्रममा आयोजित प्यानल छलफलमा नेपालको डिजिटल अर्थतन्त्र र वित्तीय क्षेत्रमा यूपीआईको सम्भावना र प्रभावबारे चर्चा गरिएको थियो । यसबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र नगदरहित भुक्तानीहरूलाई सहजीकरण गर्ने विश्वास लिइएको छ ।​

सो अवसरमा फोनपे भारतका कार्यकारी अधिकृत रितेश पाईले फोनपेको यात्रा र यूपीआई सञ्चालित भुक्तानी प्रणालीको विकासबारे प्रस्तुति दिएका थिए । प्रस्तुतिमा भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा हुने समाधानलाई उजागर गरिएको थियो ।

केही समयअघि मात्रै फोनपे भारत र नेपालको फोनपे नेटवर्कबीच नेपाल-भारत अन्तरदेशीय यूपीआई अन्तरआवद्धताका लागि साझेदारी भएको थियो । यसबाट भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा पुग्ने बताइएको छ ।

अब, भारतीय पर्यटकहरुले नेपालमा फोनपे क्यूआर भएका स्थानमा यूपीआई आधारित एपबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । यसले नेपाल र भारत बीचको पर्यटन र व्यापारलाई थप सहज बनाउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ १६:५२