close

निर्वाध रूपमा इन्टरनेट उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणको निर्देशन

टेकपाना टेकपाना

बैशाख २१, २०८१ १८:२४

निर्वाध रूपमा इन्टरनेट उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई निर्वाध रूपमा भरपर्दो एवं गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउन इन्टरनेट सेवाप्रदायकहरूलाई निर्देशन दिएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नियामक प्राधिकरणले सेवा उपलब्ध नगराउने सेवाप्रदायकहरूलाई दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । 

बिहीबार केही इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवा अवरुद्ध भएपछि आफूले समन्वय गरी केही समयभित्रै इन्टरनेट सेवा सुचारु गराएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले आफूले ब्याण्डविथ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरिदिँदा इन्टरनेट सेवा अवरुद्ध भएको भनी प्रकाशित समाचारहरूको खण्डनसमेत गरेको छ । 

“सेवाप्रदायकहरूले सेवा प्रदान गरे वापत कूल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था रहेकोमा धेरैजसो सेवाप्रदायकहरूले नियमानुसार तिर्नु बुझाउनु पर्ने रकम भुक्तान गरी निर्वाध रुपमा प्राधिकरणबाट विदेशी मुद्रा सिफारिस लगायतका सहजीकरणका सुविधाहरू लिइरहेको अवस्था रहेको छ,” विज्ञप्तिमा लेखिएको छ । 

तर सीमित सेवाप्रदायकहरूले वर्षौदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि बारम्बार ताकेता गर्दा समेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नगरेको प्राधिकरणको भनाइ छ । त्यस्तो अवस्थामा विदेशी मुद्रा सिफारिस गर्न नमिल्ने र उक्त विषय सम्मानित सर्वोच्च अदालतमा समेत विचाराधीन रहेकोले दूरसञ्चार जस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रूपमा लिन नसकिने प्राधिकरणले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ १८:३०