काठमाडौं । सर्च इन्जिनमा गुगलको प्रभुत्व हटाउन ओपनएआईले आफ्नै सर्च इन्जिन सार्वजनिक गर्नसक्ने चर्चा चुलिएको छ । सर्च इन्जिनका लागि आवश्यक पर्ने डोमेन नेम दर्ता भएसँगै यसको चर्चा चुलिएको हो ।
अहिले search.chatgpt.com नामक वेबसाइट दर्ता भइसकेको छ । यो पेज रन गर्दा भने 'नट फाउन्ड' अथवा '४०४ इरोर' आइरहेको छ । तर च्याटजीपीटीको नाम जोडिएकाले धेरैले ओपनएआईले सर्च इन्जिन ल्याउन सक्ने अनुमान गरेका हुन् ।
त्यस्तै आउँदो ९ मेमा कार्यक्रम नै गरेर ओपनएआईले आफ्नो नयाँ उत्पादनबारे जानकारी दिने पनि बताइएको छ । जुन मिति गुगल आई/ओ हुन केही समय अघि मात्रै हो । तर यसबारेमा ओपनएआईले आधिकारिक रूपमा केही पनि बताइएको छैन ।
ओपनएआईले आफ्नै सर्च इन्जिन ल्याए अनौठो भने हुँदैन । किनकी यस पनि माइक्रोसफ्टको बिङमा आधारित भएर ओपनएआईले आफ्नो सर्च इन्जिन विकास गरिरहेको समाचार बाहिरिएको थियो ।
यद्यपि उक्त सर्च इन्जिनले कसरी काम गर्छ भन्ने विषय निकै रोचक हुने देखिन्छ । कारण ओपनएआईको मुख्य लगानीकर्ता मध्येको एक माइक्रोसफ्टले समेत गुगल सर्च इन्जिनलाई टक्कर दिन सकेको छैन ।