close

फोटो खिचेरै बोट बिरुवाको नाम र विशेषता थाहा पाउन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी एप

टेकपाना टेकपाना

बैशाख २३, २०८१ १२:२९

फोटो खिचेरै बोट बिरुवाको नाम र विशेषता थाहा पाउन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी एप

काठमाडौं । मौसमलाई बेवास्ता गर्ने हो भने अहिले फूलहरूको ऋतु हो । बोट बिरुवामा नयाँ पालुवा पलाउने समय हो । यस्तोमा कतिपयलाई बिरुवाको नाम के हो भन्ने थाहा नहुन सक्छ । चाहे त्यो कोठाभित्र राखिने ‘इनडोर प्लान्ट’ हुन् या बाहिरका ।  

यो समस्या धेरै हदसम्म भएपनि समाधान गर्न सक्छन् प्लान्ट आईडेन्टिफिकेसन एपले । नामजस्तै ती एपको काम फोटोका आधारमा बिरुवाको पहिचान गर्नु हो । आज हामी यस्ता केही प्लान्ट आइडेन्टिफिकेसन एपबारे जानकारी दिँदै छौं: 

१. प्लान्ट नेट (PlantNet) 

यस एपबाट तपाईंले सजिलैसँग कुनै पनि बिरुवा पहिचान गर्न सक्नुहुन्छ । यसका लागि एपले म्याप, फ्लोरा (बिरुवा सम्बन्धी बोट) अथवा जीपीएस प्रयोग गर्ने गर्छ । यसले अलि चाँडो काम गर्न सक्छ ।

एन्ड्रोइड, आईओएसवेबमा एप चलाउन सकिन्छ ।  त्यस्तै ४५ बढी फ्लोरा र ४६ हजार बढी प्रजातिको डेटाबेस रहेको छ । यसमा बिरुवालाई थिम, भूगोल, विशेषता आदि आधारमा सर्च गर्न सकिन्छ । 

यसमा कुनै पनि बिरुवा पहिचान गर्न क्यामेराले फोटो खिच्नुपर्ने हुन्छ । यसाे गर्दा सकभर बिरुवा मात्रको फोटो भए राम्रो हुन्छ । त्यसपछि तपाईंले पहिचान गर्न सक्नुहुन्छ । 

२. आईनेचुरालिस्ट (iNaturalist) 

धेरै बिरुवाहरू थाहा पाउन खोजिरहेका प्रयोगकर्ताका लागि यो एप उपयुक्त हुन सक्छ । यसमा कुनै पनि प्रयोगकर्ताले बिरुवाको फोटो शेयर गर्छन् । जसलाई विज्ञ अथवा अनुभवी प्रयोगकर्ताले पहिचान गरेर त्यसको वास्तविकताबारे बताउँछन् ।

बिरुवाको पहिचान गर्ने मात्र नभइ विभिन्न कम्युनिटी (समुदाय)मा जोडिएर बिरुवा सम्बन्धी जानकारी पनि लिन सक्नुहुन्छ । यस एप एन्ड्रोइड, आईओएसवेबमा चलाउन सकिन्छ ।

३. प्लान्टिक्स (Plantix) 

यस एपले बिरुवा मात्र पहिचान गर्दैन, बरु बालीमा लाग्ने विभिन्न विभिन्न रोगबारे समेत जानकारी दिन्छ । तपाईंले बिरुवाको रोगको पहिचान गर्न, तिनको खतरा थाहा पाउन तथा समाधान थाहा पाउन सक्नुहुन्छ । यो काम एपले इनडोर र आउटडोर दुवै खालका बिरुवाका लागि गर्न सक्छ । यी काम गर्न तपाईंले आफ्नो क्यामेराबाट बिरुवाको कुनै पनि भागको फोटो खिच्न सक्नुहुन्छ ।

त्यसपछि बिरुवा सम्बन्धित जानकारी दिने गर्छ । यसका लागि एपमा एआई पनि प्रयोग गरिएको छ । त्यसो हुँदा रोग लागेको बिरुवालाई कसरी निदान गर्ने भन्ने जानकारी पनि पाउन सकिन्छ । त्यस्तै यसमा बाली सम्बन्धी विभिन्न जानकारी, फर्टिलाइजर क्यालकुलेटर आदि टुल पनि छन् । यो एप भने एन्ड्रोइडवेबमा मात्र उपलब्ध छ ।

४. आरएचएस ग्रो (RHS Grow) 

गत वर्षमात्रै सार्वजनिक गरिएको यो एप निकै भर्सटाइल छ । यस एपले विभिन्न प्रकारका फलफुल, बोट बिरुवाबारे जानकारी दिन्छ । अझ तपाईंलाई लोकेसनका आधारमा एपले बोट बिरुवासम्बन्धी जानकारी दिने गर्छ । यसमा एउटा एआई च्याटबट पनि  छ । त्यसमा गार्डेनिङ सम्बन्धी विभिन्न प्रश्नहरू गर्न सकिन्छ । यस एपलाई पनि एन्ड्रोइड, आईओएसवेबबाट चलाउन सकिन्छ ।

५. गुगल लेन्स

खासमा गुगल लेन्स कुनै प्लान्ट आईडेन्टिफिकेसन एप होइन । तर यसको क्षमता प्लान्ट आइडेन्टिफिकेसन सरह छ । यसमा तपाईंले फोटोका आधारमा इन्टरनेटमा कुनै पनि कुरा ब्राउज गर्न सक्नुहन्छ ।

सामान्यतः माथि उल्लेख गरिएका सबै प्लान्ट आइडेन्टिफिकेसन एपले गुगल लेन्सकै तरिकाले काम गर्छन् । अर्थात् तपाईंले फोटो खिच्नुहुन्छ । उक्त फोटो इन्टरनेटमा सर्च हुन्छ । अनि सम्बन्धित नतिजा देखा पर्छ । 

यसरी नै तपाईंले पनि गुगल लेन्सबाट बिरुवाबारे जानकारी लिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८१ १२:३८