close

आईफोनका यी ७ फिचर, जुन तपाईँलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

बैशाख २३, २०८१ १२:५९

आईफोनका यी ७ फिचर, जुन तपाईँलाई थाहा नहुन सक्छ

 

काठमाडौं । लोकप्रिय मोबाइल ब्रान्डमध्ये आईफोन एक हो । यसमा धेरै फिचरहरू छन्, जुन एक सामान्य प्रयोगकर्तालाई थाहा नहुन पनि सक्छ । यदि यी फिचर थाहा पायौं भने आईफोन प्रयोग गर्ने तरिका पनि केही हदसम्म स्मार्ट हुन जान्छ । तपाईंसँग आईफोन छ वा किन्ने सोचमा हुनुहुन्छ भने यी फिचर थाहा पाइराख्न जरुरी छ । आज हामी आईफोन चलाउने केही टिप्सबारे जानकारी दिँदै छौं: 

१. वेब आर्टिकलका लागि सिरी 

यदि तपाईंलाई अडिओ बुक मन पर्छ, अथवा कुनै पनि लेख पढिरहने फुर्सद छैन भने एप्पलको भोइस एसिस्टेन्ट सिरी निकै उपयोगी हुन सक्छ । तपाईंले कुनै पनि आर्टिकल पढ्ने काम सिरीलाई लगाउन सक्नुहुन्छ । यसका लागि तरिका पनि सामान्य छ । 

यो काम गराउन कुनै पनि आर्टिकल खोलेर 'हेई सिरी, रिड द आर्टिकल' मात्र भन्नुपर्ने हुन्छ । त्यसपछि सिरीले उक्त आर्टिकल पढ्न थाल्छ । त्यसक्रममा तपाईंले अन्य एप पनि चलाउन सक्नुहुन्छ । साथै ‍उक्त लेख सिरीलाई पढेर सिध्याउन कति समय लाग्छ भन्ने पनि देख्न सक्नुहुन्छ ।

२. धेरै ओटा टाइमर 

आईफोन प्रयोगकर्ताका लागि केही समय अघिसम्म धेरै ओटा टाइमर राख्नु समस्या थियो । अहिले भने एप्पलले यो समस्यालाई केही हदसम्म भएपनि समाधान गरेको छ । किनकी एप्पलले यो फिचर आईफोनका सीमित मोडलमा उपलब्ध गराइसकेको छ । टाइमर खासै प्रयोग नहुने भएता पनि कहिल्यैकाहीँ आवश्यक पर्न सक्छ । त्यस्तोमा तपाईंले आईफोनमा धेरै ओटा टाइमरहरू एकै साथ राख्न सक्नुहुन्छ । 

३. हस्तलेखन

आईफोनमा दिइने पुरानो मध्येको एक टिप्स हो, हस्तलेखन । अर्थात् आईफोनमा हातैले लेख्न सक्नु । कुनै नोट्स बनाउन होस् या आईमेसेजमार्फत कसैलाई मेसेज पठाउन, तपाईंले यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । आईमेसेजमा हातले मेसेज लेख्न ‍फोनलाई तेर्सो पार्नु पर्ने हुन्छ, त्यसपछि तल्लो भागको दायाँतिर कलमको चिन्ह देखिन्छ, त्यसमा क्लिक गरेपछि हातले लेख्ने नयाँ इन्टरफेस खुल्छ । 

४. एक क्लिकमा स्क्रिन अन 

स्क्रिन अफ भएको समयमा एक क्लिक गरेर अन गर्ने फिचरले आईफोन चलाउने अनुभवलाई निकै सजिलो बनाउँछ । तर यो फिचरका लागि तपाईंले आफ्नो सेटिङ मिलाउनु पर्ने हुन्छ । 

यसका लागि तपाईंले सेटिङ>जेनेरेल>एक्सेसिबिलिटी हुँदै ‘ट्याप टू वेक’ भन्ने विकल्पमा जानुहोस् । जब तपाईंले यो विकल्प अन गर्नुहुन्छ, त्यसपछि अफ भएको स्क्रिन एक क्लिकमै अन गर्न सक्नुहुन्छ । यदि यो विकल्प अन छैन भने तपाईंले त्यसो गर्न सक्नुहुन्न । 

५. फोनलाई ढिलो बनाउने एप डिलिट गर्नु 

धेरै ओटा एप डाउनलोड गर्दा फोन ढिलो चल्ने समस्या आउन सक्छ । यही कारण खासै प्रयोग नहुने एपलाई डिलिट गर्नु बुद्धिमत्ता मानिन्छ । आफ्नो आईफोनमा कुन एप कम चलेको छ भन्ने थाहा पाउन सेटिङ>जेनेरेल हुँदै स्टोरेजमा जानुहोस् । त्यहाँ तपाईंले एप खोलेको अन्तिम मिति र तिनले ओगटेको स्टोरेजबारे जानकारी पाउन सक्नुहुन्छ । त्यसपछि कम प्रयोग हुने अथवा बढी स्टोरजे खपत गरेका एपलाई तपाईं डिलिट गर्न सक्नुहुन्छ । 

६. दोहोरिएका फोटो डिलिट 

आईफोनमा स्टोरेज कम भएपछि त्यसलाई खाली गर्ने एउटा तरिका मध्येमा पर्छ, दोहोरिएका फोटो डिलिट गर्नु । यसका लागि आफ्नो फोटोज एपमा जानुहोस् । त्यहाँ एल्बममा क्लिक गरेर स्क्रोल गर्दै तल जानुहोस् । केही तल स्क्रोल गरेपछि त्यहाँ डुप्लिकेट भन्ने विकल्प देखिन्छ ।  त्यसमा क्लिक गरेर तपाईंले दोहोरिएका फोटोलाई  मर्ज गर्न वा डिलिट गर्न सक्नुहुन्छ । 

७. स्क्रिन रेकर्डिङका क्रममा आफ्नो आवाज रेकर्ड गर्नु

यदि तपाईं स्क्रिन रेकर्डिङ गरेर कसैलाई केही सिकाइरहनु भएको छ भने आईफोनको यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि सेटिङ>कन्ट्रोल सेन्टर>कस्टमाइज कन्ट्रोल हुँदै स्क्रिन रेकर्डिङमा जानुहोस् । अनि जब स्क्रिन रेकर्डिङ सुरु हुन्छ, सँगै रहेको माइक्रोफोनको बटन पनि क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८१ १२:५९