close

यस्तो छ १५ हजार रुपैयाँमै पाइने ‘इन्फिनिक्स हट ४० आई’ स्मार्टफोन

उष्मा अधिकारी उष्मा अधिकारी

बैशाख २३, २०८१ १३:४२

यस्तो छ १५ हजार रुपैयाँमै पाइने ‘इन्फिनिक्स हट ४० आई’ स्मार्टफोन

काठमाडौं । राम्रो लुक्स, हलुका, चम्किलो टेक्स्चर, ५० मेगापिक्सेलको मुख्य क्यामेरा अनि बजेट फोन । यी विशेषता इन्फिनिक्स हट ४० आई (Infinix Hot40i) का हुन् । नेपाली बजारमा यो फोनको सुरुवाती मूल्य १४ हजार ९९९ रुपैयाँ छ ।

आजभोलि आईफोनको लुक्सबाट प्रेरित भएर अरु मोबाइल कम्पनीहरूले क्यामेराको आकार ठूलो बनाउने प्रचलन बढ्दो छ । फलस्वरुप यो फोनमा पनि ठूलै आकारको डुअल क्यामेरा सेटअप देख्न सकिन्छ भने छेउमा एउटा फल्याश पनि छ । 

फोनको ब्याक प्यानल म्याटरहार्ड प्लास्टिकबाट बनाइएको छ । त्यसले गर्दा फोन हातमा समाउँदा ‌‌‌‌औँलाको दाग बस्दैन । त्यस आधारमा यसको बडी क्ववालिटी राम्रै मान्न सकिन्छ । त्यसैगरी फोनको दायाँ भागमा भोलुम कन्ट्रोलर बटन र फिङ्गर प्रिन्ट सेन्सर सहितको पावर बटन पनि रहेको छ ।

धेरैजसो एन्ड्रोइडमा फोनमा जस्तै यसको बायाँ भागमा सिम कार्ड स्लट दिइएको छ, जहाँ दुई ओटा नानो सिम र एउटा एसडी कार्डका लागि ठाउँ राखिएको छ । त्यसैगरी फोनको तलपट्टि ३.५ मिलिमिटरको ज्याक पोर्ट, टाइप-सी पोर्ट र एउटा स्पिकर पाउन सकिन्छ । 

डिस्प्लेको कुरा गर्दा यसमा ६.५६ इन्चको ९० हर्जको आईपीएस एलसीडी डिस्प्ले दिइएको छ । बजेट फोन भएका कारण आईपीएस डिस्प्ले भएपनि कुनै गुनासो छैन । फोनमा जम्मा ४८० निट्सको उच्चतम ब्राइटनेस दिइएको छ । कोठाभित्र यो ब्राइटनेस पर्याप्त नै हुन्छ । तर सिधा सूर्यको प्रकाश पर्ने ठाउँमा भने स्क्रिन हेर्न ‍अलिकति मेहनेत नै गर्नुपर्छ ।

फाेनमा सेल्फी क्यामेरा सहितको पञ्च होल डिस्प्ले पाउन सकिन्छ । फोनको माथिल्लो र छेउ तिर अलि कम र तल्लो भागमा अलि बढी घुमाउरो किनारा देख्न सकिन्छ । तर सामान्य भिडिओ हेर्न वा सामाजिक सञ्जालका एपहरू चलाउन खासै समस्या हुँदैन ।

डिस्प्लेमा भएको मुख्य भाग मध्ये म्याजिक रिङ पनि एक हो । यो फिचर फोनमा डिफल्ट रुपमा नै अन भएको हुन्छ । आईफोनको पछिल्ला भर्सनमा हुने डाइनामिक आईल्यान्ड जस्तै फोनको माथिल्लो भागमा फेस अनलक गर्दा, ब्याकग्राउन्ड कल, चार्जिङ एनिमेसन रिमाइन्डर र लो ब्याट्री रिमाइन्डर म्याजिक रिङ इनेबल भएको भएको देख्न सकिन्छ । 

अब चर्चा गरौं, क्यामेराको । फोनको मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ भने सेल्फी क्यामेरा ३२ मेगापिक्सेलको छ । यसको मुख्य क्यामेराले खिचेको फोटो हेर्दा राम्रै देखिन्छन् । क्यामेराले रङहरूलाई सन्तुलन गरेर फोटो खिच्छ । तर खिचिएका फोटोलाई जुम गर्ने हो भने फोटो हल्का फाटिन्छ । क्यामेरालाई १० गुणासम्म जुम गर्न सकिन्छ । तर यतिसम्म जुम गरिएको फोटो र भिडिओ त्यति गुणस्तरीय भने आउँदैनन् । 

फोनमा भएको पछाडिको अर्को लेन्सले ‘डेप्थ सेन्सर’को मात्रै काम गर्छ, जसले गर्दा पोट्रेट फोटोहरूमा त्यसको प्रभाव ठीकठाक देखिन्छ । फोटो मोडमा विभिन्न फिल्टर प्रयोग गरेर, एचडीआर अन/अफ गरेर फोटो खिच्न सकिन्छ । त्यसैगरी क्यामेरामा शर्ट भिडिओ, भिडिओ, फोटो, ब्युटी, पोट्रेट, सुपर नाइट लगायतका मोड छन् । 

ब्युटी मोडमा एआई स्मार्ट ब्युटी इफेक्ट, स्मुथिङ, स्किन कलर, स्लिम फेस जस्ता फिचर पनि छन् । त्यस्तै अरू विकल्पमा जाने हो भने प्रो, पानोरमा, डकुमेन्ट्स, टाइमल्याप्स, एआर शट आदि मोड पाउन सकिन्छ । एआर शटबाट भने स्नापच्याटको जस्तै रमाइला फिल्टरहरू छानेर फोटो/भिडिओ खिच्न सकिन्छ । त्यसैगरी क्यामेरा अन गरेपछि तलपट्टि एउटा स्क्यानको आइकन पनि देख्न सकिन्छ, यसले गुगल लेन्समा रिडाइरेक्ट गर्छ । 

भिडिओको सन्दर्भमा भने फोन त्यति राम्रो छैन । यसबाट ३० एफपीएसमा १०८० पिक्सेलसम्मको भिडिओ खिच्न मिल्छ । तर ती भिडिओ निकै हल्लिन्छन् । हुन त १५ हजार रुपैयाँको फोनमा गुणस्तरीय भिडिओ त हामी पक्कै पनि अपेक्षा गर्न सक्दैनौं । 

अब कुरा गरौँ फोनको अपरेटिङ सिस्टमको । फोन एन्ड्रोइड १३ मा आधारित छ भने एक्सओएस १३ युआईबाट सञ्चालित  छ । यसमा मिड लेभलको प्रोसेसर युनिसक टी ६०६ को प्रयोग भएको छ । जुन सन् २०२१ को मध्यतिर सार्वजनिक भएको १२ एनएमको चिपसेट हो । अलि पुरानो भए पनि बजेट फोनका लागि सामान्य सामाजिक सञ्जाल एप चलाउन, गेम खेल्न र सामान्य काम गर्न यो प्रोसेसरलाई पर्याप्त नै मान्न सकिन्छ । 

फोनमा मन पर्न सक्ने यसको युजर इन्टरफेस (यूआई) हो । यसमा एज प्यानल छ । यसबाट विभिन्न एप र फिचरमा छिटो पहुँच पाउन सकिन्छ । त्यसैगरी यदि नोटिफिकेसनहरू हेर्नु छ भने मोबाइलको माथिल्लो बायाँबाट तलतिर स्क्रोल गर्नुपर्छ । स्क्रिन ब्राटनेस, ब्लुटुथ, फ्ल्याशलाइट, साउन्ड लगायतका फिचरहरू कन्ट्रोल गर्न दायाँ भागबाट तलतिर स्क्रोल गर्नु पर्छ । यसले अन्य एन्ड्रोइड फोनभन्दा थोरै भिन्न महसुस दिन्छ । 

त्यस्तै फोनले मल्टिटास्किङ पनि सपोर्ट गर्छ । यसका लागि स्क्रिनलाई स्लिप्ट गर्न सकिन्छ । तर यो केही एपमा मात्र गर्न सकिन्छ । नाम नै लिँदा फेसबुक, युट्युब, गुगल क्रोम आदि । फोनमा पर्सनलाइजेसनको सीमित विकल्प थिम र वालपेपरमा दिइएको छ । फोनमा गेम मोड पनि छ, जसलाई अन गर्ने हो भने गेमिङको राम्रो राम्रो अनुभव लिन सकिन्छ । 

स्टोरेजको कुरा गर्नुपर्दा फोन तीन ओटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनको भेरियन्ट अनुसार यसको मूल्य पनि फरक छ । जस्तै: ४ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेजको १४ हजार ९९९ रुपैँया, ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेजको १७ हजार ९९९ रुपैँया र ८ जीब र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेजको १९ हजार ९९९ रुपैँया कायम गरिएको छ । साथै प्रत्येक फोनमा जति र्‍याम छ, त्यति नै भर्चुअल र्‍याम पनि उपलब्ध छ । यसरी बढाउन मिल्ने भर्चुअल र्‍याम भएकै कारण फोनले अलि हेभी सफ्टवेयर र गेम पनि ह्यान्डल गर्न सक्छ । 

यी सबै काम गर्न फोनमा पाँच हजार एमएएच क्षमताको ब्याट्री पाउन सकिन्छ । त्यसैले फोन सामान्य प्रयोग गर्ने हो भने दिन बिराएर चार्ज गर्दा पनि फरक पर्दैन । यसको नकारात्मक पाटो भनेको फोनमा जम्मा १८ वाटको चार्जर दिइएको छ । सोहीकारण फोनलाई फुल चार्ज गर्न लगभग २ घण्टा १५ मिनेट जति लाग्छ। अहिलेको यस्तो व्यस्त समयमा धेरैसँग फोन चार्ज गर्न दुई घण्टाभन्दा नहुन सक्छ । त्यस्तोमा तपाईंले एक घण्टामा ६० प्रतिशत जति ब्याट्री चार्ज गर्न सक्नुहुन्छ । 

कनेक्टिभिटीका लागि फोनले ब्लुटुथ फाइभ तथा डुअल ब्यान्ड वाई-फाई समेत गर्छ । सुरक्षाका लागि भने फोनमा फिङ्गरप्रिन्ट सेन्सर, फेस लक, पिन, पासवर्ड आदि पाउन सकिन्छ । स्टारलिट ब्ल्यक कलर, होराइजन गोल्ड, प्लाम ब्लु र स्टारफल ग्रिन गरी चार रङमा फोन पाउन सकिन्छ । खुसीको कुरा कम्पनीले फोनमा १५ महिनाको वारेन्टी पनि उपलब्ध गराएको छ । 

विशेष गरेर सस्तो मुल्यमा स्टोरेज, ब्याट्री र क्यामेरा राम्रो भएको फोन किन्न चाहिरहेका व्यक्तिका लागि इन्फिनिक्स हट ४० आई  एउटा राम्रो विकल्प बन्न सक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८१ १३:४२