close

युरोपका कुख्यात ह्याकरलाई ६ वर्ष जेल सजाय

टेकपाना टेकपाना

बैशाख २३, २०८१ १४:२६

युरोपका कुख्यात ह्याकरलाई ६ वर्ष जेल सजाय

काठमाडौं । एक समय युरोपका सबैभन्दा कुख्यात ह्याकरका रूपमा परिचित फिनल्यान्डका जुलियस किभिमाकी जेल चलान भएका छन् । फिनल्याण्डको एक मनोचिकित्सा केन्द्र ह्याक गरी ३३ हजार बिरामीहरूको थेरापी रेकर्ड चोरी गरेका उनलाई त्यहाँको एक जिल्ला अदालतले ६ वर्ष तीन महिना कैद सजाय सुनाएको हो ।

उनले २०१८ मा आफू २० वर्षको हुँदा उक्त मनोचिकित्सा केन्द्र (थेरापी कम्पनी) को डेटा ह्याक गरेका थिए । त्यसपछि केन्द्रसँग चार लाख युरो बढी फिरौती मागेका थिए । तर कम्पनीले फिरौती दिन अस्वीकार गरेपछि किभिमाकीले हजारौं बिरामीहरूलाई ईमेल गरेर प्रतिव्यक्ति २०० युरो माग्न थाले । 

अझ बिरामीहरूले उक्त पैसा नदिए उनीहरूको गोप्य थेरापी नोट र व्यक्तिगत विवरणहरू अनलाइनमा राख्ने धम्की समेत दिएका थिए । यति मात्र नभएर उक्त डेटा डार्क वेबमा समेत फेला परेको थियो, जुन काम उनैले गरेको बताइन्छ । आफ्नो व्यक्तिगत विवरण अनलाइनमा बाहिरिएपछि एक बिरामीले आत्महत्या समेत गरेको बीबीसीले जनाएकाे छ ।

अनलाइनमा ‘ransom_man’ ले चिनिएका किभिमाकीले ह्याक गरेको यो पहिलो पटक भने थिएन । त्यसअघि उनले प्ले स्टेसन नेटवर्क, एक्सबक्स जस्ता गेमिङ प्लेटफर्ममा ह्याक गरेर चर्चा कमाइसकेका थिए । त्यसक्रममा उनको उमेर १३ वर्षको मात्र थियो । त्यस आधारमा उनले आफ्नो किशोरावस्था ह्याकिङमा मात्रै बिताएका थिए ।

उनले गरेको सबैभन्दा ठूलो ह्याकिङ भने मनोचिकित्सा केन्द्रमा थियो । यद्यपि उनलाई फिनिश प्रहरीले पहिचान र पक्राउ गर्न सकिरहेकाे थिएन । यता ह्याक गरिसकेपछि प्रमाण मेटाउन किभिमाकी फ्रान्स छिरेका थिए । उनलाई पक्राउ गर्न फिनल्याण्डका अधिकारीहरूले इन्टरपोलसँग सहयोग मागेका थिए । 

अन्ततः उही ह्याकिङ मुद्दामा पेरिसमा लुकेर बसिरहेको अवस्थामा तीन वर्षपछि फेब्रुअरी २०२३ मा उनलाई फ्रेन्च प्रहरीले गिरफ्तार गर्‍यो । त्यतिबेला फ्रान्समा बस्न उनले नक्कली नाम र कागजात प्रयोग गरेको पत्ता लागेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८१ १५:५२