close

आईप्याड केन्द्रित एप्पलको कार्यक्रम सम्पन्न, केके आए नयाँ डिभाइस ?

टेकपाना टेकपाना

बैशाख २७, २०८१ १३:२६

आईप्याड केन्द्रित एप्पलको कार्यक्रम सम्पन्न, केके आए नयाँ डिभाइस ?

काठमाडौं । एप्पलले आईप्याड केन्द्रित आफ्नो 'लेट लुज' इभेन्ट सम्पन्न गरेको छ । यस पटकको कार्यक्रममा एप्पलले आफूले तयार पारेका पछिल्लो आईप्याड हार्डवेयर र केही नयाँ उत्पादनबारे जानकारी दिएको छ ।

एम फोर आईप्याड प्रो 

यस कार्यक्रम हुनुअघि एप्पलले आईप्याडका नयाँ चिप सार्वजनिक गर्ने चर्चा थियो । अहिले आएर उक्त चर्चा सत्य सावित भएको छ । एप्पलले नयाँ आईप्याड प्रोमा एम फोर चिप प्रयोग गर्ने भएको हो । यस नयाँ आईप्याड प्रोमा अल्ट्रा रेटिना एक्सडीआर नामक डिस्प्ले पनि राखिने छ ।

त्यस्तै एप्पलले यो आईप्याड प्रोमार्फत पहिलो पटक नानो टेक्स्चर ग्लासको विकल्प दिएको छ । बजारमा यो आईप्याड ११ र १३ इन्चको आकारमा उपलब्ध हुनेछ । यसको बिक्री १५ मेबाट सुरु हुनेछ । 

आईप्याड एयर सिक्स

अलि ठूलो स्क्रिन भएको आईप्याड मन पराउने प्रयोगकर्तालाई लक्षित गर्दै आईप्याड एयर सिक्समा एप्पलले नयाँ अपडेट ल्याउने भएको छ । यस अन्तर्गत ११ र १३ इन्च गरी नयाँ मोडेल सार्वजनिक हुनेछन् । यी डिभाइसमा एम टु चिप राखिने छ । यसका साथै क्यामेरा र स्टोरेजमा सुधार गरिएको कम्पनीले जनाएकाे छ ।

एप्पल पेन्सिल प्रो  

यस कार्यक्रममार्फत एप्पलले आफ्नो पछिल्लो पेन्सिल मोडेल सार्वजनिक गरेको छ । यो एप्पल पेन्सिल प्रोले एम फोर आईप्याड प्रो र आईप्याड एयर सिक्स दुवैमा काम गर्छन् ।

यस पटक एप्पल पेन्सिलमा स्किज जेस्चर दिइएको छ । यसले विभिन्न कस्टम एक्सन उपलब्ध गराउने छ । त्यस्तै यसमा बिल्ट-इन जाइरोस्कोप र फाइन्ड माई इन्टिग्रेसन फिचर राखिएको छ ।

म्याजिक किबोर्ड 

यस पटक एप्पलले एमफोर आईप्याड प्रोमात्र सार्वजनिक गरेन, त्यसैमा मिल्ने म्याजिक किबोर्ड पनि ल्याएकाे छ ।

यस पटकको म्याजिक किबोर्ड पहिलेका भन्दा पातलो र हलुको हुने कम्पनी बनाएको छ । यसमा अलि ठूलो आकारको ट्र्याकप्याड र फङ्सन रो दिइएको छ ।

सफ्टवेयर अपडेट

एप्पलले डिभाइसमात्र नभएर यस कार्यक्रममा सफ्टवेयर पनि अपडेट गरेको छ । यसअघिका कार्यक्रममा एप्पलले नयाँ डिभाइस लञ्च गरेपनि सफ्टवेयर अपडेटलाई खासै प्राथमिकतामा राख्थेन ।

यस पटक भने एप्पलले आईप्याड र म्याकका लागि फाइनल कट प्रो र लजिक प्रो टु सफ्टवेयर अपडेटको घोषणा गरेको छ । कार्यक्रममा एप्पलले यसको नयाँ फिचरबारे लाइभ डेमो देखाएको थियो ।

फाइनल कट क्यामेरा एप 

यो कार्यक्रममार्फत एप्पलले धेरैलाई आश्चर्यचकित पार्दै फाइनल कट क्यामेरा घोषणा गरेकाे छ । एप्पलका अनुसार केही महिनाभित्रमै नयाँ आईफोन र आईप्याडमा यो एप सार्वजनिक गरिने छ ।

यस एपले मल्टिक्याम शट सपोर्ट गर्नेछ । अर्थात् प्रयोगकर्ताले आईप्याडबाटै धेरै क्यामेराले खिचिरहेको भिडिओलाई स्ट्रिम गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ १५:३८