close

चोरेको डेटा लिक गर्ने प्लेटफर्म ‘ब्रिच फोरम’ बन्द

टेकपाना टेकपाना

जेठ ९, २०८१ १९:२१

चोरेको डेटा लिक गर्ने प्लेटफर्म ‘ब्रिच फोरम’ बन्द

काठमाडौं । साइबर अपराधीले चोरेका डेटा लिक गर्न प्रयोग हुने प्लेटफर्म ‘ब्रिच फोरम’ बन्द भएको छ । अमेरिकी अनुसन्धान निकाय ‘फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन’ (एफबीआई)ले गत साता कब्जामा लिएपछि ब्रिच फोरम बन्द भएकाे हाे । 

युरोपेली संघको कानूनी निकाय ‘द युरोपियन युनियन एजेन्सी फर ल इन्फोर्समेन्ट कोअपरेसन’ (Europol)को संवेदनशील डेटा चोरेर ब्रिच फोरममा राखेपछि एफबीआईले उक्त प्लेटफर्म कब्जामा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले यो वेबसाइट खोल्दा एफबीआईले साइट आफ्नो नियन्त्रणमा लिएको भन्ने मेसेज देखिन्छ । सम्भवतः एफबीआईले साइटको सर्भर र डोमेन दुवैलाई कब्जा गरेको हुनसक्ने देखिन्छ ।

सूचनामा पनि एफबीआईले अहिले साइटको ब्याकइन्ड विश्लेषण गरिरहेको उल्लेख गरेको छ । “यदि तपाईंसँग कुनै जानकारी छ भने हामीलाई सम्पर्क गर्नुहोला,” भन्दै ब्रिच फोरमको लिङ्क उपलब्ध गराइएको छ । 

एफबीआईले दाबी गरेको जस्तो उनीहरूसँग ब्रिच फोरमको ब्याकइन्ड डेटा छ भने उनीहरूसँग प्रयोगकर्ताको ईमेल, आईपी एड्रेस, निजी मेसेज र अन्य जानकारी पनि हुन सक्छ । जसले गर्दा डेटा लिक गर्छु भन्दै धम्की दिने ह्याकरहरूलाई एफबीआईले नियन्त्रणमा लिन सक्छ । 

ब्रिच फोरमको टेलिग्राम च्यानल पनि एफबीआईले नियन्त्रणमा लिएको छ । नेपालीका पनि केही कम्पनीका डेटा पनि ब्रिच फोरममा बिक्रीका लागि राखिएको थियो । केही समयअघि नेपाल राष्ट्र बैंकको संवेदनशील डेटा ब्रिच फोरममार्फत बेच्न खोजेका व्यक्ति पक्राउ परेका थिए । 

त्यस्तै टिकटकको विकल्पमा आएको नेपाली प्लेटफर्म रमाइलोका २० हजार प्रयोगकर्ताको डेटा पनि ब्रिच फोरममै लिक गरिएको थियो । त्यसबाहेक अधिकांश कम्पनीको डेटा र संवेदनशील विवरण ब्रिच फोरममै आइरहेको हुन्थ्यो । 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८१ १९:२३