close

प्रेमीलाई विश्वास गरी आफ्नो बैंक खाता दिँदा अनलाइन ठगी काण्डमा यसरी फसिन् युवती

टेकपाना टेकपाना

बैशाख १८, २०८१ १९:२८

प्रेमीलाई विश्वास गरी आफ्नो बैंक खाता दिँदा अनलाइन ठगी काण्डमा यसरी फसिन् युवती

 

काठमाडौं । काठमाडौंकी ३० वर्षीय अनु श्रेष्ठलाई केही महिनाअघि फेसबुकमा एक युवककाे फ्रेन्ड रिक्वेस्ट आयो । उनले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् । एड भएपछि उनीहरूबीच परिचय भयो । त्यसपछि क्रमशः सामान्य कुराकानी हुन थाल्यो ।

कुराकानी बढ्दै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो । ती युवकले आफू विदेशमा रहेको बताउँदै आएका थिए । जसले गर्दा प्रेम सम्बन्धमा भएपनि उनीहरूबीच फोनमा मात्र कुराकानी भइरहन्थ्याे ।

एक दिन युवकले युवतीलाई विभिन्न बैंकमा खाता खोल्न लगाए । युवतीले पनि साे अनुसार नै बैंक खाता खोल‍िन् । यसरी उनले आफ्नो नामबाट आठ बैंकमा खाता खोलेकी थिइन् । त्यसमध्ये एउटा बैंकको पहुँच ती युवकसँग थियो । 

युवतीले खोलेका फरक-फरक सात ओटा बैंक खातामा विभिन्न समयमा रकम आइरहेको हुन्थ्यो । त्यसमा आएको रकम ती युवती युवकसँग भएको खातामा ट्रान्सफर गरिदिन्थिन् । आफूलाई आवश्यक परेको समयमा तिनै अकाउन्टबाट रकम निकालेर प्रयोग गर्थिन् । 

यसैबीच विभिन्न मितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले आफू अनलाइन ठगीमा परेको भन्दै उजुरी दिएका थिए । त्यसैको आधारमा अनुसन्धान गर्दा अनु श्रेष्ठको नामबाट खोलिएका अकाउन्टमा पीडितहरूको २३ लाख ३५ हजार रुपैयाँ गएको देखियो । र, कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सोमबाट काठमाडौं चप्पल कारखाना क्षेत्रबाट पक्राउ गर्‍याे । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

कसरी हुन्थ्यो ठगी ?

यस घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकारीका अनुसार युवतीका प्रेमी भनिएका युवा सबैभन्दा पहिले फेसबुक र ह्वाट्सएपबाट सर्वसाधारणलाई सम्पर्क गर्थे । त्यसपछि विभिन्न प्रलोभन देखाएर नजिक हुन्थे । कुरा गर्दै गएपछि आईफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, र डलरसहितको लगेज कुरियरमार्फत पठाएको छु भन्थे । सर्वसाधारणहरू उनको कुरा विश्वास गरेर महँगा सामान पाउने सपना बुनेर बस्थे । 

तर, ती युवक कस्टम चार्ज, एन्टी मनी लाउन्ड्रिङमा चार्ज लाग्छ भन्दै जम्मा गर्न बैंक खाता पठाउँथे । सर्वसाधारणहरू पनि महँगा सामान पाउने लोभमा भनेजति रकम पठाउँथे ।

पीडितबाट अब रकम उठाउन सकिंदैन भनेपछि ती युवक सम्पर्कविहीन हुन्थे । र, पीडितहरू सो विषयमा अनुसन्धान गर्नुपर्‍यो भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन्थे । 

युवतीलाई आफ्नो बैंक अकाउन्ट दुरुपयोग भएको थाहा थियो । उनले खातामा आएको रकम बेला बेलामा प्रयोग गरेकाे प्रहरीसँग स्वीकारेकी छन् । युवतीलाई बैंक खाता खोल्न लगाएर अनलाइन ठगीको जालो फैलाउने युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ १९:२८