काठमाडौं । बिहीवार दिउँसोदेखि अवरुद्ध इन्टरनेट पुनः सुचारु भएको छ । वर्ल्डलिङ्क कम्युनिकेसन्स, सुबिसु केबलनेट, भायानेट कम्युनिकेसन्स, सीजीनेट, टेकमाइन्ड्स नेटवर्क, वाईफाई नेपाल लगायत निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरूले सूचना जारी गर्दै अवरुद्ध सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएका हुन् ।
दिउँसो करिब ४ बजेदेखि अधिकांश इन्टरनेट सेवाप्रदायकको सेवा अवरुद्ध भएको थियो । त्यतिबेला इन्टरनेट सेवाप्रदायकहरूले अपस्ट्रिम सेवाप्रदायकलाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बापतको रकम भुक्तानी गर्न नपाउँदा इन्टरनेटको लिङ्क काटिएको उल्लेख गरेका थिए ।
सेवाप्रदायकले इन्टरनेट नियमित रूपमा चलेको जानकारी दिएपनि स्थायी समाधान भए/नभएकोबारे केही खुलाएका छैनन् ।
इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर लाग्ने कि नलाग्ने भन्ने विषयमा लामो समयदेखि सरकार र सेवाप्रदायकबीचको विवाद जारी छ । सेवाप्रदायकले मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै मर्मत सम्भारबाट लिएको शुल्क बाहेकको आम्दानीबाट रोयल्टी र आरटीडीएफ दस्तुर बुझाउँदै आएका छन् ।
सरकारले भने मर्मत सम्भारमा पनि रोयल्टी र आरटीडीएफ दस्तुर लाग्ने भन्दै सेवाप्रदायकहरूको नाममा दशौं करोड रुपैयाँ बक्यौता उठाउन ताकेता गर्दै आएको छ । यही बक्यौता समयमै नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सिफारिस रोकिदिएको छ ।
सरकार र सेवाप्रदायकबीचको विवादका कारण भारतीय अपस्ट्रिम प्रोभाइडरले करिब एक वर्षदेखि ब्यान्डविथ बापतको रकम पाएका छैनन् । गत हप्तामात्रै नेपालमा ७० प्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ आउने भारतीय अपस्ट्रिम प्रोभाइडर भारती एयरटेलले आफूले भुक्तानी नपाए जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने भनी सेवाप्रदायकहरूलाई पत्राचार गरेको थियो ।
निजी क्षेत्रका इन्टरनेट व्यवसायीहरूको संगठन इन्टरनेट सेवाप्रदायक संघ, नेपाल (आईस्पान)का अनुसार इन्टरनेट ब्यान्डविथका लागि अपस्ट्रिम प्रोभाइडरहरूलाई तीन अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।