close

मन्त्रिपरिषद्‌ बैठकमा गृहमन्त्रीको प्रस्तावः डढेलो निभाउन हेलिकप्टर प्रयोग गरौं

टेकपाना टेकपाना

बैशाख २१, २०८१ १८:५२

मन्त्रिपरिषद्‌ बैठकमा गृहमन्त्रीको प्रस्तावः डढेलो निभाउन हेलिकप्टर प्रयोग गरौं

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशका विभिन्न ठाउँमा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेश गरेका छन् । समयमा आगो निभाउन नसक्दा जनधनको क्षति भएको भन्दै लामिछानेले चाँडै आगो नियन्त्रणमा लिन हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले वन र बस्तीमा लागेको आगलागीबाट ठूलो मात्रामा जनधनको क्षति भइरहेको सन्दर्भमा मन्त्रालयमा आन्तरिक छलफलपछि गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्‌मा यस्तो प्रस्ताव लगेको जानकारी दिए । 

“वनबाट सल्केको डढेलोले बस्ती नै सखाप भएका समाचारहरू आइरहेका छन् । त्यसैले आगो चाँडै निभाइयो भने यति धेरै क्षति हुन पाउने थिएन भनेर मन्त्रालयमा छलफल भइरहेको थियो,” उनले भने, “त्यसैले आगलागी नियन्त्रणमा हेलिकप्टर प्रयोग गर्न गृहमन्त्रीले प्रस्ताव राख्नुभएको हो ।” 

भट्टराईका अनुसार मन्त्रिपरिषद्ले गृहमन्त्री लामिछानेको प्रस्ताव पारित गरिसकेको छैन । आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्न मन्त्रिपरिषद् सहमत भएमा चाँडै काम अगाडि बढाउने उनले बताए । 

“हामी यो विषयमा चिन्तित छौँ । त्यसैले प्रस्ताव पारित हुने बित्तिकै काम अगाडि बढाइहाल्छौँ,” उनले भने, “हामीसँग भएका हेलिकप्टरलाई आगो निभाउन सक्षम बनाउने कि नयाँ हेलिकप्टरको व्यवस्था गर्ने भन्नेबारे छलफल गरेर अगाडि बढ्छौँ ।”

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ १८:५६