close

ट्वीटरपछि ब्लुस्काईबाट पनि बाहिरिए ज्याक डोर्सी

टेकपाना टेकपाना

बैशाख २५, २०८१ २१:२७

ट्वीटरपछि ब्लुस्काईबाट पनि बाहिरिए ज्याक डोर्सी

काठमाडौं । साविकको ट्वीटर (हाल एक्स) छाडेर आफ्नै सामाजिक सञ्जाल बनाउन गएका ज्याक डोर्सी त्यहाँको बोर्डबाट बाहिरिएका छन् । डोर्सीले यो कुराको जानकारी सामाजिक सञ्जाल एक्समा दिएका छन् ।

डोर्सीलाई एक प्रयोगकर्ताले ब्लुस्काईको बोर्डमा रहे/नरहेको सोधेका थिए । डोर्सीले जवाफ दिँदै त्यहाँ नरहेको बताएका छन् । उक्त जवाफले ‍उनी ब्लुस्काईको बोर्डमा नरहेको पुष्टि गरेको छ ।

उनले ब्लुस्काई एपको अवधारणा सन् २०१९ मा ल्याएका थिए । जसलाई ट्वीटरको सहायक कम्पनीको रूपमा विकास गर्ने भनिएको थियो । तर, एलन मस्कले ट्वीटरको सम्पूर्ण स्वामित्व लिएपछि डाेर्सीले छुट्टै कम्पनीका रूपमा विकास गर्ने योजना अघि सारेका थिए ।

यद्यपि कम्पनीले भने डोर्सीको बहिर्गमनबारे केही पनि बताएको छैन । कम्पनीको वेबसाइट हेर्दा त्यहाँ अझै पनि बोर्डमा उनको नाम देख्न सकिन्छ । तर डोर्सीले करिब एक महिनाअघि नै ब्लुस्काईमा आफ्नो अकाउन्ट डिलिट गरिसकेका थिए । 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८१ २१:२७