close

अमेरिकालाई टिकटक नबेचे प्रतिबन्ध लगाउने विधेयकमा बाइडेनले गरे हस्ताक्षर, अब के हुन्छ ?

टेकपाना टेकपाना

बैशाख १३, २०८१ १०:२४

अमेरिकालाई टिकटक नबेचे प्रतिबन्ध लगाउने विधेयकमा बाइडेनले गरे हस्ताक्षर, अब के हुन्छ ?

काठमाडौं । टिकटक स्वामित्व आफूलाई नबेचे पूर्ण रूपमा प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् । याेसँगै टिकटकको अभिभावक कम्पनी बाइटडान्सले आफ्नो स्वामित्वको हिस्सेदारी अमेरिकालाई नदिने भनी अडान लिएमा टिकटकमाथिको प्रतिबन्ध अबको केही दिनदेखि नै लागू हुने सम्भावना रहेको छ ।

यसअघि २० अप्रिलमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउन विधेयक पारित गरेको थियो । सोही विधेयकमा राष्ट्रपति बाइडेनले बुधबार हस्ताक्षर गरेर अनुमोदन गरेको वाशिङटन पोस्टले जनाएको छ । 

वाशिङटन पोस्टका अनुसार यो प्रावधानले अब टिकटकको माउ कम्पनी बाइटडान्सलाई लगभग नौ महिनाको समयमा डेटा दिनुपर्ने वा प्लेटफर्मको शेयर बेच्नुपर्ने छ । त्यतिबेलासम्म पनि बाइटडान्सले कुनै वास्ता नगरे राष्ट्रपतिले त्यसको समयसीमा ९० दिनसम्म बढाउन सक्नेछन् । त्यसपछि भने टिकटकमा पूर्ण रूपले प्रतिबन्ध लाग्नेछ । 

टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा अमेरिकाको प्रतिनिधि सभाका ३६० जना सांसदले मतदान गरेका थिए भने ५८ जना सांसदले विपक्षमा मतदान गरेका थिए । अर्थात् अधिकांश सांसद टिकटकले शेयर बेच्नुपर्ने वा डेटा दिनुपर्ने भन्ने मान्यतामा समर्थन जनाएका थिए । यस्तै प्रकारको विधेयक गत महिना प्रतिनिधि सभाले पारित गरेको थियो, तर उक्त विधेयक सिनेटमा अड्किएपछि अर्को विधेयक पारित भएको हो । 

टिकटक अमेरिकामा सबैभन्दा चर्चित मध्येको एक एप हो । हाल अमेरिकामा यस एपका १७ करोड बढी प्रयोगकर्ता छन् । विशेषगरी टिकटको स्वामित्वलाई लिएर सांसदहरूले देशको डेटा चिनियाँ सरकारमा जान सक्ने चिन्ता व्यक्त गरेका थिए । किनभने चिनियाँ सरकारले आफूले चाहेको बेला बाइटडान्सलाई जुनसुकै प्रयोगकर्ताको डेटा माग्न सक्छ । टिकटकले डेटा सुरक्षित रहने दाबी गरेको भए पनि सांसदले त्यसमा असमर्थन जनाउँदै आएका थिए । 

पारित भएको विधेयक कानूनका रुपमा लागू भएमा अदालत जाने अमेरिकास्थित टिकटकको पब्लिक पोलिसीका प्रमुख माइकल बेकरम्यान बताएका थियो ।

टिकटकको चीनसँगको सम्बन्धको कारण अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विषय उठेको हो । चीनले अमेरिकी टिकटक प्रयोगकर्ताका माध्यमबाट ठूलो मात्रामा डेटा सङ्कलन गरिरहेको चिन्ताका कारण टिकटक प्रतिबन्धित हुनुपर्नेमा अमेरिकाले जोड दिइरहेको छ ।

“यस्तो कानून बनाउनु भनेको १७ करोड अमेरिकी प्रयोगकर्ताको अधिकारको हनन् हुनु हो,” उनले भने, “यसको विरुद्ध हामी निरन्तर लडिरहन्छौं ।” यता टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  शो जी च्युले जतिसुकै चुनौती वा धम्की आए पनि आफू पछि नहट्ने भन्दै भिडिओ पोस्ट गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८१ १०:३२