close

अब मोबाइल ब्यालेन्सबाटै मासिक १० हजारसम्मको भुक्तानी

रन्जन कोइराला रन्जन कोइराला

पुस २२, २०७६ १९:३०

अब मोबाइल ब्यालेन्सबाटै मासिक १० हजारसम्मको भुक्तानी

काठमाडौं । अब मोबाइलको ब्यालेसन्सबाटै अनलाईन सामान खरिद गर्न सकिने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ब्यालेन्स विद्युतीय माध्यमबाट बस्तु तथा सेवा खरिद गर्ने कार्यमा प्रयोग गर्न सकिने गरी तयार पार पारेको हो ।

उक्त कार्यविधि प्राधिकरणबाट सोमबार प्रमाणीत समेत भइसकेको छ । यससँगै अब मोबाइलको ब्यालेन्स वस्तु तथा सेवा खरिदमा प्रयोग गर्न सकिने सकिने सुविधा कानूनी रुपमा संभव भएको छ ।

प्राधिकरण बोर्डबाट यसअघि नै यो कार्यविधि पारित भएको भएतापनि सोमाबार प्रमाणीकरणको काम सकिएको प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘कार्यविधिले मोबाइलको ब्यालेन्स प्रयोग गरि विद्युतीय माध्यमबाट एक पटकमा एक हजार र मासिक १० हजार रुपैंयासम्मको सीमा भित्र रहेर वस्तु तथा सेवा खरिद गर्न सकिने व्यवस्था गरेको छ,’ उनले भने ।

दूरसञ्चार सेवाप्रदायकले पछिल्लो समय विभिन्न भ्यालु एडेड सर्भिस (भ्यास) उपलब्ध गराउँदै आएका छन् । त्यसमा टेलिभिजन, पीआरबीटी, सीआरबीटी लगायतका विभिन्न सेवा समेत रहेका छन् । यस्तो सेवाको लागि मोबाइलको ब्यालेन्स प्रयोग हुने भएकाले त्यस्ता सर्भिस खरिदका लागि समेत सीमा तोकिएको छ ।

अर्यालका अनुसार यो कार्यविधिले क्रमशः अनलाइन वस्तु खरिदलाई समेत समेट्नेछ । हालको अवस्थामा भने दूरसञ्चार सेवा प्रदायकको सिम कार्डमा रहेको ब्यालेन्स प्रयोग गरी खरिद गर्न सकिने अन्य सुविधा उपलब्ध नभएकाले सिमित सेवामा मात्रै यसको प्रयोग गर्न सकिनेछ ।

भोलिका दिनमा नेपाल टेलिकम, एनसेल लगायतका दूरसञ्चार सेवा प्रदायकले मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको खण्डमा समेत अहिलेको कार्यविधिले त्यसलाई समेट्नेछ । त्यसैले कार्यविधिमा विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा लाग्ने राजस्व तथा सेवा शूल्क मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हो ।

सम्बन्धित निकायले विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने गरी नीतिगत व्यवस्था गरेको अवस्थामा बिल अनुसारको रकम सहित मोबाइल व्यालेन्सबाटै भुक्तानी गर्न सकिने कार्यविधिमा उल्लेख छ । यसका साथै कार्यविधिले त्यसबाट हुने आम्दानीमा कुनै थप सेवा शूल्क नलाग्ने बनाएको छ ।

ई–सेवा, खल्तीजस्ता हाल सञ्चालनमा रहेका भुक्तानी सेवा प्रदायकबाट खरिद गर्न सकिने र उक्त खरिदमा दूरसञ्चार सेवा शुल्क नलाग्ने व्यवस्था रहेको हुँदा यसमा पनि सोही अनुरुपको व्यवस्था गरिएको अर्यालले स्पष्ट पारे । त्यसका लागि प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय गरिने बताइएको छ ।

साथै त्यस्ता सेवालाई व्यवस्थित गर्न प्राधिकरणले बिलिङ सिस्टम अनिवार्य गरेको छ । विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गरिएको रकमको बिल तथा विवरण अनिवार्य रुपमा ग्राहकलाई उपलब्ध गराउनुपर्ने शर्त राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०