सिप्रदी र यात्रीको सहकार्यमा ‘मेड इन नेपाल’ विद्युतीय स्कुटर ‘पी-टु’ बजारमा आउँदै
असार २६, २०८३ २०:३१
काठमाडौं । सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकल्सको संयुक्त लगानी (जोइन्ट भेन्चर) मा नेपालमै उत्पादित विद्युतीय स्कुटर ‘पी-टु’ (P-टु) छिट्टै बजारमा आउने भएको छ । विगत एक वर्षदेखि अध्ययन र अनुसन्धान भइरहेको यो परियोजना अहिले अन्तिम चरणमा पुगेको हो ।
कम्पनी स्रोतका अनुसार आगामी केही हप्ताभित्रै यसको आधिकारिक मिडिया ब्रिफिङ र सार्वजनिक घोषणा हुनेछ । सामाजिक सञ्जालमा ‘द नेक्स्ट च्याप्टर’ लेख्दै कम्पनीले स्कुटर बजारमा आउन तयारी अवस्थामा रहेको संकेत दिइसकेको छ ।
नेपालको भौगोलिक अवस्था र सडकलाई सुहाउँदो गरी डिजाइन गरिएको यो स्कुटरले स्वदेशी निर्माण र नवप्रवर्तनमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ । यस परियोजनामा सिप्रदी ट्रेडिङ मुख्य लगानीकर्ताको भूमिकामा छ भने यात्री मोटरसाइकल्सले बजार अध्ययन, अनुसन्धान, डिजाइन र प्राविधिक विकासको जिम्मेवारी सम्हालेको छ ।
यो स्कुटरको परीक्षण प्रयोगशालामा मात्र सीमित नराखी वास्तविक नेपाली सडकहरूमा अत्यन्तै मिहिन ढंगले गरिएको कम्पनीको भनाइ छ । देशका विभिन्न सडक मार्गमा स्कुटरको ब्याट्री र कार्यक्षमताको परीक्षण गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।
‘पी-टु’ स्कुटरमा ‘मेड इन नेपाल’ ब्याचसहित मिड-माउन्ट मोटर, ट्युबलेस अलोय ह्विल, दुवै पाङ्ग्रामा डिस्क ब्रेक र आकर्षक ‘शार्प एज’ स्पोर्टी डिजाइन रहने चर्चा छ ।
अब स्वदेशी ब्रान्डका रूपमा ‘पी-टु’ ले विदेशी ब्रान्डका विद्युतीय स्कुटरहरूसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
यात्रीले यसअघि नै विद्युतीय मोटरसाइकलमार्फत चर्चा कमाइसकेको छ भने सिप्रदी नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८३ २०:४४
