गणेश नेपाली आत्मदाह प्रकरणमा छानबिन गर्न डीआईजी थपलियाको नेतृत्वमा समिति गठन, तीन नगर प्रहरी नियन्त्रणमा
असार २६, २०८३ १६:४५
काठमाडौं । राइडर गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिनका लागि सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरुङले घटनाको छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए ।
मन्त्री गुरुङका अनुसार घटनाको प्रारम्भिक सोधपुछ र छानबिनका लागि काठमाडौँ महानगरपालिकाका तीन जना नगर प्रहरीलाई समेत नियन्त्रणमा लिइएको छ । संसदमा बोल्दै गृहमन्त्री गुरुङले गणेश नेपालीको ज्यान जोगाउन सरकारले रातभर खटेर हरसम्भव प्रयास गरेको बताए ।
उनले भने, “हामीले आफ्ना नागरिकलाई बचाउन भीभीआईपी सुरक्षा दिएर एयरपोर्टसम्म पुर्याउने र उपचारका लागि भारतको ‘एम्स’ अस्पतालसँग समेत समन्वय गरेका थियौँ । एयर एम्बुलेन्स स्ट्यान्डबाइ राखिएको थियो, तर चिकित्सकहरूको सल्लाह र स्वास्थ्य अवस्थाका कारण उहाँलाई बचाउन सकिएन ।”
विपक्षी दलहरूले सरकारको सक्रियतालाई स्टन्टबाजी भनेकोमा आपत्ति जनाउँदै मन्त्री गुरुङले नागरिकको रक्षाका लागि गरिने प्रयासलाई राजनीति नगर्न आग्रह गरे । उनले घटनाको मुख्य कारक मानिएको ‘ह्वील लक’ (पाङ्ग्रामा साँचो लगाउने काम) नगर प्रहरीले गरेको उल्लेख गर्दै स्थानीय सरकारको जवाफदेहितामाथि पनि प्रश्न उठाए ।
“जुन ठाउँमा घटना घट्यो, त्यहाँ ट्राफिक प्रहरीले ह्वील लक गरेको होइन, नगर प्रहरीले गरेको हो,” गृहमन्त्रीले थपे, “नियम कानुनको कार्यान्वयन गर्दा मानवीय संवेदनालाई बिर्सन हुँदैन। यस घटनामा कसको कहाँ त्रुटि भयो भन्ने कुरा छानबिन समितिले बाहिर ल्याउनेछ ।”
पछिल्लो अध्यावधिक: असार २६, २०८३ १६:४५
