close

गुगल म्याप जस्तै आकाशको नक्सा हेर्न सकिने एप

टेकपाना टेकपाना

साउन ८, २०७९ १६:१७

गुगल म्याप जस्तै आकाशको नक्सा हेर्न सकिने एप

काठमाडौं । रातको समयमा खुला आकाशमा चम्किरहेका तारा हेर्दै अनगिन्ती सपना बुन्न तपाईंलाई पनि रहर लाग्ला । आकाशमा हेर्दा अनेक चिज देखिन्छन्, तर यिनलाई के भनिन्छ हाेला ?

आज हामी एउटा माेबाइल एपको बारेमा कुरा गर्दैछाैं, जसको सहयोगले हामी आकाशमा देखिएका चम्किला चिज केके हुन् भन्ने जान्न सक्छौं ।

गुगल म्याप्सका माध्यमबाट जसरी पृथ्वीमा रहेका हरेक कुराको जानकारी पाउन सकिन्छ, त्यसरी नै आकाशमा रहेका प्रायः तत्त्वको जानकारी पाउन स्काई म्याप एप प्रयोग गर्न सकिन्छ ।

स्काई म्याप एप गुगलको एक इन्जिनियर समूहले सन् २०१२ मा डिजाइन गरेकाे थियाे । पछि त्यसलाई ओपन सोर्सका रूपमा उपलब्ध गराइयो । यो एप हाल स्काई म्याप डेभलपरको स्वामित्वमा रहेको छ ।

यो एप एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित भएकाले एन्ड्रोइड डिभाइसका लागि मात्र उपलब्ध छ । यहाँ क्लिक गरी एप डाउनलोड गर्न सक्नुहुन्छ ।

याद गर्नुहोस्, यो एप सपोर्ट गर्न तपाईंको डिभाइस एन्ड्रोड ८ वा त्यसपछिका संस्करण हुनुपर्छ ।

डाउनलोड गरिसकेपछि तपाईंले सेवाका नीतिहरू (टर्म्स अफ सर्भिस) स्वीकार गर्नुपर्ने हुन्छ । यो एप गुगलद्वारा प्रायोजित गरिएकाले यसमा भर पर्न सकिन्छ । तर, परिणाम १०० प्रतिशत सही हुन्छ भन्ने चाहिँ हुँदैन ।

अलिकति तल माथि पर्नसक्ने स्काई म्याप टिमले नै स्वीकारेको छ । टर्म्स अफ सर्भिस स्वीकार (एसेप्ट) गरी सकेपछि स्काई म्यापलाई लोकेसनको एक्सेस दिनपर्ने हुन्छ ।

तपाईंले लोकेसनको एक्सेस दिइसकेपछि आकाशमा रहेका हरेक कुराको जानकारी हेर्न सकिन्छ । यदि तपाईंलाई कुनै पनि ग्रह वा तारा हेर्नु छ भने माथि रहेको सर्च आइकनमा सो ग्रह नाम सर्च गर्नुहोस् ।

जसरी तपाईंले गुगल म्यापमा कुनै ठाउँ सर्च गर्दा त्यसको दिशा देखाउँछ, त्यसरी नै यसमा सो ग्रह वा तारा कुन ठाउँमा छ भन्ने देखाउँछ ।

तपाईंले यो एपमा आफ्नो आवश्यकता अनुसार तारामण्डल, सौर्यमण्डल, ग्रह आदि लुकाउन (हाइड) गर्न पनि सक्नुहुन्छ । त्यस्तै यो एपमा रहेको ग्यालरी सेक्सनबाट ग्रह, नेबुला, ब्रह्माण्ड आदि हेर्न सक्नुहुन्छ ।

त्यस्तै यो एपमा एउटा म्यानुअल मोड रहेको छ भने अर्को अटोमेटिक मोड रहेको छ । अटोमेटिक मोडमा छ भने तपाईंले फोन देखाएको ठाउँमा कुनकुन आकाशीय पिण्ड छन् भन्ने हेर्न सकिन्छ भने म्यानुअल मोडमा आफैले स्क्रोल गरेर हेर्नुपर्ने हुन्छ ।

त्यस्तै एपमा टाइम ट्राभल (समय यात्रा) को विकल्प पनि रहेको छ, जसमा कुन दिन आकाश कस्तो देखिन्छ भन्ने हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३