close

ठेकेदार कम्पनी डेकाटुरले भन्यो- देवनागरी लिपिमा इम्बोस्ड नम्बर लेख्न ७७ करोड खर्च लाग्छ

टेकपाना टेकपाना

भदौ ६, २०७९ ८:६

ठेकेदार कम्पनी डेकाटुरले भन्यो- देवनागरी लिपिमा इम्बोस्ड नम्बर लेख्न ७७ करोड खर्च लाग्छ

काठमाडौं । देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ। कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो । सोही पत्रको जबाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपियाँको थियो ।  

यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, “देवनागरी लिपिमा लेख्न सम्भव रहेको पत्र आएको छ तर त्यसका लागि समय र लगानी थप गर्नुपर्ने माग गरिएको छ । पत्र यातायात मन्त्रालयमा पठाएका छौँ ।”

मन्त्रालयले कम्पनीलाई विस्तृत विवरणसहितको खर्च माग्ने भएको छ। मन्त्रालयका प्रवक्ता चूडाराज ढकालले भने, “खर्च बढी हुने देखिएको छ। पुनः विस्तृत वितरण माग्ने भनेका छौँ । छलफलमै छौँ ।”

विगतको सम्झौता र बाँडिएका नम्बर प्लेटलाई के गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण रहेको विभागले जनाएको छ। उनका अनुसार देवनागरी लिपिमा लेख्दा नम्बर प्लेटको पुनः डिजाइन गर्नुपर्ने हुन्छ । लगानी बढ्दा सेवाग्राहीलाई पनि महँगो पर्छ ।

गत २०७४ भदौमा इम्बोस्ड प्लेट जडान सुरु भएदेखि भाषा र प्रदेशको नामका बारेमा विवाद हुँदै आएको छ। प्लेटमा नेपाली भाषाको अङ्क र अक्षर प्रयोग नभएको विषय सर्वोच्च अदालतमा पुगेको थियो ।

अदालतले २०७४ फागुनमा सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि प्लेटको वितरण रोकिएको थियो ।

२०७६ मङ्सिर २७ गते हाल निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको थियो ।

खारेजपछि वितरण पुनः सुरु भएको थियो । संसदीय समितिले पनि देवनागरी लपिमै लेख्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

गाेरखापत्रबाट । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४