close

सक्किगोनिले युट्युबबाट हटायो वनएक्सबेटको ‘प्रमोसन’, च्यानलको नाम समेत फेरियो 

टेकपाना टेकपाना

भदौ १५, २०७९ २०:४१

सक्किगोनिले युट्युबबाट हटायो वनएक्सबेटको ‘प्रमोसन’, च्यानलको नाम समेत फेरियो 

काठमाडौं । जेपीटी क्रियसनले हास्ट टेलिश्रृङ्खला सक्किगोनिबाट अनलाइन सट्टेबाजी साइट वनएक्स बेटको प्रवर्द्धनात्मक सामग्री हटाएको छ । जेपीटी क्रियसन सहितका युट्युब च्यानलमा अवैध सट्टेबाजीको प्रमोसन भइरहेको समाचार टेकपानामा प्रकाशित भएपछि उक्त सामग्री हटाइएको हो ।

युट्युब च्यानलमा अपलोड गरिएका भिडिओबाट वनएक्स बेटको प्रोमो कोड सहित त्यससम्बन्धी प्रचार सामग्री मेटाइएको छ । साथै युट्युब च्यानलको नाम समेत जेपीटी क्रियसनबाट परिवर्तन गरी ईएच डिजिटल बनाइएको छ ।

टिभी सिरियल सक्किगोनिका निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले भने टेकपानासँगको कुराकानीमा आफूलाई त्यस विषयमा जानकारी नभएको बताए । “सक्किगोनि टिम त्यस किसिमका गतिविधिमा संलग्न छैन,” उनले भने, “युट्युब च्यानलको स्वामित्व र त्यसमाथिको नियन्त्रण सबै एडरिलिज (टेलिजेन मिडिया)सँग रहेको छ ।”

उनले सक्किगोनि सिरियलको भिडिओमा वनएक्स बेटको विज्ञापन हुने गरेको विषयमा समेत अनभिज्ञता प्रकट गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले यो विषयमा अनुसन्धानका लागि साइबर ब्युरोमा ‘फरवार्ड’ गरिएको बताए ।

सक्किगोनि टेलिसिरियलको युट्युब भिडिओबाट वनएक्स बेटको विज्ञापन तथा प्रमोसनल सामग्री हटाइएको भए पनि जालान, एलिश राई, बल्छी धुर्वे, द पीके भाइन्स लगायतका युट्युब च्यानलमा भने उक्त सामग्री यथावत छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३