close

अमेजनकै क्लाउड प्रदायक जेनसमाथि होस्टिङ डेटा नष्ट पारेको आरोप, नेपालका सीईओ पक्राउ

टेकपाना टेकपाना

भदौ २३, २०७९ १९:४७

अमेजनकै क्लाउड प्रदायक जेनसमाथि होस्टिङ डेटा नष्ट पारेको आरोप, नेपालका सीईओ पक्राउ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्युरोले अनधिकृत रुपमा होस्टिङ गरिएको डेटा नष्ट पारेको आरोपमा जेनस सोलुसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशन्न पोखरेललाई पक्राउ गरेको छ । सुन्दर ग्रुप अफ कम्पनिज प्रालिको होस्टिङ गरिएको डेटा नष्ट गरी क्षति पुर्‍याएको आरोपमा कम्पनीका सीईओ पक्राउ परेका हुन् ।

सुन्दर ग्रुप अफ कम्पनिज प्रालिले आफ्नो कम्प्युटर तथा लेखा सम्बन्धी उपकरणहरूको कारोबार, कम्प्युटर थोक व्यापार र अन्य विविध वस्तुको आयात गर्ने लगायतको काम गर्दै आएको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी निर्माण गरिएको वेब पोर्टल र डेटा जेनस सोलुसन प्रालिमार्फत होस्टिङ गराएको थियो ।

तर जेनस सोलुसनमाथि अनधिकृत रुपमा होस्टिङ अकाउन्टमा प्रवेश गरी विना पूर्व सूचना सम्पूर्ण डेटा नष्ट गरी क्षति पुर्‍याएको आरोप लागेको छ । प्राप्त उजुरी माथि ब्युरोले गरेको प्रारम्भिक अनुसन्धानबाट उक्त कार्यमा संलग्न देखिन आएकाले ललितपुरको झम्सिखेल स्थित जेनस सोलुसन प्रालिका सीईओ पोखरेललाई पक्राउ गरिएको हो ।

काठमाडौं महानगरपालिका बत्तिसपुतली स्थायी बसोबास रहेका उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट २१ भदौमा पक्राउ अनुमति लिई ब्युरोको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । २२ भदौमा पक्राउ परेका पोखरेलमाथि अदालतको २३ भदौको आदेशले तीन दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।  

जेनस सोलुसनको ग्लोबल सीटीओमा अञ्जनीकुमार फुयाँल, पाकिस्तान सीईओमा राजा मेहमूद र बङ्ग्लादेशका लागि प्रबन्ध निर्देशकमा जियाउल हुसेन रहेका छन् । जेनस सोलुसनले आफूलाई अमेजन वेब सर्भिस तथा क्लाउड कन्सल्टिङ कम्पनीको आधिकारिक क्लाउड कन्सल्टिङ प्रदायक दाबी गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३