close

टिभीमा पैसा तिरेर विश्वकप फुटबल हेर्दा पनि विज्ञापन देखिन्छ ?

टेकपाना टेकपाना

मंसिर १, २०७९ १४:८

टिभीमा पैसा तिरेर विश्वकप फुटबल हेर्दा पनि विज्ञापन देखिन्छ ?

काठमाडौं । नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्नका लागि उपभोक्ताले भ्याटसहित कुल ५६५ रूपैयाँ थप शुल्क तिर्नुपर्ने भएकाे छ । यसको अर्थ उपभोक्ताले विश्वकप हेर्दा सब्स्क्रिप्सन प्याकेज लिनुपर्ने हुन्छ ।

सब्स्क्रिप्सन लिएपछि विश्वकप हेर्दा अन्य विज्ञापन देखिन्छ वा देखिँदैन भन्ने जिज्ञासा तपाईँलाई हुनसक्छ । यसबारे टेकपानासँग कुरा गर्दै मिडिया हब प्रालिका अध्यक्ष सोमप्रसाद धितालले भने, ''विश्वकप फुटबल हेर्दा बाह्य विज्ञापन प्रसारण हुन्छ । याे स्वाभाविक नै हाे । इन्टरभलमा ८/१० मिनेटको विज्ञापन देखाउँछाैं । खेलकाे अन्य समयमा आवश्यकता अनुसार विज्ञापन देखिनसक्छ ।"

मिडिया हबले फिफा विश्वकप २०२२ का लागि भारतकाे भायकमसँग २० कराेड २५ लाख नेपाली रूपैयाँमा नेपालमा प्रसारण अधिकार खरिद गरेकाे हाे । यसपछि मिडिया हबले विज्ञापनका लागि एडप्याड एक्युजिसन मार्केटिङसँग सम्झौता गरेको छ । 

कम्पनीले विज्ञापनसँगै उपभाेक्ताबाट शुल्क उठाउने याेजना बनाएकाे छ । यसका लागि उपभाेक्ताले टेलिभिजन सेवाप्रदायकलाई आफ्नो नियमित शुल्कबाहेक थप ५६५ रुपैयाँ तिर्नुपर्ने छ । 

आउँदो आइतबारदेखि सुरू हुने विश्वकप फुटबल २०२२ काे प्रत्यक्ष प्रसारण नेपालमा हिमालयन प्रिमियर एचडी च्यानलबाट हुनेछ । यसका लागि हालसम्म तीन ओटा केबल नेटवर्कसँग सम्झौता भएको धितालले जानकारी दिए ।

''अहिलेसम्म क्लियर टिभी, नेट टिभी र भाया टिभीसँग सम्झौता भएको छ । अन्य केबल नेटवर्क अपरेटरसँग पनि छलफल चलाइरहेका छाैं,'' उनले भने ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ १४:१८