close

ट्वीटरको ब्लु टिक वितरण आजबाट सुरु: आईफोन प्रयोगकर्ताले ११ डलर तिर्नुपर्ने

टेकपाना टेकपाना

मंसिर २६, २०७९ ७:५९

ट्वीटरको ब्लु टिक वितरण आजबाट सुरु: आईफोन प्रयोगकर्ताले ११ डलर तिर्नुपर्ने

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले 'ब्लु सब्स्क्रिप्सन' फिचर आजबाट पुन: सुरु भएको छ । एलन मस्कले ट्वीटरको ब्लु सब्स्क्रिप्सनलाई सशुल्क बनाए पछि यो फिचर विवादमा आएको थियो । यसपछी गत नोभेम्बर ११ बाट कम्पनीले उक्त फिचर बन्द गरेको थियो । एक महिनापछि केही नियमहरू परिमार्जन गर्दै आजबाट यो फिचर पुन: सुरु गरिएको हो । 

कम्पनीका अनुसार वेबसाइटबाट ब्लु सब्स्क्रिप्सन सेवा लिने ग्राहकले ८ डलर (करिब एक हजार ५० रुपैयाँ) तिर्नुपर्नेछ भने आईफोन प्रयोगकर्ताले ११ डलर (करिब एक हजार चार सय ४४ रुपैयाँ) तिर्नुपर्ने हुन्छ । एप्पलले कुनै पनि एप इन-एप पर्चेज मोडलमा गइसकेपछि आम्दानी ३० प्रतिशत रकम कटौती गर्ने गर्छ । त्यसैलाई पूर्ति गर्न कम्पनीले आईफोन प्रयोगकर्ताका लागि थप शुल्क राखेको हो ।

नामका पछाडि ब्लुटिक पाउन चाहने जोकोहीले सबैभन्दा पहिले आफ्नो फोन नम्बर राख्नुपर्ने नियमलाइ अनिवार्य गरिएको छ । ब्लुटिक पाइसकेपछि प्रोफाइल फोटो वा ह्याण्डल परिवर्तन गर्ने ग्राहकको अकाउन्टबाट भने ब्लुटिक हट्ने व्यवस्था छ । 

कम्पनीका अनुसार यो सेवा लिने ग्राहकले ब्लु टिक मार्क सहित ट्वीट एडिट गर्न मिल्ने फिचर, १०८० पिक्सेलका भिडिओ अपलोड गर्ने सुविधा, रिडर मोड लगायतका फिचरमा एक्सेस पाउनेछन् । त्यस्तै ब्लु सब्स्क्रिप्सनका ग्राहकको फिडमा तुलनात्मक हिसाबले कम विज्ञापन देखिनेछ ।

कम्पनीका अनुसार आधिकारिक कम्पनीलाई दिएको अफिसियल ट्याग पनि यो फिचर सार्वजनिक भएसँगै हट्नेछ । त्यस्ता आधिकारिक कम्पनीले गोल्ड चेकमार्क पाउनेछन् । त्यस्तै सरकारी स्वामित्वका कम्पनी वा कार्यालयले खैरो चेकमार्क पाउने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २६, २०७९ ८:५८