close

क्रिप्टोकरेन्सीबाट अर्बपति हुँदै कङ्गाल बनेका ब्याङ्कम्यान अमेरिकी इतिहासकै ठूलो ठगी आरोपमा पक्राउ

टेकपाना टेकपाना

मंसिर २८, २०७९ १४:५१

क्रिप्टोकरेन्सीबाट अर्बपति हुँदै कङ्गाल बनेका ब्याङ्कम्यान अमेरिकी इतिहासकै ठूलो ठगी आरोपमा पक्राउ

काठमाडौं । एक महिनाअघि कङ्गाल (बैकंरप्ट) भएको कम्पनी एफटीएक्स (FTX)का संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम ब्याङ्कम्यान-फ्रिड पक्राउ परेका छन् । अमेरिकी सरकारले ब्याङ्कम्यान-फ्रिड विरुद्ध मुद्दा दायर भएपछि पक्राउ अनुमति दिएको थियो । सोही आधारमा उनलाई मंगलबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्रिप्टो एक्सचेन्ज कम्पनी एफटीएक्स र त्यससँग आबद्ध 'अलमिडा रिसर्च'ले ग्राहकले जम्मा गरेको रकम गैरकानूनी रूपमा प्रयोग गर्दै आएको थियो । त्यसको खुलासा भएसँगै कम्पनी बन्द भयो । तर, ग्राहकले जम्मा गरेको रकम फिर्ता दिन नसकेपछि कम्पनी बैंकरप्ट भएको थियो ।

कम्पनी बन्द भइसकेपछि सामले यो हप्ता सुनुवाइमा बयान दिने तयारी गरिरहेका थिए । लामो समयसम्म बजारमा रामै प्रभाव बनाएका र आफूलाई सबैभन्दा कान्छो अर्बपतिका रूपमा स्थापित गरेका साम पछिल्लो समय विभिन्न मिडियालाई उक्त घटनाबारे जानकारी दिँदै आएका थिए ।

हाल साम ब्याङ्कम्यानले अमेरिकामा वायर फ्रड, मनी लन्ड्रिङ र ठगीको षड्यन्त्रसहित आठ आपराधिक आरोपको सामना गरिरहेका छन् । उनले कम्पनीमा एक अर्ब डलरभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई भ्रमित गर्ने अभियोगको सामना पनि गर्नुपर्ने बताइएको छ ।

सामले न्यू योर्क पोस्टलाई अन्तर्वार्ता दिँदै आफू पक्राउ नहुने कुरा बताउँदै आएका थिए । त्यसको केही घण्टामै उनलाई प्रहरीले हिरासतमा लियाे ।

क्यालिफोर्निया अमेरिकामा बस्दै आएका साम ब्याङ्कम्यानले आठ वर्षअघि अलमिडा रिसर्च नामक क्रिप्टो फर्म स्थापना गरेका थिए । त्यसबाट राम्रो आम्दानी हुन थालेपछि उनले आफ्नी प्रेमिका क्यारोलाइन इलिसनलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेका थिए ।

यसरी हरेक दिन लगानीकर्ताको आकर्षणको केन्द्रविन्दु बन्दै कम्पनी अघि बढ्दै थियो । त्यसको केही महिनापछि सामले 'एफटीएक्स' नामक क्रिप्टो एक्सचेन्ज कम्पनी खोले ।

यो त्यस्तो कम्पनी थियो, जहाँ मानिसहरूले क्रिप्टो एक्सचेन्ज गर्न सक्थे । उनको क्रिप्टो एक्सचेन्ज कम्पनीले पनि राम्रै आम्दानी गरिरहेको थियो । त्यहीबेला सामले आफ्नै क्रिप्टोकरेन्सी एफटीटी पनि सार्वजनिक गरे । एफटीएक्स प्लेटफर्मबाट क्रिप्टो एक्सचेन्ज गरी एफटीटी करेन्सी खरिद गर्ने ग्राहकलाई उनीहरूले विभिन्न अफर दिन थाले ।

त्यसपछि एफटीटीमा मानिसहरूको आकर्षण बढ्दै गयो । र, लगानी गर्न थाले । तर, साम ब्याङ्कम्यानले ग्राहकले लगानी गरेको पैसा निकालेर अन्य क्रिप्टोकरेन्सीमा लगानी गरिरहेका थिए । यो विषय धेरै गोप्य राखिएको थियो । किन कि यो कुरा बाहिर आउनासाथ साम फस्नेवाला थिए ।

द वाल स्ट्रिट जर्नललाई अन्तर्वार्ता दिने क्रममा सामकी प्रेमिकाले उक्त कम्पनी ग्राहकको पैसा अन्तै लगानी गरिरहेको कुरा बाहिर ल्याइन् । त्यसपछि यो विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छायो । यो देखेर लगानीकर्ता त्रसित भए । यहाँसम्म पनि सामले धेरै कुरा सम्हालिरहेका थिए ।

तर, एफटीएक्सको सबैभन्दा ठूलो लगानीकर्तामध्येका एक बाइनान्सका संस्थापकले सीजेटले आफूसँग भएको एफटीटी क्रिप्टोकरेन्सी बिक्री गर्ने भन्दै ट्वीट गरे । यही ट्वीटले गर्दा एफटीटीमा लगानी गर्नेहरूले सबै पैसा निकाल्न खोजे, जसले गर्दा कम्पनीमा जम्मा भएको रकम सकियो । र, कम्पनी कङ्गाल बन्यो ।

अन्य लगानीकर्तालाई फिर्ता दिने पैसा नभएपछि सामले ट्वीट गर्दै कम्पनी कङ्गाल भएको घोषणा गरे । अहिले यही घटनामा सामलाई विभिन्न आरोप लागेका छन् । जसमध्ये केही सुनुवाइ भइसकेका छन् भने केही सुनुवाइ हुने प्रक्रियामा छन् । अमेरिकी इतिहासमा सबैभन्दा ठूलो रकम ठगी गर्ने साम ब्याङ्कम्यानको कथा यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०७९ १५:२८