close

अफिसियल मार्क हटाउँदै ट्वीटरले दियो कम्पनीहरूलाई गोल्डेन चेकमार्क

टेकपाना टेकपाना

पुस १, २०७९ १४:३९

अफिसियल मार्क हटाउँदै ट्वीटरले दियो कम्पनीहरूलाई गोल्डेन चेकमार्क

काठमाडौं । लामो विवादपछि ट्वीटरले सब्स्क्रिप्सन सेवा पुनः सार्वजनिक गरेको छ । याेसँगै कम्पनीहरूले ट्वीटर ह्याण्डलमा गोल्डेन चेकमार्क, सरकारी व्यक्ति वा कार्यालयले बायोमा सरकारी भएको ग्रे कलरको संकेत र सेलिब्रेटीले ब्लु कलरको चेक मार्क पाउन थालेका छन् ।

सुरुवाती अवस्था भएकाले ट्वीटर आफैंले प्रयोगकर्ता पहिचान गर्दै ट्वीटर ह्याण्डल अनुसार चेक मार्क वर्गीकरण गर्दै आएको छ । हाल विश्वका चर्चित कम्पनी तथा सरकारी कर्मचारीकाे अकाउन्टमा उक्त संकेत देख्न सकिन्छ ।

यसअघि ११ नोभेम्बरमा ट्वीटरले ब्लु भेरिफिकेसन सेवा सार्वजनिक गरेको थियो । उक्त सेवाको सदुपयोग गर्दा प्रयोगकर्ताले मासिक ८ डलर तिरेर उक्त टिक खरिद गर्न सक्थे । तर, विभिन्न व्यक्तिहरूले चर्चित कम्पनीको नाम दुरुपयोग गर्दै ब्लु टिक लिएर कम्पनीको बदनाम गर्न थाले ।

यसरी नाम बदनाम हुँदा ट्वीटरको शेयर घट्यो । अन्त्यमा केही उपाय नलागेपछि कम्पनीले उक्त सेवा केही समयका लागि बन्द गर्नुपर्ने भयो । अहिले भने ट्वीटरले कम्पनीलाई गोल्डेन चेकमार्क, सेलिब्रेटीलाई ग्रे र सेलिब्रेटीलाई ब्लु टिक दिन थालेको हो ।

अब खरिद गर्नेहरूले ब्लु टिकमात्र पाउँछन्, जसले गर्दा ती ब्लु टिक पाउने ती व्यक्तिहरू सेलिब्रेटी हुन् वा उनीहरूले उक्त टिक खरिद गरेका हुन् भन्ने बुझिन्छ । ट्वीटर ब्लु खरिद गर्ने प्रयोगकर्ताले एन्ड्रोइडबाट ८ डलर तिर्नुपर्नेछ भने आईओएसबाट ११ डलर तिर्नुपर्ने हुन्छ ।

एप्पलले कुनै पनि एप ईन‍-एप पर्चेज मोडेलमा गएपछि कम्पनीले ३० प्रतिशत बढी लिने गर्छ । त्यसैलाई पूर्ति गर्न कम्पनीले आईओएस प्रयोगकर्ताबाट बढी शुल्क लिने निर्णय गरेको हो । अहिले ठूला कम्पनीको नामका पछाडि गोल्डेन चेकमार्क देखिन थालेको छ ।

यसअघि ती कम्पनीको नामको तल अफिसियल लेखिएको थियो । उक्त अफिसियल मार्क हटाउँदै कम्पनीले गोल्डेन चेकमार्क उपलब्ध गराएको हो । सुरुवातमा न्यू योर्क टाइम्स र टेको बेल्स जस्ता कम्पनीले पाएको उक्त गोल्डेन चेक मार्क अहिले ठूला कम्पनीले पनि पाएका छन् ।

त्यस्तै सरकारी व्यक्ति वा कार्यालयको ट्वीटर ह्याण्डलको नामको तल कुन संस्था हो भन्ने खुलाइएको हुन्छ । र, सेलिब्रेटीको नामका पछाडि ब्लु टिक राखिएको छ । 

पछिल्लो अध्यावधिक: पुस १, २०७९ १४:३९