close

कलाकार दीपक र दीपाश्रीमाथि साइबरबुलिङ ! आखिर के हो यो ?

टेकपाना टेकपाना

असार २९, २०७७ १७:२०

कलाकार दीपक र दीपाश्रीमाथि साइबरबुलिङ ! आखिर के हो यो ?

काठमाडौं । हास्य कलाकार तथा छक्कापञ्जा चलचित्र टिमका अभिनेता दीपकराज गिरीले आफूहरु माथि साइबर बुलिङ भएको बताएका छन् । आईतबार साँझ फेसबुक लाइभमार्फत उनले नियोजित रुपमा फेक आईडीबाट आफूहरुलाई लगातार रुपमा लखेट्ने काम भएको बताएका हुन् ।

केही दिन अघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अभिनेत्री तथा निर्देशक दीपा निरौलाले राजेश हमालको महानायकको उपाधीमाथि प्रश्न उठाएकी थिइन् । त्यसयता समाजिक सञ्जालमा दीपा र दीपकप्रति नकारात्मक टिप्पणीको वर्षा भइरहेको छ । ‘साइबर सुरक्षा विज्ञसँग बुझ्दा हामीलाई प्रहार गर्ने ७५ कमेन्ट फेक आईडीबाट आएको देखिएको छ,’ उनले भने, ‘यस्ता फेक आईडीको जमात संगठित ।’

सरकारलाई समेत हल्लाउन सक्ने यस्ता सयौं नक्कली फेक आईडीको चाररपाँच जना मानिसबाट सञ्चालित रहेको उनको दाबी छ । ‘रवि लामिछानेलाई समेत केही समय अघि त्यसै गरी प्रहार गर्ने काम भएको थियो,’ उनी अगाडि भन्छन्, ‘हाम्रो सपोर्टमा मानिसहरु बोल्नै सकिरहेका छैनन् । बोलेमा तिनै नक्कली आईडीबाट लखेट्ने काम गरिन्छ । यतिसम्म कि म्यासेज गरेर समेत गाली गर्ने काम हुन्छ ।’

बोल्ने स्वतन्त्रताको कुरा गर्दा बोलेको कुरालाई लिएर बोल्नै पाइँदैन भन्ने अवस्था सिर्जना गर्न खोजिएको दीपकको दुःखेसो छ । उनी भन्छन्, ‘तर स्वतन्त्रताको नाममा यस्ता नक्कली आईडी होल्डरहरुलाई किन कारबाही गर्न सक्दैनौं ? आईडी बनाउने कुरामा किन आफ्नो नागरिकता वा पासपोर्ट राख्ने व्यवस्था गर्न सक्दैनौं ?, हामी बोल्नै सकिरहेका छैनौं, साइबर बुलिङमा परेका छौं ।’

सेलाउन लागे पनि विवादलाई अनावश्यक रुपमा लम्ब्याउने काम भएको दीपकको बुझाई छ । ठूला ठूला शासकबाट समेत गल्ती हुने गरेको र माफी माग्दा सेलाउने गरेको दृष्टान्त दिँदै उनले आफूहरु विरुद्ध छेडिएको विवादलाई भने नियोजित रुपमा मत्थर हुन नदिइएको बताएका छन् । गालीहरुको वर्षाकै कारण सहकर्मी दीपा डिप्रेसनमा जाने अवस्था उत्पन्न भएको उनको भनाई छ ।

दीपाले अभिवावकत्व लिनुपर्ने अर्थमा बोल्न खोजे पनि शब्द चयनमा चुकेको स्पष्टीकरण उनको छ । ‘ जे भए पनि त्यो हाम्रो गल्ति हो, म हात जोडेर माफी माग्छु,’ उनले भनेका छन् । ‘कुनै एउटा ग्रुपबाट अर्को ग्रुपलाई प्रहार गर्ने काम हुँदै आइरहेको छ । यति लामो विवाद, जुन ट्रेन्डिङमा आइरहेको छ, यो स्वभाविक छैन ।’

राजेश हमालको समर्थनमाभन्दा पनि छक्कापञ्जा ब्राण्डमाथि प्रहार गर्ने उद्देश्यका साथ यस्तो काम भइरहेको दीपकले उल्लेख गरेका छन् । आफ्नो टिमको राजेश हमालप्रतिको अभिव्यक्ति गलत भएको स्वीकार गर्दै उनले दीपाको बचाउ समेत गरेका छन् ।

वास्तवमा के हो साइबर बुलिङ ?

अङ्ग्रेजी अक्षर बुलिङको सामान्य अर्थ आफूभन्दा साना तथा कमजोरलाई चोट पुर्‍याउने तथा डर देखाउनु हो । प्रायः जसो यस किसिमको गतिविधि त्यस्ता व्यक्तिहरुलाई उनीहरुले नचाहेको कार्य जबरजस्त रुपमा गर्न बाध्य पार्ने उद्देश्यका साथ हुने गर्दछ ।

यदि यस किसिमको अनुचित गतिविधि गर्ने कार्यमा डिजिटल प्रविधिको प्रयोग भएको छ भने त्यसलाई नै साइबर बुलिङ मानिन्छ । यसको अर्थ अझै व्यापक छ । यस किसिमको कार्य सामाजिक सञ्जाल, म्यासेजिङ प्लेटफर्म, गेमिङ प्लेटफर्म तथा मोबाइल फोनहरुमार्फत हुनसक्छ ।

म्यारियम वेबस्टर डिक्सनरीका अनुसार साइबरबुलिङ सब्द पहिलो पटक सन् १९९८ मा प्रयोग भएको थियो । जसमा यसलाई कुनै व्यक्तिलाई लक्षित गरी विद्युतीय माध्यमबाट प्राय छद्म रुपमा स्वार्थी चरित्रका म्यासेजहरु पोस्ट गर्ने प्रवृत्तिको रुपमा व्याख्या गरिएको छ ।

कसैलाई डर देखाउने, चिँढ्याउने वा लज्जित तुल्याउने कार्यमा डिजिटल प्रविधि प्रयोग भएको अवस्थालाई समेत साइबर बुलिङको अर्थमा बुझ्ने गरिएको छ । उदाहरणको लागि असत्य विषयलाई फैलाउनु, लज्जित तुल्याउने गरी सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नु, चोट पुर्‍याउने म्यासेज पठाउनु वा च्याटमार्फत धम्की दिनु, कसैको खातिर अरुलाई म्यासेज पठाउनु वा कमेन्ट गर्नु आदि जस्ता गतिविधि समेत साइबर बुलिङ भित्र पर्दछन् ।

सामान्यतयाः यस किसिमको गतिविधिबाट किशोर किशोरी तथा बालबालिकाहरु बढी प्रभावित हुने गरेका छन् । अनलाइन माध्यमको प्रयोग निकै बढिरहेको हालको सन्दर्भमा साइबर बुलिङका घटनाहरु समेत त्यही अनुपातमा बढोत्तरी हुँदै गएको छ । प्रायः जसो साइबरबुलिङ छद्म रुपमा अर्थात नक्कली आईडीबाट हुने भए पनि उनीहरुको पहिचान गर्न नसकिने भने होइन ।

त्यस्ता व्यक्तिहरुले डिजिटल पदचिन्ह अर्थात छापहरु छोडेर गएका हुन्छन् । तिनै पदचिन्ह त्यस किसिमको गतिविधि रोक्नका लागि प्रमाणको रुपमा उपयोग गर्न सकिन्छ । तर संलग्नको पहिचान गर्ने विषय भने सोचेजति सजिलो नहुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३