close

मोबाइलमा यसकारण टिक्दैन ब्याट्री, जोगाउने कसरी ?

टेकपाना टेकपाना

पुस ९, २०७७ २२:३२

मोबाइलमा यसकारण टिक्दैन ब्याट्री, जोगाउने कसरी ?

काठमाडाैं । मोबाइल खरिद गर्दा ध्यान दिनुपर्ने एउटा कुरा ब्याट्री पनि हो । मोबाइलको ब्याट्रीलाई असर पार्ने विभिन्न कुराहरुको बारेमा आज हामी तपाईंलाई बताउँदै छौं । ब्याट्रीलाई मोबाइलका हार्डवेयर तथा सफ्टवेयरहरु धेरै कुराले असर गर्छ ।

१. ब्याट्री साइज

ब्याट्री कति समय टिक्ने भन्ने कुरामा त्यसको साइजले पनि असर गर्छ । सबै स्मार्टफोनहरुको एउटै साइजको ब्याट्री हुँदैन । ब्याट्रीको साइजले नै तपाईको फोनमा ब्याट्री कति लामो समयसम्म रहन्छ भन्ने कुराको निर्धारण गर्छ ।

स्मार्टफोनको ब्याट्रीको एकाई एमएएचमा नापिन्छ । फोनमा जति धेरै एमएएचको ब्याट्री हुन्छ, त्यो त्यत्तिकै लामो समयसम्म टिक्नसक्ने हुन्छ ।

२. डिस्प्ले

चार तरिकाबाट डिस्प्लेले फोनको ब्याट्रीलाई असर गर्छ । पहिलो डिस्प्लेको साइज, जति ठूलो डिस्प्ले भयो त्यत्ति नै धेरै ऊर्जा त्यसले खपत गर्छ । तर ठूला डिस्प्ले हुने फोनहरुको ब्याट्री पनि ठूलै बनाइएका हुन्छन् । दोस्रो भनेको स्क्रिनको रेजोलुसन हो ।

१४४० पिक्सेल रेजोलुसन भएका फोनमा १०८० पिक्सेल रेजोलुसनभन्दा ७७ प्रतिशत बढी पिक्सेल हुन्छन् । जसका लागि थप अतिरिक्त प्रोसेसिङ पावरको आवश्यकता पर्छ ।

स्क्रिनको चम्किलोपना अर्को एउटा कारक तत्व हो, जसले ब्याट्रीलाई असर गर्छ । चौथो कुरा भनेको स्क्रिनको डिस्प्ले रिफ्रेस रेटले पनि ब्याट्रीमा असर पारिरहेको हुन्छ ।

रिफ्रेस रेट हर्जमा नापिन्छ । यसले प्रत्येक सेकेण्डमा स्क्रिन कति पटक रिफ्रेस हुन्छ भन्ने कुरालाई जनाउँछ । अहिलेका केही नयाँ फोनहरुको रिफ्रेस रेट ९० देखि १२० हर्जसम्म छ । यसले तपाईंको फोनमा धेरै प्रोसेसिङ पावर खपत गर्छ र ब्याट्री लाइफलाई असर गर्छ ।

३. कनेक्सन

डेटा, ब्लुटुथ, फोन सिग्नल, वाईफाइ, लोकेसन सर्भिस जस्ता विभिन्न सेवामा फोन कनेक्सन हुँदा पनि यसले ब्याट्रीलाई धेरै असर पार्ने गर्छ । जब तपाईंले यी कनेक्सनलाई इनेबल गर्नुहुन्छ, त्यसलाई प्रयोग नगरेपनि तपाईको ब्याट्री लाइफ सकिदैँ जान थाल्छ ।

हार्डवेयर र सफ्टवेयर अप्टिमाइजेसन्सले कनेक्सनबाट हुने ब्याट्री चुहावटलाई घटाए पनि अझै यो एउटा कारक तत्वको रुपमा कायम छ ।

४. चिपसेट

चिपसेटले सम्पूर्ण फोनलाई नै सञ्चालन गर्ने हुँदा यो एकदमै महत्वपूर्ण छ । यसले पनि विभिन्न तरिकाले फोनको ब्याट्री लाइफलाई असर गर्छ । चिपसेटबाट हुने प्रभाव भनेको सबैभन्दा पहिलो त्यसको जेनेरेसनबाट हो । प्रत्येक वर्ष चिपसेटहरु सानो, छिटो र ऊर्जा प्रभावकारी बन्दै गइरहेका छन् ।

५. क्यामेरा

क्यामेरा जुनसुकै फोनका लागि एकदमै महत्पूर्ण हार्डवेयर हो । यसले पनि ब्याट्रीलाई धेरै नै खपत गर्छ । यो भिन्दै हार्डवेयर भएको कारण यसले काम गर्न छुट्टै पावर खपत गर्छ । यदि यसमा छुट्टै मुभिङ पार्टहरु जस्तै सामसङको मल्टी अपर्चर क्यामेरा वा नयाँ वानप्लस फोनको जस्तै मोटोराइज्ड फ्रन्ट क्यामेरा छ भने त्यसले झन् धेरै ब्याट्री खपत गर्छ ।

क्यामेरामा पनि डिस्प्ले र प्रोसेसरले धेरै ब्याट्री खपत गर्छ । क्यामेरा मोडमा हुँदा पनि डिस्प्लेको ब्राइटनेस बढ्ने हुँदा यस्तो हुन्छ । भिडियोमा अझ बढी ब्याट्री खपत हुन्छ । साथै रेजोलुसनले पनि यसमा धेरै फरक पार्छ ।

फोनभित्र रहेका हरेक हार्डवेयरले केही हदसम्म ब्याट्री लाइफलाई असर पुर्‍याइरहेका हुन्छन् ।

यी अतिरिक्त प्रविधिले थप ब्याट्री खपत गर्छन् । फोनमा भएको भाइब्रेसन मोटरले पनि ब्याट्री खपत गर्ने कुरा कतिलाई थाहा नहुनसक्छ । तपाईं जति धेरै नोटिफिकेस पाउनुहुन्छ, त्यही अनुसारले तपाईको ब्याट्री पनि खपत हुन्छ ।

किनभने यसलाई भाइब्रेसन मोटरले सञ्चालन गरिरहेको हुन्छ । यस्तै स्पिकरले पनि ब्याट्री खपत गर्छ । तपाईंले फोनलाई म्युट राख्ने गर्नु भयो भने पनि केही हदसम्म ब्याट्री बचाउन सक्नुहुन्छ ।

६. तापक्रम र आयु

फोनको ब्याट्रीलाई तापक्रम र त्यसको आयुर दुबै कुराले असर गर्छ । ब्याट्रीहरु नयाँ हुँदासम्म राम्रो काम गर्छन् । यदी फोनलाई ठिक्कको तापक्रममा चलाइयो भने त्यसले लामो समयसम्म राम्रो काम गर्छ । वास्तवमा भन्ने हो भने ब्याट्री कति पुरानो भन्ने कुराले नै प्रथमतः त्यसको लाइफलाई निर्धारण गर्छ ।

तापक्रम र उमेरबाट फोनलाई बचाउन चार्ज गर्दाको समय आफ्नो फोनलाई प्रयोग नगर्नुहोस् । साथै फोनमा धेरै लोड हुने हेभी गेमहरु लामो समयसम्म नखेल्नुहोस् ।

७. एक्टिभ एपहरु

फोनको सफ्टवेयरले पनि तपाईको फोनको ब्याट्रीलाई असर गर्छ । जीपीएस एप, क्यामेरा एप र धेरै ठूलो डेटा ट्रान्सफर आवश्यक हुने एपहरुले निकै नै ब्याट्री खपत गर्छन् । तर लन्चर एपहरु क्याल्कुलेटर, स्नापच्याटहरुले भने खासै असर गर्दैनन् ।

मोबाइल गेमिङ एपहरुले पनि धेरै ब्याट्री खपत गर्छन् । तपाईं जति ब्याट्री खपत गर्ने एप र गेम प्रयोग गर्नुहुन्छ तपाईको ब्याट्री लाइफ त्यत्ति नै खराब हुँदै जान्छ ।

८. प्यासिभ एप्स

प्यासिभ तरिकाले चलिरहने एपहरु जुन तपाईंको फोनको डिस्प्ले बन्द हुँदा पनि चलिरहन्छन्, त्यसलाई प्यासिभ एप भनिन्छ । यी एपहरु अत्यधिक प्रयोग हुन्छन् । पोडकास्ट प्लेयर्स म्युजिक एपहरुलाई त्यसको उदाहरणको रुपमा लिन सकिन्छ । यी एपहरु भारी रुपमा अप्टिमाइज भएपनि ब्याट्री भने निकै मात्रामा खपत गर्छन् ।

९. अपरेटिङ सिस्टम एण्ड ब्याकग्राउण्ड टास्क

अपरेटिङ सिस्टम ब्याट्री लाइफलाई असर गर्ने अर्को महत्वपूर्ण सफ्टवेयर हो । ओएसले धेरै तरिकाले तपाईको ब्याट्री खपत गर्छ । किनभने मोबाइल डिभाइसको हरेक कुरा यसको नियन्त्रणमा हुन्छ ।

ओएसले पनि चिपसेटले जसरी नै मोबाइलको ब्याट्री खपत गर्छ । ओएसका नयाँ भर्सनहरु धेरै अप्टिमाइज्ड गरिएका हुन्छन्, छिटो काम गर्छन् र थोरै ब्याट्री खपत गर्छन् ।

अधिकांश ओएसले ब्याट्री खपतलाई नियन्त्रण गर्न केही नयाँ फिचरहरु पनि ल्याएका हुन्छन् । यसले एपको प्रयोगलाई नियन्त्रण पनि गर्छ । साथै थोरै ब्याट्री खपत गर्ने चिजहरुलाई अप्टिमाइज गर्ने गर्छ ।

ब्याट्री लामो समयसम्म टिकाउन के गर्न सकिन्छ ? 

. फोनलाई लामो समय सुरक्षितसँग प्रयोग गर्नका लागि सधै फोन को चार्ज १० देखि २० प्रतिशत हुँदा चार्जमा राख्ने गर्नुपर्छ अनि ९० प्रतिशत भएपछि मात्र निकालेर पुन: प्रयोग गर्नुपर्छ जसले फोनको ब्याट्रीलाई सुरक्षित राख्नुका साथै लामो समयसम्म टिकाउ बनाउँछ। फोनलाई कहिले पनि ८५ वा ९० प्रतिशतभन्दा बढी चार्ज गर्नु हुँदैन ।

 २. लामो समयसम्म फोनलाई चार्जमा राखी रहनु हुँदैन, जसले ब्याट्रीको क्षमता घटाई फोन तात्ने र ह्याङ्ग हुने जस्ता समस्याहरु निम्त्याउँछन्, त्यसैले फोनलाई सधै फुल चार्ज गरिसकेपछि निकालेर प्रयोग गर्नुपर्छ र फोनको चार्ज सकेसम्म ४० देखि ८० प्रतिशतको बीचमा राख्नुपर्छ।

३. क्लाउड स्टोरेजको बानीले पनि तपाईंको फोनलाई छिटो र छरितो बनाउने गर्छ। क्लाउड स्टोरेज मतलब तपाईंको डेटा फोनमा नराखेर गुगलको डेटा स्टोरेजमा लगेर राख्ने जसले फोनको स्पेस बढाउनुका साथै छिटो र छरितो रुपमा डेटा ब्याकअप पनि गर्ने गर्छ, जसले गर्दा तपाईंको फोन छिटो र छरितो हुने गर्छ ।

४. फोनमा सधैं स्वचालित ब्राइटनेसको विकल्प राख्नुहोस् । यसले स्वचालित रूपमा बाह्य प्रकाशको हिसाबले स्क्रिनको चमक कम गर्दछ। यसले ब्याट्री मात्र बचत गर्दैन, तपाईंको आँखा पनि सुरक्षित राख्दछ।

५. फोनको थिमलाई डार्क मोडमा राख्नुहोस् । धेरै फोनले आजकल डार्कमोड प्रदान गर्दछ । एमोलेड डिस्प्लेको साथ, डार्क मोडमा ब्याट्रीको खपत धेरै कम हुने हुँदा यसले तपाईंको फोनमा ब्याट्री टिकाउन सहयोग गर्छ । तर माथिका विकल्प आईपीएस वा एलसीडी स्क्रिन भएका मोबाइलमा लाभदायक छैनन् ।

६. फोनको सेटिङ्समा गएर सबै एप्सहरूकै ब्याट्री अप्टिमाइजेसन अन गर्नुहोस् । अत्यावश्यक बाहेक सबै एप्स अप्टिमाइजेसनलाई अन गर्नुहोस् ।

. लोकेसन र ब्लुटुथ बन्द राख्नुहोस् र आवश्यक परेको बेला मात्र अन गर्नुहोस् ।

८. चार्ज हुँदा फोन प्रयोग नगर्नुहोस्। त्यसो गर्नाले तपाईंको ब्याट्री चाँडै बिगार्न सक्छ । कतिपय फोन ब्याट्री चार्ज गर्दा पड्किएका समाचारहरू पनि आउने गर्छ त्यसैले फोन चार्जमा हुँदा यसको प्रयोग नगर्नुहोस् ।

. बारम्बार फोन चार्ज नगर्नुहोस्। एक पटक फोन चार्ज गर्नुहोस् र त्यसपछि  ब्याट्री सेभर सक्रिय नभएसम्म चार्जमा नराख्नुहोस । बारम्बार चार्ज गर्दा ब्याट्रीको आयु चाँडै सकिन्छ ।

१०. फोनमा कुनै मेमोरी क्लिनर एप्स वा एन्टिभाइरस एप्स नराख्नुहोस् । मेमोरी क्लिनर एप्सहरू र एन्टिभाइरस एप्सहरू सधैं ब्याक ग्राउन्डमा चल्दछन् । त्यसैले यी एप्सले चार्ज धेरै खपत गर्दछ। यस्ता एप्लिकेसनको जति फाइदा हुन्छ त्यति नै बेफाइदा पनि हुन्छ ।

यदि तपाईंले प्ले स्टोर, एप्स स्टोर वा अफिसियल स्टोरबाहेक अन्य स्रोतबाट एप्स डाउनलोड गर्नुभएन भने एन्टिभाइरसको आवश्यकता पर्दैन । -कमल धिताल

याे पनि पढ्नुहाेस् : स्मार्टफोनको ब्याट्री बिग्रिन नदिन थाहा पाइराख्नुहोस् यी ७ टिप्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०