close

‘पेगासस’मार्फत नेपाली राजदूत आचार्यको फोन ह्याक, भारतीय खुफियामाथि आशंका

टेकपाना टेकपाना

साउन ५, २०७८ १८:२२

‘पेगासस’मार्फत नेपाली राजदूत आचार्यको फोन ह्याक, भारतीय खुफियामाथि आशंका

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसमेत खतरनाक स्पाइवेयर पेगाससको आक्रमणमा परेको पाइएको छ । भारतका राजनीतिज्ञ तथा पत्रकारसँगै नेपाली कूटनीतिज्ञ आचार्य समेत ह्याकिङको सिकार भएका हुन् ।

सोमबार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पेगासस स्पाइवेयरको सहयोगमा विभिन्न देशका सरकारले मानवअधिकारकर्मी, विपक्षी राजनीतिक दलका नेता, पत्रकार लगायतमाथि जासूसी गरिरहेको खबर सार्वजनिक गरेका थिए । जसमा सन् २०१७ देखि २०२१ सम्मको अवधिमा दिल्लीमा रहेका विभिन्न देशका कुटनीतिज्ञको फोन समेत निगरानीमा परेको समाचार छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान समेत यो स्पाइवेयरको निशानामा परेका छन् । इजरायली प्रविधि कम्पनी एनएसओ ग्रुपले बनाएको पेगासस स्पाइवेयर अहिलेसम्म विकास भएका जासुसी स्पाइवेयर अर्थात भाइरसमध्ये सबैभन्दा खतरनाक रहेको बताइन्छ ।

पछिल्लो समय चीन र पाकिस्तानसँग भारत सरकारको शत्रुतापूर्ण सम्बन्ध रहेको छ । जसले गर्दा ती देशका कूटनीतिज्ञ समेत नजिकको निगरानीमा  राखिएको पाइएको छ ।

सबैभन्दा अनौठो कुरा त यो छ कि भारतसँग निकटको मित्रतापूर्ण सम्बन्ध राख्ने मुलुकका व्यक्तिको फोन समेत यो स्पाइवेयरको सहयोगमा निगरानीमा राखिएको छ ।

‘पाकिस्तानी प्रधानमन्त्री इमरान खानसहित भारत स्थित उनका राजदूत सम्भावित निसानामा छन् । साथै दिल्ली स्थित अफगानिस्तान, चीन, नेपाल र साउदी अरब सहितका अन्य दर्जनौँ कूटनीतिज्ञ र राजदूत समेत त्यसमा समावेश छन्,’ फ्रेन्चको अखबार लेमोन्डेमा सोमबार प्रकाशित रिपोर्टमा भनिएको छ ।

यो लिस्टमा भारतका लागि पाकिस्तानका उच्च आयुक्तको नम्बर समेत पाइएको छ । वासिङ्गटन पोस्टका अनुसार पाकिस्तानी प्रधानमन्त्री खनले यो विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

सूचीमा समावेश राजदूत तथा उच्चायुक्तसँग द हिन्दूले प्रतिक्रियाका लागि आग्रह गर्दा कुनै जवाफ नपाइएको बताएको छ । भारत सरकारको विदेश मन्त्रालयका अधिकारीहरूले यो विषयमा आफूहरू अनविज्ञ रहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

लि मोन्डेको रिपोर्ट अनुसार यो पेगासस सफ्टवेयर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जुलाई २०१७ मा भएको इजरायल भ्रमण लगत्तै प्रयोगमा आएको हो । उक्त भ्रमणमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग गोप्य कुराकानी समेत भएको थियो ।

पेगासस स्पाइवेयर डेभलपर एनएसओ ग्रुपले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताए अनुसार उसले इजरायली सरकारको स्वीकृतिमा मात्र पेगासस जस्ता प्रविधि निर्यात गर्ने गरेको जनाएको छ । ‘सरकारको कानून कार्यान्वयन गर्ने तथा खुफिया एजेन्सीलाई मात्र यस किसिमका प्रविधि बिक्री गरिँदै आएको छ,’ एनओसओ ग्रुपले भनेको छ ।

अहिलेसम्म ५० हजार भन्दा बढी फोन नम्बरहरु यो स्पाइवेयरको निसानामा परेको पाइएको छ । जसमा अजरबैजान, बहराइन, हंगेरी, भारत,काजकिस्तान, मेक्सिको, मोरक्को, रुवान्डा, साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सका नागरिकहरु परेका छन् ।

भारत सरकारले अनुचित निगरानी गरेको वा कुनै नकारात्मक कार्य गरेको विषयमा अस्वीकार गरेको छ । यो सफ्टवेयर खरिद गरेको वा प्रयोग गरेको विषयमा न त अस्वीकार गरेको छ न त निश्चित नै गरेको छ ।  

पेगासस आखिर कस्तो सफ्टवेयर हो ? 

पेगासस सफ्टवेयर इजरायलको एनएसओ साइबर प्रविधि कम्पनीले बनाएको हो । यसको पूरा नाम निव, शलेव र ओमरी हो । यो कम्पनीका संस्थापकहरूको नाम हो । पेगासस एक प्रकारको स्पाइवेयर सफ्टवेयर हो । स्पाइवेयरको अर्थ जासूसी गर्ने सफ्टवेयर भन्ने हुन्छ ।

पेगाससलाई विश्वकै खतरनाक जासूसी सफ्टवेयर मानिन्छ । यो सफ्टवेयर अहिलेसम्म विकास भएका स्पाइवेयरमा सबैभन्दा शक्तिशाली हो । जसले एन्ड्रोइड र आईओएस दुवै प्रकारका फोनको जासूसी गर्न सक्छ ।

यसले एकै समयमा अर्बौं मोबाइलाई संक्रमित तुल्याउने क्षमता राख्छ । पेगासस सफ्टवेयरको प्रारम्भिक भर्सन अनुसन्धानकर्ताले सन् २०१६ मा पहिचान गरेका थिए । पेगासस प्रयोगकर्ताको जानकारी र अनुमति बिना नै मोबाइलमा इन्स्टल हुन सक्छ ।

एक पटक फोनमा इन्स्टल भइसकेपछि यसलाई सहजै हटाउन सकिँदैन । यो सफ्टवेयरले तपाईंको निजी जानकारीमाथि लगातार रुपमा २४ सै घण्टा निगरानी राख्न सक्छ । यसले पासवर्ड, कन्ट्याक्ट लिस्ट, क्यालेन्डर, मेसेज, माइक्रोफोन, क्यामेरा र अन्य मेसेजिङ एपको कलिङ लगायतका प्रायः सबै फिचरमाथि बारम्बार निगरानी राख्छ ।

पेगाससले प्रयोगकर्ताको जीपीएस लोकेसन समेत ट्र्याक गर्न सक्छ । यसले तपाईंको मोबाइलमा म्यासेज पठाउन र पाउन सक्छ । तपाईंको कल रेकर्ड गर्नेदेखि फोटो र भिडिओलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सक्छ ।

फोनको क्यामेराबाट गोप्य रुपमा तपाईंको भिडिओ रेकर्ड गर्न सक्छ । साथै मोबाइलको माइक्रोफोन प्रयोग गरेर तपाईंले गर्ने कुराकानी रेकर्ड गर्न सक्छ । पेगासस मार्फत प्रयोगकर्ताको फोन ह्याक गर्ने कयौं तरिकाहरु छन् ।

कतिपय समय ह्याकरले लिङ्कको सहयोग लिने गर्दछन् त कतिपय समय एप इन्स्टल गराइन्छ । बताइएअनुसार ह्वाट्सएपका लागि कलिङ फिचरको सहयोग लिने गरिन्छ । एक रिपोर्ट अनुसार ह्वाट्सएपमा केवल एउटा मिसकल गरेकै भरमा यो सफ्टवेयर इन्स्टल गराउन सकिन्छ ।

तर यस्ता आरोपको विषयमा एनएसओ ग्रुपले आफ्नो सफ्टवेयर केवल सरकारी उपयोगका लागि हुने गरेको बताउँदै आएको छ । एनएसओ ग्रुपले यो ह्याकिङ अथवा स्पाइवेयर विश्वभरका सरकारलाई बिक्री गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५