close

सुरु भयो अनलाइनबाटै ब्लुबुक नवीकरण, अब लाइन बस्नु नपर्ने

टेकपाना टेकपाना

साउन ८, २०७८ १२:१७

सुरु भयो अनलाइनबाटै ब्लुबुक नवीकरण, अब लाइन बस्नु नपर्ने

काठमाडौं । ब्लुबुक नवीकरण गर्न अब लाइन बस्नुनपर्ने भएको छ । सरकारले आज बाग्मती प्रदेशबाट सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएकाे छ ।

अब बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध भएकाे छ ।

शुक्रबार प्रदेश राजधानी हेटौंडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले यो अनलाइन प्रणालीको उद्घाटन गरेका छन् । मुख्यन्त्री पौडेलले सेवाग्राही चिन्तामणि फुयालको सवारी राजश्व भुक्तानी कनेक्ट आईपीएसबाट भुक्तनी गरेर यो प्रणालीको सुरुवात गरे ।

बागमती प्रदेश सरकारले बनाएको विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ जारी गरी सवारी चालक अनुमतिपत्रबाहेकका सेवा अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी सुरू गरेकाे हाे ।

मन्त्रालयको वेबसाइट र नागरिक एपबाट याे सेवा लिन सकिन्छ । यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ ।

सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघन तथा राजस्व बाँकी बक्यौता, बीमा लगायतको अवस्थाको विवरण हेर्न मिल्नेगगरी याे प्रणाली निर्माण गरिएकाे भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले जानकारी दिए ।

नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।

सेवाग्राहीले मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट) र अन्तरबैंकिङबाट विद्युतीय भुक्तानी गर्न सक्ने जनाइएको छ ।

नागरिक एपमा पछिल्लो अपडेटमार्फत “सवारी कर” फिचर आइसकेको छ । जसमार्फत आफ्नो सवारी साधनको विवरण, यसअघि कर तिरिसकेको विवरण र तिर्न बाँकी कर लगायतको जानकारी लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५