close

यसै वर्षदेखि नेपालमा स्याटलाइट इन्टरनेट दिने स्टारलिङ्कको योजना

हिक्मत आचार्य हिक्मत आचार्य

माघ १७, २०७९ १९:२८

यसै वर्षदेखि नेपालमा स्याटलाइट इन्टरनेट दिने स्टारलिङ्कको योजना

काठमाडौँ । एलन मस्कको कम्पनी स्पेसएक्सले नेपालमा पनि स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो वेबसाइटमा २०२३ देखि नेपालमा इन्टरनेट सेवा सुरु हुने उल्लेख गरेको छ ।

हालसम्म ४७ भन्दा बढी देशमा स्टारलिङ्क उपलब्ध छ । स्पेसएक्सले आफ्नो वेबसाइटमा नेपालमा पनि २०२३ भित्रै सेवा विस्तार गर्ने योजना ल्याएपनि औपचारिक रुपमा नियामकसँग अनुमतिपत्रका लागि निवेदन दिएको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे आधिकारिक प्रस्ताव नआइसकेको स्पष्ट पारे ।

"हामीलाई औपचारिक रूपमा निवेदन आइसकेको छैन," उनले टेकपानासँग भने, "अनौपचारिक रूपमा भने कुरा आइरहेको छ । नेपालको नियम अनुसार लाइसेन्स लिएर इन्टरनेट सञ्चालन गर्न सकिन्छ भनेर जवाफ दिएका छाैं । हाम्रो कम्प्लायन्समा बसेर काम गर्न सक्छन् भने स्टारलिङ्क इन्टरनेट आउन सक्छ ।"

निवेदन आइसकेपछि स्टारलिङ्कको इन्टरनेटबारे थप अध्ययन गरी सञ्चालन हुन दिने/नदिने भन्ने कुराको निष्कर्ष आउने उनले जनाए ।

"निवेदन दिनुस् हामी स्टडी गर्छौं भनेका छाैं । तर औपचारिक निवेदन आइसकेको छैन । उनीहरुको प्रोजेक्सन होला त्यो । स्टारलिङ्कलाई नेपालमा आउनै नदिने किसिमको हाम्रो नीति छैन," उनले थपे ।

कम्पनीले औपचारिक रूपमा निवेदन पेस गरिसकेपछि त्यसका प्राविधिक पक्षबारे अध्ययन हुने उनले बताए । स्टारलिङ्कले 'लो अर्बिट'बाट इन्टरनेट दिने भएकाले स्पेक्ट्रम कस्तो हुन्छ, फोरजी वा फाइभजी सेवालाई प्रभाव पार्छ कि पार्दैन जस्ता प्राविधिक कुराहरू पुष्टि गरेर निर्णय दिइने उनकाे भनाइ थियाे ।

''स्टारलिङ्कलाई दूरसञ्चार प्राधिकरणबाट सञ्चालन अनुमति नलिएर पनि कुनै इन्टरनेट सेवाप्रदायक वा स्थानीय बिक्रेतासँग मिलेर सेवा सञ्चालन गर्ने बाटो खुला छ । तर, त्यसका लागि स्वीकृति भने अनिवार्य लिनुपर्छ,'' अध्यक्ष खनालले भने ।

अर्काेतर्फ नेपालमा विदेशी कम्पनीले व्यवसाय सुरु गर्न २० प्रतिशत शेयर नेपालीकाे हुनुपर्ने प्रावधान पनि छ । तर स्पेसएक्सले यसबारे आधिकारिक प्रक्रिया थालिसकेको छैन ।

कम्पनीकाे वेबसाइटमा सन् २०२३ मा नेपालसहित भुटानमा पनि इन्टरनेट सेवा सुरु गर्ने उल्लेख गरेकाे छ । त्यस्तै बंगलादेशमा सन् २०२४ देखि सेवा सुरु गर्ने उसकाे याेजना छ ।

छिमेकी देश भारतमा कम्पनीले सञ्चालन अनुमतिका लागि निवेदन दिइसकेको छ । तर, चीनमा भने कम्पनीले सेवा विस्तार गर्ने वा नगर्ने केही निश्चित छैन ।

फाइबर इन्टरनेट नपुगेका ठाउँका लागि स्याटलाइट इन्टरनेट उपयुक्त हुन्छ । बिना कुनै तार हार्डवेयर प्रयोग गरेको भरमा राउटरले इन्टरनेट उपलब्ध गराउँछ ।

विशेषगरी हिमाली दुर्गम गाउँहरूमा विभिन्न बैंक, सरकारी तथा गैरसरकारी संस्थाले यो इन्टरनेटको प्रयोग गरेर सेवा विस्तार गर्न सक्छन् । कम्पनीले विभिन्न देशअनुसार इन्टरनेट तथा हार्डवेयरको शुल्क फरक-फरक तोक्ने गर्छ । 

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ २१:५२