close

अत्यधिक एडिट हुन थालेपछि रवि लामिछाने, कैलाश सिरोहिया र ऋषि धमलाको विकिपिडिया पेज लक !

टेकपाना टेकपाना

माघ २६, २०७९ २०:७

अत्यधिक एडिट हुन थालेपछि रवि लामिछाने, कैलाश सिरोहिया र ऋषि धमलाको विकिपिडिया पेज लक !

काठमाडौँ । अत्यधिक एडिट (सम्पादन) हुन थालेपछि विकिपिडियाले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र पत्रकार ऋषि धमलाको पेज एडिट नहुने बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गर्दै विभिन्न मिडिया तथा त्यसका सञ्चालकमाथि आक्रोश पाेखेका थिए । उनले नाम लिएका मिडिया र त्यसका सञ्चालक, सम्पादकबारे सामाजिक सञ्जालमा अनेक थरीका टिप्पणी भइरहँदा ​एक झुन्ड विकिपिडियामा प्रवेश गर्‍यो ।

विकिपिडियामा सिरोहिया, लामिछाने, धमला लगायतका व्यक्तिको बायो एडिट हुन थाल्यो । विशेषगरी सिरोहियाको विकिपिडिया पेज सामाजिक सञ्जालमा भाइरल बन्न थाल्याे ।

सिराेहियाको बायोमा उनी भारतमा जन्मिएको र 'भारतको रअ-एजेन्ट' भएको भन्दै धेरैले विकिपिडिया पेजको स्क्रिनशट फेसबुक, ट्वीटर, टिकटकलगायतका प्लेटफर्ममा शेयर गर्न थाले । केहीले त्यस्ता विवरण सच्याउन थाले भने केहीले बिगारेर पुनः एडिट गर्न थाले ।

यसरी पेज धेरैले एकै समयमा एडिट गर्नाले विकिपिडियाले पेज नै लक अथवा एडिट नहुने बनायो । 

लामिछाने र धमलाको नाममा रहेको पेजमा पनि लगातार विवादित लेख थपिन थालेपछि विकिपिडियाले नै उनीहरूको पेज लक गरेको हो ।

सामान्यतः विकिपिडियामा जोसुकैले पोस्ट एडिट गर्न पाउँछन् । विकिपिडियाले शंकास्पद लागेका कन्टेन्ट तत्कालै हटाउँछ । तर, विवादित हुनेगरी कन्टेन्ट एडिट भइरहने पेजहरू लक गरिन्छ ।

तर, यस्ताे अवस्था केही समयका लागि मात्रै रहन्छ । माहोल शान्त भएपछि विकिपिडियाले पुनः एडिट गर्न मिल्ने फिचर उपलब्ध गराउँछ । अन्तर्राष्ट्रिय स्तरमा ख्याति पाएका व्यक्ति वा कम्पनीको विकिपिडिया पेज भने सबैले एडिट गर्न पाउँदैनन् ।

सुरुवातबाटै उनीहरूबारे धेरै कुराको कभरेज मिडियामा आइसकेको हुन्छ । कतिपय अन्तर्वार्तामा उनीहरूले आफ्नाबारे धेरै कुरा खुलाएका हुन्छन्, जसले गर्दा स-साना विवरण एडिट गरिरहनु पर्दैन ।

त्यस्तै उनीहरूको जीवनमा त्यस्तो केही घटना भयो भने पनि त्यो संसारभर चर्चाको विषय बन्छ । त्यस्तो अवस्थामा विकिपिडियाले विशेष अधिकार दिएका भाेल्युन्टरले पेजमा नयाँ कुराहरू थप गर्छन् ।

नेपालको सन्दर्भमा भने विभिन्न व्यक्तिको विकिपिडिया पेजमा अनावश्यक एडिट हुन थालेपछि प्लेटफर्मबाटै पेज लक भएको हो ।

 

 

 

यो नि पढ्नुहोस्: विकिपिडियामा यसरी थपिँदै छ नेपाली योगदान

पछिल्लो अध्यावधिक: माघ २६, २०७९ २०:२४